भुमिहीनले लालपुर्जा लिँदा लाग्ने शुल्क घटाउन रुपन्देहीका जनप्रतिनिधिको माग

बुटवल – रूपन्देहीका जनप्रतिनिधिले अव्यवस्थित बसोबासीहरुले लालपुर्जा लिँदा तिर्नुपर्ने शुल्क घटाउन माग गरेका छन्।

लुम्बिनी प्रदेश संवाद समूहले मंगलबार बुटवलमा आयोजना गरेको भूमि व्यवस्थापनमा नीतिगत चुनौती र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरूले अव्यवस्थित बसोबासीले लालपुर्जा लिँदा लाग्ने राजश्व अत्याधिक भएको भन्दै घटाउनुपर्ने बताएका हुन्।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जग्गा नापजाँच गर्न भूमिहीन दलित, सुकुम्बावासी र अव्यवस्थित बसोबासीहरुले ताकेता गर्ने गरेता पनि लालपुर्जा लिँदा लाग्ने शुल्क अत्याधिक भएकाले खुलेर लालपुर्जा चाहियो भनेर नआएको बताए।

‘नापजाँच छिट्टो गरिदिन भनेर भन्न त धेरै आउने गर्नुहुन्छ, तर शुल्क धेरै भएकाले खुलेर हामीलाई लालपुर्जा चाहियो भनेर आउने त कमै हुनु हुन्छ,’ उनले भने। सरकारले निर्धारण गरेको राजश्व बजार मूल्य बराबर भएकाले ८० प्रतिशत मिनाह गर्नुपर्ने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै हुनुका साथै संघीय सरकारले १० वर्षसम्म बेचविखन गर्न र नामसारी गर्न नपाउने व्यवस्था गरेकाले यसलाई सच्चाउनुपर्ने बताए।

देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले राजश्व बढी भएका कारण बनेका लालपुर्जा पनि लिन नआएको बताए। ३/४ सय लालपुर्जा तयार भइसके पनि शुल्क धेरै भएको भन्दै कसैले पनि लालपुर्जा नलगेको उनी बताउँछन्।

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या राष्ट्रकै समस्या रहेकाले सबै मिलेर अहिले देखिएको राजश्व लगायतका समस्याहरु समाधान गर्नुपर्ने बताए।

सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, कञ्जन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, सियारीका अध्यक्ष थानेश्वर घिमिरे, शुद्वोधनका अध्यक्ष विष्णु वस्याल, गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेल, रोहिणीका अध्यक्ष विध्या यादव, ओमसतियाका अध्यक्ष मञ्जीत कुमार यादव, मायादेवीका अध्यक्ष धुर्वनारायण चौधरी, सम्मरीमाईका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मर्चवारीमाईका अध्यक्ष गयाप्रसाद वरई लगायतले पुर्जा वितरण आफूहरुको पहिलो प्रथमिकतामा रहेको बताए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापागाईले भुमिहीन र अव्यवस्थित बसोबासीको समस्या महत्वपूर्ण सवाल भएकोले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए।

अन्तरक्रियामा बोल्दै भूमि आयोगका रुपन्देही अध्यक्ष हरि आचार्यले आफूले अध्यक्षको जिम्मेवारी पाएदेखि नै काम सुरु गरेको र धेरैजसो जग्गाको नापजाँचको काम सकिएको बताए। राजश्व बढी भयो भनेर लालपुर्जा नलगेको र सरकारले राजश्व घटाएमा रुपन्देहीमा १० हजार लालपुर्जा तत्काल वितरण गर्न सकिने उनले बताए।

जिल्लामा अहिलेसम्म ६८ जनालाई मात्रै लालपुर्जा लगेको उनले बताए। अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरुको संख्या ७६ हजार ७२० जनाको लगत संकलन गरिएको बताए।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्