कर्मचारी राख्ने विवादपछि दुुई वर्षदेखि कुटानी–पिसानी मिल बन्द हुँदा जीर्ण

सिमकोट – सिमकोट गाउँपालिका–२ को ठेहे गाउँमा निर्माण भएको कुटानी–पिसानी मिल निर्माण भई एक हप्ता प्रयोगमा आए पनि त्यसपछि लामो समय प्रयोगमा नआउँदा जीर्ण बनेको छ। निर्माण उपभोक्ता समितिले मेसिन सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी भर्नामा विवाद गर्दा मेसिन र भवन जीर्ण अवस्थामा पुुगेको हो।

ठेहे गाउँका नयाँ भवन निर्माण भई जिल्ला बाहिरबाट मेसिन खरिद तथा ढुवानी गरी ल्याएर जडान गरिएको कुटानी पिसानी मिल प्रयोगमा आउनुपर्ने भवन र मेसिन दुुई वर्षसम्म प्रयोग नआई बन्द अवस्थामा रहेका कारण मेसिनमा खिया लागेर सञ्चालनमा आउन नसक्ने अवस्थामा पुुगेको र भवनको गाह्रोका ढुंगा स्थानीयले तानेर लगेको र बार्दलीका काठका खम्बा पनि चोरेर लगिएका छन्।

सो वडाका अध्यक्ष देशजंग बोहराले भवन राम्रै निर्माण भए पनि मिल सञ्चालनका लागि आवश्यक कर्मचारी राख्ने कुरामा उपभोक्ता समितिकै सदस्यबीच विवाद भएपछि मिल सञ्चालनमा आउन नसकेका कारण बन्द रहेको बताए।

मिल जडान भइसकेपछि एक हप्तासम्म सञ्चालनमा आएको थियो। उनले लामो समयसम्म मेसिन नचलेका कारण हाल सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको बताए।

उक्त मिलमा कुटानी, पिसानी, तेल पेल्ने र उवा चुट्ने गरी चार वटा मेसिन जडान गरिएका छन्। चार वटै मेसिनमा खिया लागेको र दुुई वटाको फितासमेत चुँडिएको अवस्थामा छन्। वडाले मिलको जिम्मा लिन खोजेपछि तत्कालीन उपभोक्ता समितिले साँचो नै दिन नमानेको बताए।

मिल निर्माणका लागि कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमबाट पहिलो वर्ष ५० लाख र दोस्रो वर्ष १० लाख बजेट विनियोजित गरेका थिए। मिलका लागि भवन निर्माण र मेसिन खरिद तथा ढुवानीका लागि कुल ६० लाख रुपैयाँ खर्च भएको छ।

चैत १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्