‘पुँजीबजारमा सुनौलो दिन आउँछ, लगानीकर्ताले संयमता अपनाउनु पर्छ’

काठमाडौँ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबैतिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
बुधबार काठमाडौँमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पुँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारबाट पुँजीबजारको दिगो विकास र विस्तारको लागि धेरै काम भइरहेको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने बताए। पुँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै उनले यस्तो अवस्थामा लगानीकर्ताहरुलाई निरास नभएर संयमता अपनाउन आग्रह गरे।
उनले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभावलगायतको कारण पुँजीबजारमा पनि प्रभाव परेको उल्लेख गरे।
उनले भने,‘अब पुँजी बजारका लागि सुनौलो दिन आउँछ। सरकारबाट बजार सुधारका थुप्रै काम भइरहेको छ। लगानीकर्ताले अहिले संयमता अपनाउनु पर्छ।’