‘तत्कालीन विद्रोही योद्धा नै टाउकोमा गोली बोकेर माइतीघरमा अझै आन्दोलन गर्न विवश छन्’

युवा लेखक विवेक ओझा दोस्रो उपन्यास ऐँठनका कारण चर्चामा छन्। पाँच वर्षअघि ऐलानी उपन्यासमार्फत् ओझाले पाठकको मन जितेका थिए। पश्चिम नेपालमा बसोबास गर्ने वादी समुदायका महिलाको मार्मिक कथा प्रस्तुत गरेका छन् ऐलानीमा।
समाजको वर्गसंघर्ष र गहिरो वेदनामाथि कलम चलाएका ओझा शक्तिशाली गजलकार पनि हुन्। गजल लेखनसँगै आख्यानमा हात हालेका ओझा कैलाली टीकापुरबासी हुन्।
दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित ऐँठनमार्फत शान्तिको सन्देश दिन खोजेका विवेक ओझासँग देशसञ्चारका लागि गरिएको कुराकानीको सम्पादित अंशः
पाँच वर्षपछि ऐँठन आउँदा कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?
औपचारिक विमोचनअगाडि किताब बजारमा गएको थियो र विमोचन हुँदासम्ममा उत्साहजनक प्रतिक्रिया पाइरहेको छु। किताबले ऐँठन नै पारेको प्रतिक्रिया दिइरहेका छन् पाठकले।
थुप्रैथुप्रै पाठकले उपन्यासका पात्रले सपनामा समेत अतिक्रमण गरेर सताएको बताइरहनुभएको छ। त्यो लेखकका लागि मजेदार विषय भइहाल्यो नै। र, जुन ऊर्जा र समय मैले सिर्फ लेखनमा खर्चिएको थिएँ त्यो समयमाथि मैले न्याय गरेको रहेछु भन्ने आभास भइरहेको छ।
द्वन्द्वपीडितलाई एक पात्र बनाएर लेख्नु भएको रहेछ? यो तपाईंले देखेको पात्र हो कि कल्पनाको पात्र हो?
हाम्रो समाजले भोगेको दश वर्षे गृहयुद्ध भएका कारण नै उपन्यासको मूल पात्र यहाँकै आम मानिस हो, जो द्वन्द्वको चपेटामा पर्यो। तर, यसरी नेपालको गृहयुद्धमा मात्रै हामी केन्द्रित हुँदा उपन्यासको अर्को पाटो नै छुट्छ।
मैले यो भन्न जरूरी छ कि ‘ऐँठन’ सिर्फ नेपाली समाजले भोगेको द्वन्द्वमा मात्र केन्द्रित छैन। उपन्यासमा तीन खाले युद्धको खास चित्रण गरिएको छ- पहिलो, पौराणिक युद्ध। दोस्रो, विश्वयुद्ध। तेस्रो, नेपालको गृहयुद्ध। र, ती सबै युद्धको विशेषता निकै भिन्न थियो। मेरो उद्देश्य ती युद्धको बाटो भएर युद्धको नियति दर्शाउनु हो। अझ शान्त र सुखमय जीवनको कल्पना हो।
द्वन्द्वपीडितको आन्दोलनमा कहिले सरिक हुनुभएको छ?
‘प्ले कार्ड’ लिएर जिन्दावाद र मुर्दावादको आन्दोलनलाई लिएर प्रश्न गर्नुभएको हो भने त्यस्ता आन्दोलनमा म पटक-पटक साक्षीका रूपमा सरिक बनेको छु। तर, त्यो भौतिक उपस्थितिको आन्दोलनमा ‘प्ले कार्ड’ बोकेर नारा लगाएको भने छैन। तर, एक लेखकका हैसियतले यो पुस्तक त्यही ‘द्वन्द्वपीडित’ आन्दोलनको एक आवाज हो। यही मेरो संलग्नता हो।
मेरो समय र उर्जा द्वन्द्वपीडितको पक्षमा दिन म कुनै हदसम्म पछि परेको छैन। एक सामाजिक पात्रका हिसाबले पनि मैले बोल्ने चोक र मन्चमा सधैँ पीडितकै पक्षमा आफ्नो राय राखेको छु।
हामी एकपटक त्यो अयोग्य मानिएको घाइते योद्धाको मस्तिष्कको विक्षिप्तता अनुमान मात्र गरौँ, त्यसले संवेदनाहरूका तारहरू भूकम्पको पराकम्पझैँ हल्लाउने सच्चाइ राख्दछ।
त्यसो भए तपाईँलाई द्वन्द्वको बाछिटाले छोएन?
छोयो नि! द्वन्द्वको चपेटामा परेर मेरा बुवाले पेन्सन नै हुन लागेको जागिर छोड्नुपर्यो। ममात्र नभएर बुवामाथि आश्रित मेरो सम्पूर्ण परिवारले नै अँध्यारो जीवनको साक्षी बन्नुपर्यो। मजस्तै यहाँ लाखौँ मानिस प्रभावित भएका छन्। भगवान्को कृपा मेरा बा मसँग हुनुहुन्छ, फेरि पनि हामीले जीवनका थुप्रै सुन्दर सम्भावनाहरू गुमायौँ।
मेरो परिवार आँसुको दहको साक्षी बन्नुपर्यो। म यसो अनुमान गर्छु, उनीहरूको के हालत भयो होला जसले आफ्ना बा-आमा गुमाए। जसले हृदयका टुक्रा समान परिवारका सदस्य गुमाए? त्यो पीडाको हामी अनुमानबाहेक अरुथोक केही गर्न सक्तैनौँ।
माओवादी सशस्त्र आन्दोलनप्रति तपाईँको धारणा कस्तो छ?
