
यात्रा गरिरहनेका लागि जीवनमा एकपटक सगरमाथाको चुचुरोमा पुग्ने रहर हुन्छ। यदि त्यहाँ पुग्न सकिएन भने सगरमाथाको आधार शिविरसम्म पुग्ने तानाबुना त बुन्छन्-बुन्छन्। यस्तै, तानाबुना मेरो मनमा पनि खेलिरहन्थ्यो।
सामान्य यात्रामा निस्किएका दिनहरूमा सहयात्रीहरूसँग आधार शिविरको कुरा गरिरहन्थेँ। त्यस क्षेत्रको पदयात्रालाई कल्पिन्थेँ। आधार शिविरसम्म पुग्दाको जोखिमको बारेमा अनेक प्रश्नहरू गर्थेँ। सगरमाथा आरोहण गर्ने बढी विदेशी मानिसहरूसँगै मलाई हिमाल उग्लिन मन थियो। तर त्यहाँ पुग्न लाग्ने खर्चिलो रकमले मजस्तो मध्यमवर्गको मानिसलाई सजिलै हिम्मत आएन।
यात्रामा निस्किँदा केही न केही छुटाउने बानी छ मेरो। मनमा भय र उत्साह पनि सँगसँगै आइरहेको थियो। आत्तिएर हिँड्ने बानीले यो यात्रामा पनि केही छुट्छ कि भन्नेमा निकै चनाखो भएको थिएँ। फेरि पहिलो पटक ११ दिनको सगरमाथा आधार शिविर जाने यात्रा गर्दै थिएँ।
‘तँ आँट म पुर्याउँछु’, भनेझैं मलाई आधार शिविर जाने मौका जुर्याे। हो, २१ डिसेम्बर २०२२ संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा जाने मौका जुर्याे मलाई, जुन समुन्द्र सतहबाट ५,३६४ मिटरको उचाइमा पर्छ।
बिहानै ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ। तर मौसमको कारणले गर्दा ढिलागरी सीता एयरबाट काठमाडौँबाट लुक्लाका लागि उडेँ। सगरमाथा आधार शिविर पुग्नुअघि लुक्ला र नाम्चेको छोटो यात्रा पहिला पनि गरेको थिएँ। तर यो यात्रा त्यो यात्राभन्दा निकै फरक थियो । पहिलो त यो यात्रा व्यक्तिगत थियो।

यात्राको पहिलो दिन काठमाडौँबाट २८ सय मिटरको उचाइमा रहेको लुक्ला पुगियो, जसलाई विश्वको खतरनाक विमानस्थल पनि भनिन्छ। लुक्लाको मनोरम दृष्यलाई आँखा र क्यामारामा कैद गरेँ। खाना खाएँ। अनि लुक्लाबाट ३ देखि ४ घण्टाको यात्रा गरेर फाक्दिङ पुगेँ।
प्रकृतिसँग रमाउँदै यात्रा गर्ने रुचाउने मध्यमा पर्छु म। त्यसमा पनि ढिलोगरी लुक्लाबाट हिँडेकोले पनि फाक्दिङ पुग्दा साँझ परि सकेको थियो। यात्राको पहिलो दिन काठमाडौँबाट लुक्ला हुँदै फाक्दिङमा आराम लिएर सगरमाथा आधार शिविरकोे यात्राको तयारी गरे।
भोलिपल्ट फाक्दिङमा बिहानको खाजा खाएर नाम्चेको यात्रा सुरु गरेँ। ३ हजार ४४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथा शिखर र सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि भनिन्छ। हृदयले लोभ्याउने प्रकृति, हिउँका फूल। सामानका भारी बोकेका खच्चड, अनेक आकृतिका हिमश्रृङ्खला अवलोकन गर्दै यात्रा अगाडि बढाएँ।

नाम्चे जाने बाटोमा धेरैपटक सास बढ्यो। आधार शिविर नै पुग्न सक्दिन कि जस्तो भयो मलाई। धेरैपटक लेक लाग्यो। तर जब त्यो सफा हिमनदी सुसाएको आवाज कानमा पर्थ्याे तब मभित्र अनोठौ ऊर्जा आउँथ्यो। प्रकृतिको सुवास र मन लाेभ्याउने हिमालले हौसला दिन्थ्यो। कदम अगाडि बढाउन जोश आउँथ्यो। फाक्दिङबाट करिब ६ घन्टा लगाएर ११ किलोमिटर टाढाको नाम्चे बजार अबेर साँझ पुगियो।
नाम्चे बजारभरि पर्यटकको मात्रै चहलपहल देखिन्थ्यो। उनीहरू दुई रात त्यहाँ बस्ने रहेछन्। उचाइ उग्लिनुअघि शरीरलाई त्यहाँको हावापानीमा घुलमिल गराउन अनुकूलता दिवस मनाउने गर्दा रहेछन्।

