मनिषको गोलमा नेपाललाई थ्री नेसन्स कपको उपाधि

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ।
प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो।
घरेलु दर्शकमाझ नेपालले निर्धारित ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गरेको थियो।
नेपालका लागि मनिष डाँगीले ८७ औ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए जुन अग्रता नै नेपाललाई उपाधि दिलाउन पर्याप्त बन्यो।
दशरथ रङ्गशालामा ९ हजार बढी दर्शकमाझ बराबरी उन्मुख खेलमा मनिषले डिबक्स भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।
यसअघि खेलमा सुरुवाती अग्रता भने पहिलो हाफमा लाओसले लिएको थियो।
पहिलो हाफमा दबाबमा परेको नेपाल विरुद्ध लाओसले १७ औ मिनेटमा साङ्भिलेको गोलमार्फत अग्रता बनाउन सफल भएको थियो।
डिफेन्सको कमजोरीको फाइदा उठाउँदै लाओसले अग्रता लिएको थियो।
तर आयुष घलानले २४ औ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
उनले एरिक विष्टको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्दा नेपाल खेलमा फर्किएको थियो।
त्यसलगतै नेपालको अर्को एक प्रहार पोस्टमा लाग्दा सम्भावित अग्रताबाट चुकेको थियो।
तर पहिलो हाफमा लाओसले नेपाल विरुद्ध तुलनात्मक रुपमा दबाब सिर्जना गरेको थियो। तर दोस्रो हाफमा नेपालले खेललाई आफ्नो पकडमा राख्न सफल भएको थियो। प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।