आ–आफ्नो अडान नछाड्दा १० दलको बैठक निष्कर्षविहीन

गठबन्धन बैठक । फाइल तस्बिर।

काठमाडौँ – सत्तारुढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षबिना नै सकिएको हो।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आ–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकियो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताए।

उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको बताए।

उनले भने,‘सरकारपक्षीय राजनीतिक दलका नेताहरुको बैठक बस्यो। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो। भोलि फेरि बस्ने भन्ने छ। भागबण्डाको बारेमा छलफल भएन। चाँडोभन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयका बारेमा कुनै विवाद छैन।’

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताए। उनले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको दाबी गरे।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्