पोखरा – वडा कार्यालयको सेवा घरबाटै लिन सक्ने सुविधासहित पोखरा महानगरपालिका–१२ ले मोबाइल एप्लिकेशन तयार पारेको छ। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै वडा कार्यालयले एप्किलेशन तयार पारेको हो।

पेपरलेस कार्यालय बनाएर युग सुहाउँदो सेवा दिने उद्देश्यको साथ तयार पारेको मोबाइल एप्लिकेशन मंगलबार सार्वजनिक भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मोबाइल एप्लिकेशन सार्वजनिक गरे।

डिभी एक्सकुलस आइटी कम्पनीले तयार पारेको मोबाइल एप्लिकेशनबाट इन्टरनेटको पहुँचमा भएका वडाबासीले जन्मतदर्ता, विवाहदर्ता, नाता प्रमाणितको सेवा लिन सक्छन्। जनप्रतिनिधिलाई गुनासो गर्न मिल्ने सुविधासमेत रहेको डिभी एक्सकुलसका परियोजना प्रबन्धक कल्याण सुवेदीले बताए।

‘नयाँ–नयाँ सूचनाहरु जुन वडाले दिने सेवा र कार्यक्रमहरुको जानकारी नोटिफिकेशनमार्फत दिनेछ’, उनले भने। मोबाइल एप्लिकेशनको सेवालाई अझ परिमार्जित गर्दै छात्रवृत्तिका लागि आवेदन दिन मिल्ने, घरबाटै कर तिर्ने लगायतका सेवा थप्ने सुवेदीले बताए।

युगअनुसारको सेवा दिने प्रयासमा मोबाइल एप्लिकेशन सार्वजनिक गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। ‘जनतालाई छिटो छरितो र सुविधायुक्त तरिकाले सेवा दिनलाई एप निर्माण गरेर सुचारु गरेका छौँ’, उनले भने।

वडाबाट प्रवाह हुने सेवालाई पेपरलेस बनाउने योजना रहेको उनले बताए। उनले भने,‘अहिले जुन–जुन सहज हुन्छ, हामीले जन्मदर्ता प्रमाणित गर्दाखेरी एउटामात्र डकुमेन्ट दिए पुग्छ। यस्ता थोरथोरै डकुमेन्ट दिएर लिन सकिने सेवालाई अहिले सुरुमा गरेका छौँ। निटक भविष्यमा थप गर्दै लाने तयारी छ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई प्रविधिमैत्री बनाउन वडा–वडाबाट थालनी गरेको दाबी गरे। सूचना प्रविधिको युगसँगै महानगरको सेवालाई डिजिटलाइज्ड गर्ने योजना अगाडि सारेको उनले बताए। ‘सबै वडामा वडालाई व्यवस्थित बनाउने। वडा व्यवस्थित भयो भने महानगर व्यवस्थित हुन्छ भनेर जाँदैछौँ’, उनले भने।

महानगरको सबै सेवालाई डिजिटलाइज्डको तयारी गरेको मेयर आचार्यले जानकारी दिए। ‘नगर पञ्चायत स्थापनादेखि महानगरसम्म आउदाखेरिका पुराना सबै डकुमेन्टहरु पनि चिसो भएर ढुसी लागेर विविध ढंगले अहिले हेर्न नसकिने अवस्थामा छन्। ती सबैलाई हाम्ले डिजिटलाइज्ड गर्ने, फोटो खिचेर जस्ताको तस्तै राख्ने गरीकन कामको सुरुवात गर्दैछौँ’, उनले भने।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्