बालुवाटारको खाजाः भुटेको मकै र मोही !

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खाजामा मात्रै लाखौँ रुपैयाँ खर्च हुने गरेको तथ्य यसअघि पटक–पटक सार्वजनिक हुने गरेको थियो।
सरकारको नेतृत्व गरेको दलको बैठक, सत्ता गठबन्धनका दलहरुको बैठक, मन्त्रिपरिषद्को बैठक, प्रधानमन्त्रीले गर्ने विभिन्न भेटवार्ताका क्रममा खाजामा मात्रै ठूलो रकम खर्च हुन्थ्यो।
त्यत्रो रकम खर्च गरेर नेताहरुले के खाजा खान्छन् होला भन्ने आम सर्वसाधारणको पनि चासोको विषय हुन्छ। तर, बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भने भुटेको मकै र मोही खाजाको रुपमा थियो।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको खाजाको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। जसमा देख्न सकिन्छ, भुटेको मकै र मोही।
भट्टराईले सामाजिक सञ्जालमा खाजा खाँदै तस्बिर राखेर लेखेका छन्,’बालुवाटारको खाजा ! भुटेको मकै र मही ! गाउँको बाल्यकालको याद!’