काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४औं फ्लोरा एक्स्पो गर्ने भएको छ। सोमवार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले २४ औं फ्लोरा एक्स्पोे गर्न लागिएको बताए। उनले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए।
उनले एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल,ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०,प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए। उनले मेलामा मौसमी फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजनलगायत बिक्री कक्षमा राखिने जानकारी दिए।
उनले प्रदर्शनीमा व्यवसायीले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुरस्कारले समेत पुरस्कृत गर्ने बताए।
त्यस्तै, एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए।
उनले प्रदर्शनीमा सरकारको कुनै पनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए। प्रदर्शनीमा प्रवेश गर्न विद्यार्थीलाई सय र अन्यलाई १५० रुपैयाँ शुल्क तोकिएको बताए।
प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवा आयात गरेर ल्याउने गरेको बताए।