मन्त्रिपरिषद विस्तारपछि प्रधानमन्त्रीले भनेः अब देशले गति लिन्छ

तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

शुक्रवार रिपोर्टस क्लव नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अब सरकारले काम गर्ने बताएका हुन्।

दाहालले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे। उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए।

दाहालले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए।

उनले तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। दाहालले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।

उनले भने, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मुलभुत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । हो देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ । मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु । सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ।’

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए।

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्