कुनै तहको सरकारले माग सम्बोधन नगरेपछि चुरे अभियानी सुनिल यादवले थाले आमरण अनशन

जनकपुरधाम – तीनै तहका सरकारले माग सम्बोधन नगरेपछि चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आमरण अनशनमा बसेका छन्।

भूमिहिन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने उदेश्यले ३७ दिनसम्म जनकपुरधामको जनक चौकमा धर्नामा बसे पनि कुनै निकायले चासो नलिएपछि आजदेखि आमरण अनशनमा बसेको उनले बताए ।

गत फागुन ११ गतेदेखि भूमिहीन तथा सुकुम्वासी चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत रहेर जन आवाज आन्दोलन शुरु गरेका थिए। धर्नामा बसेको ३७औँ दिनसम्म पनि कुनै तहको सरकार आफूहरुको मागप्रति चासो नलिएपछि आमरण अनशनमा बस्न बाध्य भएको संयोजक यादवले बताए ।

उनले भने, ‘नेपालमा आफ्नो माग सम्बोधन गराउनका लागि कि त मार्नु पर्छ कि त मर्नुपर्छ । हामी कसैले चोट पुर्याउन सक्दैनौँ त्यसैले आफ्नो माग सम्बोधन गराउनका लागि प्राणको आहुति दिन तयार छु ।’ माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने उनले जानकारी दिए ।

चुरे तथा वनजंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच बिगतमा भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकाले राज्यले गम्भीरतासाथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने, वैदेशिक रोजगारसम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भएअनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धाअन्तर्गत व्यवस्था मिलाउँदै दलितका लागि राजनीतिक आरक्षण सुनिश्चित गर्नुपर्ने लगायतको माग गर्दै चुरे अभियानीहरु आन्दोलन गर्दै आएका छन्।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्