फेयरब्रेक क्रिकेट खेल्न रुविना र सीता हङकङ प्रस्थान

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्री र अलराउन्डर सीता रानामगर हङकङमा हुने फेयर ब्रेक टी-२० फ्रेन्चाइज क्रिकेट खेल्न शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन्।

गत वर्षबाट सहभागि रहँदै आएका यी दुई खेलाडीलाई आ-आफ्नो टिमले रिटेन गरेसँगै यो वर्षपनि सहभागि हुन लागेका हुन्। घरेलु टी-२० प्रतियोगिता ललितपुर मेयर च्याम्पियनसिप सकिएसँगै उनीहरू हङकङ प्रस्थान गरेका हुन्।

हङकङमा कप्तान रूबिना द बार्बी आर्मी र सीता द टोनेडसमा आवद्ध रहेका छन्। १५ दिन चल्ने प्रतियोगितामा दुवै खेलाडीले अघिल्लो सिजनपनि सहभागिता जनाएका थिए।

६ टोली सहभागि रहेको प्रतियोगिता राउण्ड रोविन र नकआउट आधारमा सञ्चालन हुनेछ। प्रतियोगिता हङकङको कोलुन क्रिकेट क्लबको मैदानमा हुँदैछ। प्रतियोगिताको पहिलो खेल चैत २१ मा हुनेछ। फाइनल आगामी वैशाख ३ मा हुनेछ।

दिनमा दुई वटा खेल हुनेछ। एक टोलीले समूह चरणमा एक अर्कासँग एकपटक खेल्छन्। समूहको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।

आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ। २८ देशका कुल ८३ खेलाडी ६ टिममा आबद्ध छन्।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्