चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते रिलिज हुने, पहिलो गीत सार्वजनिक

काठमाडौँ – चलचित्र ‘कैदीको पत्र’को आगामी वैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत रिलिज गरिएको छ। ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुवानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन्।
यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ। यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।
प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइहरु देख्न पाइने निर्देशक सनमकुमार बैरागले बताए। यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो।
यसमा कुनाल र म्याडिशनको साथमा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ। दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन्।
यस चलचित्रका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसीले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनुचौबीले कलर ग्रेडिङ्ग गरेका छन्।