यी स्टार खेलाडी, जसको बन्न सक्छ यो अन्तिम आइपिएल

दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ सिजन सुरु हुँदैछ। पहिलो खेल ३१ मार्चमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
५९ दिन चल्ने लिगमा यो सिजन यी पाँच खेलाडीका लागि अन्तिम आइपिएल बन्न सक्ने छ। यद्यपि, उनीहरुको प्रदर्शन र टिमको चाहनाले पनि उनीहरुको भविष्य निर्धारण गर्नेछ।
महेन्द्र सिंह धोनी (कप्तान, चेन्नई सुपर किंग्स)
धोनी लिगमा सर्वाधिक पाका खेलाडी हुन्। उनी ४० वर्ष पूरा भइसकेका छन्। गत संस्करणको एक खेलपछि उनले सन्न्यासको संकेत दिएका थिए। उनले गत संस्करणमा टिमको कप्तानीसमेत छोडेका थए। उनले रवीन्द्र जडेजालाई कप्तानको जिम्मेवारी दिएका थिए। यद्यपि, विवाद तथा टिमको खराब प्रदर्शनका कारण पुनः धोनीले नै टिमको जिम्मेवारी लिए।
पछिल्लो तीन सिजनमा धोनीको स्ट्राइकरेट १३० भन्दा कम रहेको छ। उनले २०२० मा ११६.२७ को स्ट्राइकरेटमा २००, २०२१ मा १०६.५४ को स्ट्राइकरेटमा ११४ तथा २०२२ मा १२३.४० को स्ट्राइकरेटमा २३२ रन बनाएका थिए।
उनले आइपिएलमा २३४ खेलमा ४९७८ रन बनाएका छन्। उनले ३९ स्टम्पपिङ गर्दा १३५ क्याच लिएका छन्। साथै उनले आफ्नो आइपिएल इनिङमा ३४६ चौका र २२९ छक्का प्रहार गरेका छन्। उनले २००८ मा आइपिएलमा डेब्यू गरेका थिए।
यो पटक धोनीको सम्भवतः अन्तिम आइपिएल हुनेछ। त्यसैले उनी टिमलाई एक अर्को उपाधि जिताउन मैदानमा उत्रिने छन्। विकेटकिपरमा विश्वव्यापी छाप छोड्न सफल धोनी ग्रेट फिनिसरका रुपमा रहेका छन्। त्यसैले टिम उनीसँग ठूलो अपेक्षाका साथ मैदान उत्रिँदै छ।
अमित मिश्रा (लेग स्पिनर, लखनउ सुपरजायन्ट्स)
अमित पनि ४० वर्षको उमेर पूरा गरिसकेका छन्।उनको पछिल्लो चार सिजनमा लगातार विकेट संख्यामा कमी आइरहेको छ। पछिल्लो सिजनमा मिश्राले चार खेलमा केवल ६ विकेट लिएका छन्।
२०१६ पछि उनको विकेट हरेक सिजन कम हुँदै गएको छ। उनको स्ट्राइक रेटसमेत कम भएको छ। उनको इकोनोमीसमेत ७ प्लस भइसकेको छ। त्यसैले उनका लागि सम्भवतः यो अन्तिम आइपिएल हुनेछ।
आइपिएलमा उनले कुल १५४ खेलमा १६६ विकेट लिएका छन्। उनको बेस्ट भनेको ५/१७ हो। उनले ३ पटक ह्याट्रिक गर्दा ७.३६ को इकोनोमिमा बलिङ गर्ने गरेका छन्। उनले २००८ मा डेब्यू गरेका थिए।
अनुभवी लेग स्पिनर मिश्राले आफ्नो जादुमयी छविलाई फर्काउँदै लखनउ सुपर जायन्ट्सलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भुमिका रहने छ।
फाफ डु प्लेसिस (कप्तान, रोयल च्यालेन्जर्स)
३८ वर्ष पूरा भइसकेका फाफको पछिल्लो तीन सिजनदेखि स्ट्राइक रेट निरन्तर ओरालो लागेको छ। यद्यपि, उनको ब्याटबाट रन बनिरहँदा उनी आइपिएलमा महत्वपूर्ण खेलाडीको रुपमा नै कायम रहेका छन्।
