शान्ति श्रेष्ठ हत्या प्रकरणः कारगारबाट छुटेको २ वर्षमा फेरि हत्या

सांकेतिक तस्बिर ।

पोखरा – तनहुँमा भएको शान्ति श्रेष्ठ हत्या प्रकरणमा पक्राउ परेका अभियुक्त कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर छुटेको खुलेको छ। पोखराको अमरसिंहचोकमा फलफूल व्यापार गर्ने श्रेष्ठको हत्या अभियोगमा प्रहरीले काभ्रेको पाँचखाल–५ घर भइ पोखराको घारीपाटन बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई तनहुँको थप्रेकबाट बुधबार पक्राउ गरेको थियो।

सुनारले कास्कीको जैकोट सामुदायिक वनमा स्याङजाकी महिलाको हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेर २०७७ फागुन ७ गते कारागारबाट छुटेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए। हत्या भएकी श्रेष्ठ र सुनारको त्यसलगत्तै भेट भएको थियो।

सम्बन्ध घनिष्ठ भएपछि यी दुुईबीच आर्थिक लेनदेनसमेत हुन थाल्यो। २ महिना अगाडि शान्तिले छोराको उपचार गर्नलाई लिएको सापटी १० हजार रुपैयाँ फिर्ता नगरेपछि सुनारले हत्या गरेको अनुसन्धानबाट खुलेको विष्टले बताए। फागुन २१ गतेदेखि श्रेष्ठ वेपत्ता थिइन्।

सोही दिन इट्टाले टाउकोमा प्रहार गरी सुनारले हत्या गरेर तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटारमा खानेपानी ट्याङकीभित्र शव फालेका थिए। खानेपानी धमिलो र दुर्गन्धित भएपछि गत सोमबार ट्यांकी खुलेर हेर्दा उपभोक्ता समितिले किरा परेको अवस्थामा शव फेला पारेको थियो।

हत्या गरेर सुनारले श्रेष्ठले लगाएको गरगहनासमेत लुटेका थिए। हत्यापछि सुनारले श्रेष्ठले लगाएको गहना पोखराको महेन्द्रपुलमा सञ्चालित रजनी सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए।

लुटेको गहना खरिद गर्ने सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्