लोकसभालाई राहुल गान्धीको जवाफः समयसीमाभित्रै सरकारी निवास खाली गरिदिने छु

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले सरकारी निवास खाली गर्न तयार रहेको बताएका छन्। लोकसभा सचिवालयका डेपुटी सेक्रेटरीलाई मंगलबार पत्र लेख्दै राहुलले सरकारी निवास खाली गरिदिने जवाफ दिएका हुन्।
उनले पत्रमा लेखेका छन्,’म लगातार चार पटक जनताबाट चुनिएर सांसद बनेको हुँ। यस घरसँग मेरा कैयौँ यादहरु जोडिएका छन्। सरकारले गरेको फैसला मान्नेछु र तोकिएको समयसीमाभित्र घर खाली गरिदिने छु।’
सांसद पद खारेज भएसँगै लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको थियो।
लोकसभाको वेबसाइटबाट पनि उनको नाम हटाइएको छ। लोकसभा सचिवालयका अनुसार राहुल गान्धी निर्वाचित भएको निर्वाचन क्षेत्र वायनाडलाई खाली घोषित गरिएको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा चुनाव घोषणा गर्नसक्ने बताइएको छ।
गान्धीलाई बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो। फैसलाको भोलिपल्ट शुक्रबार राहुलको सांसद पद खारेज भएको थियो।