संविधानको संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजान्छुः उपराष्ट्रपति यादव

वीरगञ्ज – उपराष्ट्रपति रामसहाय यादवले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकतालाई झनै बलियो बनाउँदै लैजानै बताएका छन्। दुई दिनका लागि गृहजिल्ला बारा आएका यादवको सम्मानमा सिम्रौनगढ नगरपालिकाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूरै देशको जनताको हित आफ्नो जिम्मेवारी भएको बताए।
उपराष्ट्रपति यादवले नेपालको संविधानमा भएको राष्ट्रपतिको काम, कर्तब्य र अधिकारका साथ संविधानको पालना गर्दै जाने बताए । ‘गुरुहरुले हामीलाई जुन शिक्षा प्रदान गर्नुभएको छ ,जुन अनुशासन हामी सिम्रौनगढको कंकाली माविबाट पाएका छौँ,आज त्यो सबैलाई ध्यानमा राख्दै म आफ्नो भूमिका निर्वाह गर्नेछु र यसमा सफलता पाउँछौ भन्ने कंकाली माईसँग कामना गर्दछु,‘ उनले भने।
बारा जिल्लाको जनताको मान–सम्मान उच्च राख्न पाएको दायित्व इमान्दारीसाथ निर्बाह गर्ने उपराष्ट्रिपति यादवको भनाइ थियो । जनताको सहयोगका कारण एउटा सामान्य परिवारको मानिस देशको उच्च पदमा पुगेको भन्दै यादवले सिम्रौनगढ नगरपालिका अहिले बारा जिल्ला र देशमा मात्रै नभई पूरै दुनियाँमा चार्चा रहेको बताएका थिए।
नेपालको ईतिहासमा एउटा नगरपालिकाबाट उपराष्ट्रपति र मुख्यमन्त्री कही नभएको बताउँदै उनले सिम्रौनगढ नगरपालिकाबाट नै आफू उपराष्ट्रपति र सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री भएको जिकिर गरे । देशमा स्थापना भएको संघीय लोकतान्त्रिक प्रणाली पूर्ण समावेशी लोकतन्त्र भएको जानकारी उनले दिए । धर्म निश्पक्षता समानुपातिक प्रतिनिधित्व प्रणालीले गर्दा जनता र देशको हित बलियो रुपले अघि बढ्ने उपराष्ट्रपति यादवको कथन थियो ।