अनुकूलता दिवस मनाउनेहरू नाम्चे बजारमा रहेको संग्रहालय र एभरेष्ट होटल भ्यु जाने गर्दा रहेछन्। मलाई नाम्चे बजार काठमाडौँको ठमेलभन्दा कम लागेन, जहाँको चहलपहलले बेग्लै रोमाञ्चक बनाएको थियो।
एभरेष्ट होटेल भ्यूबाट सगरमाथा, लोबुचे, ल्होत्से, अमादब्लम लगायतका हिमाल देख्न सकिन्छ। यसैक्रममा म खुम्जुंग गाउँ घुम्न गएँ। खुम्जुंग शेर्पाहरूको पुरानो गाँउ हो। त्यहाँकाे गुम्बामा यतिको खोपडी पनि रहेको छ।

नाम्चे बजारको बसाइँले हिमाली क्षेत्रको वातावरणसँग अभ्यस्त गराउँछ भने त्यहाँको सेवा सुविधा यदि पैसा हुने हो भने सहज रूपमा यातायात पुगेको ठाउँभन्दा कम छैन। मैले यो सबै अनुभव सँगालेर भोलिपल्ट अर्थात् यात्राको चौथो दिन नाम्चेमा बिहानको खाजा खाइ तेङ्बोचेका लागि पैदल यात्रा निस्किएँ।
०००
नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे बाटो मिश्रण थियो। कतै तेस्रो बाटो, कतै ओरोलो भने केही उकालो। ५ घण्टाको पैदल उकालो यात्रामा मेरो हिँडाइ अलि सुस्त नै रह्यो। ३ हजार ८६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरू हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। त्यहाँ रहेको तेङ्बोचे गुम्बा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ। तेङ्बोचेमा रात बिताइयो।
चौथो दिन बिहानै यात्राको क्रममा एकअर्कासँग चिनजान गरेँ। तेङ्बोचेमा बसेको होटलमा आफ्नो पाहुना लगेर बेस क्यापको यात्रामा हिँडेका एक जना गाइडको जन्मदिन परेको थियो। त्यहाँ रहेका सबैले उनलाई जन्मदिनको शुभकामना पनि दियौँ।
तेङ्बोचेबाट ५,६ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ डिङ्बोचे। ४ हजार ४१० मिटरको उचाइमा रहेको डिङ्बोचे अमादब्लम हिमालको फेँदमा रहेको छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको आरोहण गर्दा डिङ्बोचे गाउँलाई आधार शिविर बनाएका थिए।

पछिल्ला केही वर्षमा विश्व तापमान वृद्धिका कारण परिर्वतनहरू देखिएका छन्। यहाँबाट ४ हजार माथिको उचाइ सुरु हुने भएकोले दुई रात बस्दा राम्रो हुने भनिदो रहेछ।
विदेशीलाई लिएर जानेहरूले दुई रात यहाँ पनि बास बसाउने रहेछन्। छैटौँ दिन नाम्चेमा जस्तै अनुकूलता दिवस मनाइने रहेछ र डिङ्बोचमाथि रहेको डाडाँतिर घुम्न जाने रहेछन्। म पनि त्यही डाँडा घुमेर साँझ होटल फर्किएँ।
सातौँ दिन डिङ्बोचेबाट लोबुचेका लागि यात्रा अघि बढ्यो। झण्डै ५ देखि ६ घण्टाको हिँडाइपछि ४ हजार ९१० मिटरको उचाइमा रहेको लोबुचे पुगिँदो रहेछ। ६ हजार ११९ मिटर उचाइकाे लोबुचे हिमालको काँखमा अवस्थित छ- लोबुच गाउँ। यहाँ बसेको होटलमा निकै राम्रो व्यवहार गरिएको थियो। हाेटलवालाले पपकर्न सबैलाई स्वागतस्वरूप निःशुल्क दिने रहेछन्। तर जति–जति उचाइ लाग्यो त्यति-त्यति महङ्गी पनि उग्लिएको थियो।

