सिमकोट – खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँको नवनिर्मित भवन वडालाई हस्तान्तरण गरिएको छ। निर्माण कम्पनी पिएण्डपि कन्सल्टेन्सी एण्ड रिसर्च सिभिल सेन्टर प्रालिले भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरेपछि वडालाई हस्तान्तरण गरेको हो। वडाध्यक्ष भरतजंग शाहीले औपचारिक रुपमा वडाले आफ्नो भवन पाएको र अब कार्यालय सञ्चालनमा ल्याउने बताए।

उनले भवन वडा कार्यालयका लागि आवश्यक पर्ने कोठा र बैठक कक्ष पनि निर्माण भएकाले अब सबै काम एउटै भवनबाट गरिने जानकारी दिए। भवनमा वडाध्यक्षको कक्ष र सदस्यहरूको कक्ष पनि तयार गरिनेछ। यसका लागि खार्पुनाथ गाउँपालिकाले ६७ लाख बजेटमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।

यसअघि वडा कार्यालय स्वास्थ्य चौकीको भवन दुुई वटा कोठामा सञ्चालन हुँदै आएको थियो। जिल्लाका ४४ वडामध्ये सुविधा सम्पन्न वडा भवन रहेको दाबीसमेत गरिएको छ।

प्रालिका प्रतिनिधि ज्ञानेन्द्र शाहीले एक वर्षमा भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरेर बुधबार वडाध्यक्ष भरतजंग शाहीलाई हस्तान्तरण गरिएको जानकारी दिए। भवन दुुईतले ६ कोठे रहेको छ। भवनभित्रै दुुई वटा एट्याज शौचालय र खानेपानीको ब्यवस्थासमेत गरिएको छ। कोठाको भित्तामा काठको पेलेङ्किगसमेत गरिएको कारण हिउँदमा जाडोबाट समेत सुरक्षित रहन सहज हुनेछ।

वडा कार्यालय भवनमा वायरिङ गरेर गरेर विद्युत्समेत निर्माण कम्पनीले नै गरेको हो। अधिकांश निर्माण सामग्री जिल्ला बाहिरबाट खरिद र ढुवानी गर्नुपर्ने भएको कारण भवन निर्माणमा समय लागेका बताए।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्