कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सिमकोट – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। उनलाई राप्रापाबाहेका अन्य सबै दलले विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री शर्माले योसहित दोस्रो पटक विश्वासको मत लिएका हुन्। शुक्रवार प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्। शर्मालाई नेकपा माओवादी केन्द्रसहित कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ। उनले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन्।

यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए। यद्यपि, राप्रपाले समर्थन फिर्ता लिए पनि दोस्रो पटक विश्वासको मत लिएका हुन्।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्