आज बाँडफाँट हुँदै सगरमाथा जलविद्युतको आइपीओ

काठमाडौँ – सगरमाथा जलविद्युत कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज चैत १७ गते दिउँसो ३:३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँट गर्ने तय गरिएको छ।

यता, सगरमाथाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ३३ हजार ७७७ जनाले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन्।

जसमा ३ लाख ५८ हजार १७६ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ। कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९% अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो।

यसमध्ये १०% (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै, कम्पनीले ५% अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३% (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो। बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ। इक्रा नेपालले २०७९ असार १ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० जेठ ३० गतेसम्म बाहल रहनेछ।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्