
काठमाडौँ – भिक्षु जीवनमा आधारित ओम शंकर श्रेष्ठको उपन्यास ‘सम्बन्ध’ विमोचित भएकाे छ। जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशासहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास ‘सम्बन्ध’ विमोचित भएको हाे।
काठमाडौंको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा बिहीबार आयोजित एक कार्यक्रममा ‘मह जोडी’ मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा उपन्यासको विमोचन गरिएको हो। शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकारसमेत रहेका श्रेष्ठको ३०४ पृष्ठ रहेको उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपन्यासबारे अर्का पत्रकार कुमार रञ्जितले टिप्पणी गरेका थिए। यसअघि ‘यथार्थ’ कथा संग्रह प्रकाशित गरिसकेका श्रेष्ठको थुप्रै साहित्यिक रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।