सँगै बसोबास गर्दै आएको जोडी रूखमा झुण्डिएको अवस्थामा फेला

मोरङ – मोरङमा विवाहका लागि उमेर नपुगे पनि पारिवारिक सहमतिमा सँगै बस्दै आएको एक जोडीले आत्महत्याको बाटो रोजेको छ। शुक्रबार रंगेली नगरपालिका–२ को खोरिया टोलस्थित एउटा कृषि फार्मको लिचीको रूखमा युवा–युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार रूखमा झुन्डिएको अवस्थामा रंगेली–२ का करिब १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका–२ की १८ वर्षीया ललिता उराव मृत फेला परेका हुन्।

विराटनगरका स्थानीय जनक कार्कीको ईश्वरी कृषि फार्मभित्र रहेको लिची बगानमा डोरीको पासो लगाएर उनीहरुको मृत्यु भएको प्रवक्ता दाहालले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सञ्जय र ललिताको परिवारबीच विवाहका लागि सहमति भएको थियो। तर, दुवै जनाको वैवाहिक गर्ने उमेर नपुग्दा परिवारले सँगै बसोबास गर्न दिएको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरी प्रवक्ता दाहालले दुवै जना पछिल्लो १ महिनादेखि सँगै बस्दै आएको जानकारी दिए।

मृतक ललिता बेलबारी–२ थापा टोलका माइला उरावकी छोरी हुन्। दुवै जना झुण्डिएको लिचीको बगान सञ्जयको घर नजिक रहेको छ। सो घटनाबारे स्थानीयले दिउँसो करिब १ बजे प्रहरीमा खबर गरेका थिए। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्