टी-२० अन्तराष्ट्रियमा ५१७ रन, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान

क्विन्टन डिककले करीअरको पहिलो टी-२० अन्तराष्ट्रिय शतक तथा छैटौं तिब्र शतक (४३ बलमा शतक) प्रहार गरेपछि दक्षिण अफ्रिकाले टी-२० अन्तराष्ट्रियको सर्वाधिक ठूलो स्कोर चेज गर्दै विश्व कीर्तिमान बनाएको छ। कीर्तिमानी जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्यो।
सेन्चुरियन स्थित सुपरस्पोर्ट पार्कमा रन वर्षा भएको खेलमा कुल ५१७ रन बनेको थियो। जुन टी-२० अन्तराष्ट्रियमा सर्वाधिक रनको कीर्तिमान हो। जहाँ ३५ छक्का प्रहार भए। जुन टी-२० अन्तराष्ट्रियमा सर्वाधिक धेरै छक्काको कीर्तिमानपनि हो। साथै कुनैपनि टी-२० मा भने २ छक्का कम हो।
जोहनसन चार्लेसले ११ छक्काको सहयोगमा टी-२० अन्तराष्ट्रियमा ११८ रन बनाउँदै वेस्टइन्डिजलाई कीर्तिमानी स्कोरमा पुर्याएका थिए। उनले टी-२० अन्तराष्ट्रियमा दोस्रो चाँडो शतक प्रहार गरे। उनले ३९ बलमानै ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका थिए। उनी वेस्टइन्डिजका लागि सर्वाधिक चाँडो शतक बनाउने खेलाडी समेत बने।
चार्लेसकै विष्फोटक शतकमा वेस्टइन्डिजले आफ्नो टी-२० इतिहासकै कीर्तिमानी स्कोर बनायो। अर्थात निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो। तर खेलको अन्तमा जितका लागि यो स्कोर पनि पर्याप्त भएन। वेस्टइन्डिजका लागि क्याली मयर्सले २७ बलमा ५१ रन र रोमारियो शेफर्डले १८ बलमा ४१ रन बनाएका थिए।
जवाफमा उक्त लक्ष्य दक्षिण अफ्रिकाले ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। डिकक बाहेक रिजा हेन्ड्रिक्सले २८ बलमा ६८ रन बनाउँदा कप्तान एइडन मारक्रम ३८ रनमा अविजित रहे। दक्षिण अफंरिकाले पहिलो विकेटका लागि १५२ रनको साझेदारी गरेको थियो। जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।