सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति

काठमाडौँ – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन्। प्राधिकरणले उनलाई आज सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो।
यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो। मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो। उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो ।
यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्नेछन् ।
क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए। उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव सँगालेका थिए। साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्षसमेत हुन् ।