डु प्लेसिसले २०२० मा १४०.७५ को स्ट्राइकमा ४४९ रन बनाएका थिए। त्यसपछि २०२१ मा १३८.२० को स्ट्राइक रेटमा ६३३ रन बनाउँदा २०२२ मा १२७.५२ को स्ट्राइकरेटमा ४६८ रन बनाएका छन्। दक्षिण अफ्रिकी ब्याटर फाफले ३८ वर्ष पूरा गरिसकेका छन्। त्यसैले रोयल च्यालेन्जर्सका लागि नयाँ कप्तानको खोजी गर्नुपर्ने समेत अवस्था आएको छ। विराटले गत वर्ष टिमको कप्तानी छोडेका थिए।
उनले ११६ खेलबाट ३४०३ रन बनाएका छन्। उनले २५ अर्धशतक पूरा गर्दा ३१४ चौका र १०९ छक्का प्रहार गरेका छन्। उनले २०१२ मा डेब्यु गरेका थिए।
विराटले कप्तानी छोडेपछि डु प्लेसिसको काँधमा टिमको जिम्मेवारी रहेको छ। उनका लागि कम्तिमा आरसिबीलाई एक उपाधि दिलाउनुपर्ने चुनौती रहेको छ। गत संस्करणमा प्लेअफमा पराजित भएको आरसिबी यो पटक उपाधिसम्म पुग्न चाहन्छ।
रिद्धिमान शाह (विकेट किपर, गुजरात टाइटन्स)
३८ वर्ष पूरा गरिसकेका रिद्धिमान आइपिएलका औषत खेलाडी हुन्। तर उनका लागि पनि सम्भवतः यो अन्तिम आइपिएल बन्न सक्ने छ। उनी विकेटका पछि गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले गत संस्करणमा २ स्टम्पिङ र ११ क्याच लिएका छन्। गत संस्करणमा उनको ब्याटबाट १२२.३९ को स्ट्राइकरेटमा ३१७ रन बनेको थियो। त्यसअघि २०२१ मा शाहले ९३.५७ को स्ट्राइकरेटमा १३१ रन बनाएका थिए। उनको नाममा ६ क्याच रहेको थियो।
१४४ खेलमा उनले २४२७ रन बनाएका छन्। उनले कुल २२ स्टम्पिङ गर्दा ७९ क्याच लिएका छन्। उनले ११ अर्धशतक र १ शतक प्रहार गर्दा २३१ चौका र ७६ छक्का प्रहार गरेका छन्। उनले २००८ मा डेब्यु गरेका थिए।
उनले कोलकाता, चेन्नई, पञ्जाब तथा हैदरावादबाट खेल्दा उनी गत संस्करणदेखि गुजरात टाइटन्समा रहेका छन्। उनले गत वर्ष टिमलाई च्याम्पियन बनाउँदा तीन अर्धशतकको सहयोगमा ३१७ रन बनाएका थिए। यो सिजन पनि उनीसँग टिमले आशा राखेको छ।
दिनेश कार्थिक (विकटकिपर ब्याटर, रोयल च्यालेन्जर्स)
टी–२० विश्वकपमा खराब प्रदर्शनका कारण भारतीय टिमबाट बाहिर भइसकेका कार्थिक पछिल्लो समयमा कमेन्ट्री र एनालिसिसमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। कार्थिक ३८ वर्ष पूरा भइसकेका छन्।
यस्तोमा उपाधिविहीन यात्रा जारी रहँदा यो पटक उनको भूमिका महत्वपूर्ण नभएमा अर्को विकेटकिपरको खोजी गर्नुपर्ने जरुरी आरसिबीलाई पर्न सक्छ। यदी उनी आरसिबीबाट रिटेन हुन सकेनन् भने ३८ प्लसका उनलाई अन्य टिमले खरिद गर्न मुस्किल पर्नेछ।
आइपिएलमा कुल २२९ खेलबाट ४३७६ रन बनाएका उनले १३३ क्याच लिएका छन् भने ३४ स्टम्पिङ्ग गरेका छन्। २० अर्धशतक प्रहार गरेका उनले ४२६ चौका र १३४ छक्का प्रहार गरका छन्। उनले २००८ मा आइपिएलमा डेब्यु गरेका थिए। उनले दिल्ली क्यापिटल्स, मुम्बई, आरसिबी, गुजरात र कोलकाताबाट खेलिरहेका छन्।
गत संस्करण फिनिसरका रुपमा रहेका उनले १८३.३३ को औसतमा ३३० रन बनाएका थिए। त्यसैले उनलाई सोही प्रदर्शन कायम राख्नुपर्ने चुनौती रहेको छ।