आठौँ दिन लोबुचेमा बिहानको खाजा खाएर लक्ष्यको नजिकतिर मेरा पाइला अगाडि बढे। लोबुचेबाट झण्डै ३ घण्टाको पैदलयात्रापछि एभरेष्ट बेस क्याम्पको अन्तिम केन्द्रबिन्दु अर्थात् गोरकशेप पुगियो। म निकै उत्साहित थिएँ। त्योभन्दा पनि मलाई हतार भइसकेको थियो कि कति बेला आधार शिविर पुगिएला। करिब २ घण्टामा आधार शिविर पुगिन्छ भने पनि जति हिँडे पनि आउँदैनथ्यो। मन आत्तिन्थ्यो। आधार शिविर मात्रै सोचेर हिँडिरहँदा बाटोमा भेटिने मजस्तै पैदलयात्रीले हेलाे, हाउ आर यू भनेर मुस्कुराउँथे। तर मेरो मन मस्तिष्क कतिखेर आधार शिविर आउलाजस्तो हुन्थ्यो।
अचानक मेरो टाउको साह्रै दुख्यो। आफ्नो पाहुनासँगै हिँडिरहेका एक जना गाइडसँग सोधेँ, ‘मलाई गला र टाउको कस्तो-कस्तो भयो, किन होला?’ ‘तपाईं नेपाली पो हो? अघिदेखि मैले त विदेशी सोचेको। त्यस्तो भएको यहाँको हावाले हो। तपाईंले टोपी त क्यामरालाई लगाइदिनु भएको छ। यस्तो हावामा अलिअलि त हुने नै भयो नि’, उनले हाँसेर भने।
झण्डै साढे ३ घण्टा हिँडेपछि ढुंगामा लेखेको ‘एभरेष्ट बेस क्याम्प’ देखेँ, जहाँ मानिसको भीड थियो। मेरो खुसीको सीमा रहेन। त्यसपछि म पनि त्यहाँ पुगे। केहीबेर रमाएँ, केही फोटो खिचेँ। त्यसपछि फेरि गोरकशेप फर्किए। अनि त्यो रात त्यही बिताएँ।

नवौँ दिन गोरकशेपबाट फर्किएँ। मलाई कालापत्थर पनि जान मन थियो। तर मौसमका कारण जान सकिएन। अर्को पटक कालापत्थर आउने सोचसँगै फर्किएँ। बाटोमा डिङ्बोचे नभएर फेरिचे हुँदै पान्बोछेसम्मको यात्राका लागि मेरा पाइलाहरू अगाडि बढे।

हिजो जाँदा बल्लबल्ल चढेका उकालो फर्किँदा सजिलो भएको थियो। केही घण्टाको हिँडाइपछि पान्बोछे पुगियो। नवौँ रात त्यही बसियो। दशौँ दिन पान्बोछेदेखि नाम्चे पैदलयात्रा गर्दैगर्दा मौसममा धेरै परिवर्तन आयो। पानी पर्ला जस्तो भयो तर परेन। हिँउ पर्छ कि भाथ्यो तर परेन।

हिमाली क्षेत्रको बाटो अनि मौसममा देखिएको उतार चढावले चिन्ता पनि उस्तै हुँदोरहेछ। यात्राको क्रममा एउटा खुट्टा अत्यधिक दुखेकोले आराम-आरामले हिँड्दै साझ नाम्चे पुगेँ। र दशौँ दिन नाम्चे मै बिताएँ।
एघारौँ दिन यात्रामा निस्किँदाको जस्तो उत्साह मभित्र फर्किँदा थिएन। यात्रा सकिन लाग्दा केही छुटेजस्तो मात्रै भयो। सायद मन छुटेको थियो। नाम्चे बजारको प्रवेशद्वारतिर आउँदा नरमाइलो लागेको थियो।
नेपाललाई विश्वमाझ चिनाउने हिमालको फेदीमा पुगेर आउन पाएकोमा म खुसी थिएँ। यात्रामा भेटिने मानिसहरू देखेर हौसला बढ्थ्यो। हिमालयात्राको क्रममा गन्तव्यमै नपुगेर लास बनेर फर्किनेहरू देख्दा भने मन कुँडिन्थ्यो।
सगरमाथाको आधार शिविरसम्मको यात्रा गर्न ठूलै आत्मबल चाहिन्छ। अझ सगरमाथाको चुचुरो पुग्न कत्रो आत्मबल चाहिएला भन्ने मनमा आइरहन्छ। साँच्चै यो पैदलयात्राले मेरो आत्मबल बढाएको थियो।