विराट गोल्डकप: सातौँ संस्करणको उपाधिका लागि लुका र बिसिएफसी दुवैको दाबी

मोरङ – विराट गोल्डकपको दुई वटा पूर्वविजेता टोलीलाई हराएर उच्च मनोबल बनाएको भारतको लुका सकर क्लबले क्लब उपाधि हात पार्ने दाबी गरेको छ।

बिहीबार हुने उपाधि भीडन्त पूर्व बुधबार विराटनगरमा आयोजित प्रि-म्याच कन्फ्रेन्सका क्रममा लुका सकर क्लबका प्रशिक्षक नाभास नोकाले पहिलोपटकको सहभागितामा टोली उपाधि हात पार्न उत्साहित भएको बताएका छन्।

भारतको केरलाबाट पहिलोपटक विदेशीभूमिमा आयोजित फुटबल प्रतियोगितामा सहभागि भएको लुकाका लागि विराट गोल्डकपको उपाधिले महत्वपूर्ण अर्थ प्रशिक्षक नाभासले जनाएका छन्। विराटनगरका दर्शकको साथ पाएकोले उत्साहित भएको बताएका उनले गोल्डकपका दुई पूर्वविजेता संकटा र एपीएफलाई पराजित गर्नुले उपाधि जित्ने संकेत भएको बताए।

उनले भने,’पूर्वी नेपालको प्रतिष्ठित प्रतियोगिताका रुपमा रहेको गोल्डकपको उपाधि उचाल्न आतुर छौँ। अघिल्ला दुई खेलमा जस्तो प्रदर्शन गरेका थियौँ, त्यस्तै र सोही प्लेइङ सिटमा मैदान उत्रने छौँ। हाम्रा खेलाडी सबै फिट नै रहेका छन्।’ अर्कोतर्फ, पहिलोपटक गोल्डकपमा सहभागि भएको आयोजक क्लब विराटनगर सिटी फुटबल क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले उपाधि गृहनगरमै राख्ने बताएका छन्।

उनले भने,’विपक्षीको खेल नजिकबाट नियालेका छौँ। रक्षात्मक खेलमा बढी विश्वास गरेको लुकालाई पराजित गर्दै विराटनगरवासीलाई अनुपम उपहार दिन टोलीले मैदानमा शतप्रतिशत प्रदर्शन गर्नेछ।’ त्यसैगरी विसिएफसीका क्याप्टेन विशाल श्रेष्ठले उपाधि भीडन्तमा टेक्निकल्ली खेलमा विश्वास गर्ने बताए। अग्ला कदका खेलाडी लुकामा रहेको बताएका क्याप्टने श्रेष्ठले आफूहरूको प्रयास ग्राउण्ड लेभलको खेलमा हुने उल्लेख गरे।

विसिएफसीले अन्तिम पाँच खेलमा ३ मा जित र २ मा हार ब्यहोरेको छ। ३ वर्षअघि स्थापित विसिएफसीले नेपाल सुपर लिगपछि पहिलोपटक ठूलो प्रतियोगितामा सहभागिता जनाएको हो। टोलीमा ए डिभिजनका खेलाडीसँगै जापान, नाइजेरिया र क्यामरुनका खेलाडीको साथ रहेको छ।

त्यसैगरी, भारतको केरला प्रिमियर लिगको पाँचौस्थानमा रहेको लुकाले पछिल्लो पाँच खेलमा २ जित, १ बराबरी र २ मा हार ब्यहोरेको छ। विराट गोल्डकपको सातौं संस्करणसम्म आइपुग्दा हिमालयन शेर्पा, संकटा क्लब, झापा- ११, नेपाल पुलिस क्लब, थ्रीस्टार र एपीएफले उपाधि हात पारेका छन्। यसक्रममा विदेशी टोलीको हकमा अफ्रिकन युनाइटेड र भारतको पञ्जाव पुलिस उपविजेतामा चित्त बुझाउन बाध्य छन्। अर्कोतर्फ तत्कालीन महेन्द्र गोल्डकपमा भने भारतीय क्लबहरुको दवदबा रहेको छ।
महेन्द्र गोल्डकपको २६ औँ संस्करण सम्ममा भारतको विभिन्न क्लबले १७ पटक उपाधि चुमेका छन्। त्यसैगरी नेपालका ८ वटा क्लबले उपाधि चुमेका छन् भने भुटानको थिम्पु ११ ले उपाधि चुमेका छन्।

जारी गोल्डकपको उपाधि विजेता क्लबले २० लाख १५ हजार रुपैया र उपविजेताले १० लाख १५ हजार रुपैया नगद र ट्रफी हात पार्नेछ‍।

कैलालीको धनगढीमा जारी खप्तड गोल्डकपपछिको यो पुरस्कार राशी ठूलो हो‍। खप्तड गोल्डकपमा विजेता टोलीले २१ लाख रुपैयाँ हात पार्नेछ।

चैत १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्