
पोखरा – बैंक तथा वित्तीय संस्थाको ताकेताले त्रसित बनाएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन्। सरकारले नीतिगत रुपमा नसमेटेका कारण देखाउँदै बैंक तथा वित्तीय संस्था चैत मसान्तको त्रैमासिक अन्त्यसम्म कर्जाको हिसाब मिलान गर्नुपर्ने भन्दै ताकेता गरेपछि त्रसित भएको उनीहरुको भनाइ छ।
जसकारण पर्यटन क्षेत्रबाट पलायन हुनुपर्ने स्थिति सिर्जना भएको व्यवसायीको दाबी छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘निरुत्साहित व्यवसायी आतंकित र पलायनको बाटोमा छन्। दायित्वको बोझले डिप्रेसनको सिकारसमेत हुन थालेका छन्।’
सरसापट गरेर व्यवासय धान्ने अवस्था नहुँदा सडकमै आएको श्रेष्ठले गुनासो गरे। उनले भने, ‘वास्तवमै अब त सापटी माग्ने ठाउँ पनि छैन। हाम्रो व्यवहारले हामी सडकमा आईसक्यौ भन्ने अवस्थामा पुगेका छौं। हाम्रो अभिभावक कहाँ छ ? कहिले सम्म यो अस्थिरता ?’ सरकारले राजनैतिक निर्णय गरेर भए पनि व्यवसायीलाई संरक्षण गर्नुपर्ने उनले बताए।
दुःखका साथ भन्नु पर्दा हामीलाई व्यवसाय धान्ने सञ्जिवनि बुटिको आवश्यक छ। जव सम्म त्यो बुटि पाँइदैन, तवसम्म पर्यटन व्यावसायीको पुनरुत्थानमा निम्न अनुसारको व्यवस्था गरिदिनसमेत हार्दिक अनुरोध गर्दछौँ,’ उनले भने।
व्यवसायीले दायित्वलाई मिलान गर्ने अवस्था नरहेकोले कर्जाको भुक्तानी तालिकालाई अर्काे असार मसान्तसम्मलाई पुर्नतालिकीकरण गर्नुपर्ने व्यवसायीको माग छ। पुनर्कर्जा कोष, पुर्नतालिकीकरण र व्यवसायी निरन्तरता कोषको समयावधि न्यूनतम ३ वर्ष हुनुपर्ने उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि राहत मिल्ने आशामा भए पनि सरकारले तदारुकता नदेखाएको श्रेष्ठले गुनासो गरे।
७ प्रतिशत ब्याजमा लिएको ऋण बैंकले १६/१७ प्रतिशतसम्म पु¥याएको र सरकारले कुनैै पुनरुत्थानका कार्यक्रम पनि नल्याउँदा धेरै व्यवसायी सडकमा आइपुगेको व्यवसायीको भनाइ छ। पश्चिमाञ्चल होटल संघ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लगायत पर्यटनसँग सम्बन्धित एक दर्जन संघसंस्था प्रतिनिधित्व गर्दै पोखरा पर्यटन परिषदले बैंकलाई कर्जा तिर्नुपर्ने समय सीमा लम्ब्याउन माग गरेको छ।