साफ यू-१७ च्याम्पियनसिप: रसियासँग नेपाल पराजित उपाधि सम्भावना सकियो

काठमाडौं-साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल दोस्रो खेलमा पराजित भएको छ। रसियासँग आइतबार भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालमाथि रसियाले सहज जित निकाल्ने क्रममा सबै तीन गोल दोस्रो हाफमा गरेको थियो। हारसँगै नेपालको उपाधि सम्भावना अन्त भएको छ। लगातार तीन जितसँगै रसियाको उपाधि सम्भावना भने बलियो बनेको छ।

रसिया विरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफमा नेपाल लगातार गोल खान पुगेको थियो। ६३ औं मिनेटमा एलिना गोलीकले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएकी थिइन। खेलको ७४ औं मिनेटमा एलिनालेनै व्यक्तिगत दोस्रो र टिमका लागि सहज अग्रता दिलाउँदै नेपालमाथि दबाब बढाएकी थिइन।

त्यसपछि खेलको ८३ औं मिनेटमा पोलिना फिलसिनाले गोल गर्दै रसियालाई ३-० को सहज अग्रता दिलाईन्। रसियाको यो लगातार तेस्रो जित हो। रसियाले ३ खेलमा ९ अंक जोडेको छ। जितसँगै रसिया शीर्ष स्थानमा उक्लिएको छ। नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ। नेपालले अब चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्ने छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्ने छ।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्