पहिलो दिन एसईईमा २८ जना अनुपस्थित

सिमकोट – ६ वटै परीक्षा केन्द्रमा गरी पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा २८ जना परीक्षार्थी अनुपस्थित भएका छन्। यसअघि परीक्षा फारम भरेर पनि उनीहरु सबै परीक्षामा अनुपस्थित रहेका हुन्।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलकप्रसाद भट्टराईले केन्द्रअनुसार सिमकोट गाउँपालिकाको मानसरोवर नमुना मावि परीक्षा केन्द्रमा पाँच जना, बालमन्दिर मावि परीक्षा केन्द्रमा १० जना, सर्केगार्ड गाउँपालिकाको कोट मावि परीक्षा केन्द्रमा चार जना, हिमज्योती मावि परीक्षा केन्द्रमा ६ जना, अदानचुली गाउँपालिकाको सूुर्योदय मावि परीक्षा केन्द्रमा एक जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि परीक्षा केन्द्रमा दुुई जना परीक्षार्थी परीक्षामा अनुुपस्थित रहेको बताए।

यी परीक्षार्थीले विभिन्न विद्यालयबाट खुला र ग्रेड बृद्धितर्फ फारम भरेको भएपनि परीक्षामा अनुपस्थित रहेका हुन्। ६ वटा परीक्षा केन्द्रमा एक हजार २०६ जना परीक्षामा सहभागिता जनाएका थिए। जबकि परीक्षा दिनका लागि एक हजार २३४ जना परीक्षार्थीले परीक्षा फारम भरेका थिए। यसैगरि सबै परीक्षा केन्द्रका लागि २१० जना शिक्षक र कर्मचारी खटिएको पाइएको छ।

जसमा ६ जना केन्द्राध्यक्ष, आठ जना सहायक केन्द्राध्यक्ष, ६६ जना निरीक्षक, १३ जना परीक्षा सहायक र २७ जना कार्यालय सहयोगी र ९० जना सुरक्षाकर्मी परिचालन भएका छन्।

पहिलो पटक परीक्षा सञ्चालनको जिल्ला केन्द्र तोकिएको विद्यालयले गरेका छन्। कुल परीक्षार्थीमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिकधारतर्फ असी र ग्रेडबृद्धितर्फ ६ जना परीक्षार्थी छन्। यसमा एक हजार २२८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडबृद्धिका परीक्षार्थी छन्।

परीक्षा शान्तिपूर्ण

हिमाली जिल्ला हुम्लामा माध्यामिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रुपमा सञ्चालन भएको छ। जिल्लामा सञ्चालन भएका ६ वटै परीक्षा केन्द्रमा शुक्रबार बिहान सुुरु भएको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको हो।

प्रमुख भट्टराईले सबै केन्द्रमा परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएकोे बताए। उनले परीक्षा जिल्लाभर शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालन भएको बताए। कहीँ–कतै पनि अमर्यादित र अवाञ्छित घटना नभएको पाइएको छ।

 

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्