मलाई लाग्दैन, आख्यानले आख्यानकारको निजी धारणामाथि महत्त्व राख्नैपर्छ। आख्यानलाई लिएर लेखकको व्यक्तिगत जीवनमाथिको सोधखोजले मलाई सधैँ खसखस लगाइरहन्छ। ती मलाई निकै बेग्लै विषय हुन भन्ने लाग्छ।
जहाँसम्म सशस्त्र आन्दोलनप्रति मेरो धारणा छ, त्यसमा एकरूपता छैन। आन्दोलनले उठाएका मागप्रति मेरो एकखाले धारणा होला तर जुन आधुनिक समयमा हतियार उठाइयो, त्योमाथि मेरो धारण केही भिन्न छ। त्यसमा पनि आन्दोलनको छायामा भएका अपराधमाथि मेरो धारणा निकै निर्मम छ।
विद्रोही पक्षले मात्र नभएर राज्यपक्षले गरेको दमन र अपराधको सवालमा पनि म निकै निर्मम मत राख्छु। योमाथि बेग्लै र लामो बहस आवश्यक गर्न पर्ला।
द्वन्द्वका घाउले अहिले पनि पोलिरहेको छ भन्ने बुझाउन उपन्यासबाट खोज्नु भएको हो?
तत्कालीन राज्य पक्षले शक्तिको आडमा कति हत्या र बलात्कार गर्यो, कसरी आम मानिसहरूलाई प्रभावित गर्यो, तिनको साक्षी हाम्रा वरिपरि आँसु लिएर भड्किरहेका छन्। एकपटक तिनीहरूको हृदय चिह्याउने हो भने संवेदनाको हृदयसमेत बरफ बन्छ।
तत्कालीन विद्रोही योद्धा नै टाउकोमा गोली बोकेर माइतीघरमा आन्दोलन गर्न विवश छन्। हिजाका आफ्ना योद्धा-नायकहरूलाई मुर्दावाद भन्दै हिँडिरहेका छन्। हामी एकपटक त्यो अयोग्य मानिएको घाइते योद्धाको मस्तिष्कको विक्षिप्तता अनुमान मात्र गरौँ, त्यसले संवेदनाहरूका तारहरू भूकम्पको पराकम्पझैँ हल्लाउने सच्चाइ राख्दछ।
अझ गृहयुद्धमा त दुवै पक्षका हतियारधारीभन्दा दोब्बरको संख्यामा निहत्था मानिस मारिएका थिए। तिनका परिवार हाम्रै वरिपरि हृदयमा आलो घाउ लिएर भड्किरहेका छन्। के कुनै स्वास्नी मान्छेले आफू विधवा भएको पीडा बिर्सिन सक्छिन्?
बाबुआमाबाट बञ्चित भएर बाँचिरहेको सन्तानको घाउ के सन्चो हुनसक्छ? कुनै घाउहरू कहिल्यै सन्चो हुँदैनन् र ती कहिल्यै पुराना हुँदैनन्। ती सधैँ ताजा भएर चर्चराइरहेका छन्। त्यस्ता घाउले गला दबाइरहेको छन्। पाइला-पाइलामा बिझाइरहेको छ द्वन्द्व। मानौँ, यो समय गुज्रियो, तर पनि युद्धले मानवताको र जीवनको समय रेखामा दाग छोडेर जान्छन्।
दुई दशकअघिको माओवादी विद्रोहको चित्रणभन्दा पनि तपाईँ आफ्नो पात्रमार्फत् अस्पतालमा केन्द्रिकृत भएको मान्नुहुन्छ?
मैले अघि नै भनिसकेँ, यो सिर्फ माओवादी विद्रोहमा केन्द्रित कथा होइन। माओवादी विद्रोहमै उपन्यास केन्द्रित भएर बाँधिनुपर्छ भन्ने पनि मलाई लाग्दैन। त्यो त नितान्त औपन्यासिक उडानमा निर्भर हुने कुरा भयो नि! उपन्यासका माध्यमबाट युद्धको नियति र जीवनको मूल्य दर्साउने मेरो कोसिस हो। त्यसका लागि मैले स्वैरकल्पना र यथार्थलाई मिश्रित गरेको छु। त्यो लेखकीय उडान र संरचना मेरै नियन्त्रणमा थिएन।
द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेको अवस्थामा यस पुस्तकले समेत घच्घच्याउन सक्छ, हो?
यो पुस्तकले घचघच्याओस् या नघच्घच्याओस् राज्यले अन्यायमा परेका मानिसलाई जतिसक्दो चाडो न्याय दिनुपर्छ। भनिन्छ, समयभन्दा ढिलो गरिएको न्याय पनि अन्याय नै हो। अझ युद्धको आडमा भएका जघन्य अपराधको पनि न्यायिक निसाफ जरूरी छ। र, त्यो हुनुपर्छ।
त्यसो भए, युद्ध साहित्य मान्नु हुन्छ?
हो, यो एक आम मानिसको आँखाबाट बुनिएको युद्ध उपन्यास हो।
तपाईँका लागि ऐँठन पहिलो उपन्यास ऐलानीभन्दा बलियो कि कमजोर?
भाषिक पकड र औपन्यासिक शिल्पका हिसाबले ऐँठन केही हदसम्म बलियो हुन सक्छ। फेरि पनि मेरा लागि दुवै बलिया छन्। किनकि विषय र मुद्दका हिसाबले दुवैको तुलना हुन्न। र, मलाई दुवै उत्तिकै प्रिय लाग्छन्। बाँकी कुरा त पाठकले रुची र स्वादका दृष्टिले बताउलान् नै।