प्रतियोगिताको सर्वोत्कृष्त खेलाडी बने आयुष घलान

काठमाडाैँ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालका आयुष घलान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल, लाओस र भुटान समिलित प्रतियोगिताको फाइनल खेलमा नेपाल र लाओस बिच प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले २–१ ले लाओसलाई हराउँदै विजेता बन्न सफल भएको थियो।
फाइनलमा लाओस विरुद्ध बराबरी गोल गरेका आयुष प्लेमेकरका रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजित गर्दै उपाधि जित्दा घलानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १ गोलले पछि परेको अवस्था उल्टाउँदै बराबरी गोल गरेका थिए। उनले अघिल्ला दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष डाँगी भने फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका थिए।
प्रतियोगिताको विजेता नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो बनेको लाओसले ३ हजार डलर प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आयुष घलानले ५ सय अमेरिकी डलर हात पारे।