ठेकेदारले विद्यालयमा तालाबन्दी गर्दा एसइई परीक्षा सञ्चालनमा कठिनाइ

दाङ – भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा तालाबन्दी गरेपछि एसइई परीक्षा सञ्चालन गर्न कठिनाइ भएको छ।

पाँच वटा विद्यालयका एक सय ५७ जान विद्यार्थीले परीक्षा दिँदै छन्। विद्यालयकाे पुरानाे भवनकाे कक्षाकाेठा प्रयाेग गरेर परिक्षा सञ्चालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णराज बुढाथोकीले जानकारी दिए।’ताला लागेकाे १४ दिन पुग्याे। खुलेकाे छैन। आजकाे परीक्षा पुरानाे भवनबाट दिने व्यवस्था मिलाएका छाैँ,’बुढाथोकीले भने,’जेनतेन परीक्षा चलाएका छाैँ।’

भुक्तानी नपाएको भन्दै ठेकेदारले त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयका दुईवटा भवनमा लगाइदिएको ताला नखोल्दा एसइई परीक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ। ठेकेदार दामोदर वलीले चैत ३ गते विद्यालयको ८ कोठे र ४ कोठे गरी दुई भवनमा ताला लगाएका हुन्।

उक्त विद्यालयमा जिल्लाका पाँच विद्यालयको परीक्षा केन्द्र तोकिएको छ। राधेश्याम मावि गैरागिठी, माबि टोटके, नेरा माबि रेख फलाबाङ, सल्यानी पब्लिक स्कुल र त्रिवेणी माबि सरिकोटका गरी १५७ जना विद्यार्थी सो विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा सहभागी छन। विद्यालयका पुराना चार वटा कक्षा कोठामा मुस्किलले सिट व्यवस्थापन गरिएकाे छ।

एसइईको मुखमा तालाबन्दी हुँदा विद्यालयमा परीक्षा सञ्चालनका लागि प्रशासनिक कामकाज गर्न समेत समस्या भएको छ। ‘फोटोकपी मेशिन, कम्युटर भएका प्रशासनिक कक्षहरुमा ताला लागेको छ,’ उनले भने, ‘परीक्षाका सामान व्यस्थापन लगायतका काम गर्न समस्या भएको छ।’

ठेकेदार दामोदर वलीले नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत दुई तलाको आठ कोठे र चार कोठे गरी दुईवटा विद्यालयको भवन निर्माण गरेका थिए। २०७७/७८बाट सुरु भएको भवन निर्माण गत असोजमामात्र सम्पन्न गरेका थिए।

कूल दुई करोड ५० लाख मध्ये अन्तिम भुक्तानी वाफत ४५ लाख रुपैयाँ पाउँन बाँकी रहेको भन्दै ठेकेदार वलीले चैत ३ गते ताला लगाएका थिए। त्यसयता उनले ताला खोलेका छैनन्। विद्यालयले भने निर्माण कम्पनी (ठेकेदार)विरुद्ध अख्तियारमा मुद्दा परेकाले भुक्तानी गर्न सकेको छैन।

त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विद्यालयको लागेका ताला खोल्न ठेकेदारलाई पटक-पटक आग्रह गरे पनि नमानेको बताए। ‘विद्यालय जस्तो संवेदनशील ठाउँमा ताला लगाउन हुन्न भनेर निर्माण व्यवसायीसँग आग्रह गरिरहेका छौँ’ उनले भने, ‘तर उसले भुक्तानी नपाएसम्म ताला नखोल्ने अडान लिएकाले केही गर्न सकिएको छैन।’

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्