मोबाइल व्यापारीदेखि ठेक्का-पट्टाका डनसम्म बनेका रोय जब ‘डेथ अफ अ सेल्समेन’को वीरेनप्रताप बने

एकदिन रंगकर्मी रोय श्रेष्ठलाई वरिष्ठ रंगकर्मी अनुप बरालको फोन आयो। बरालले नयाँ नाटकमा सानो भूमिका गरिदिन अनुरोध गरेपछि रोय हौसिए। राेय  रंगकर्मी बरालकै विद्यार्थीसमेत हुन्।  उनी बरालको टिममा जोडिन पाउनुलाई ठूलो उपलब्धी ठान्छन्।

‘उहाँसँग काम गर्ने अवसर गुमाउन कहिल्यै नपरोस् भन्ने लाग्छ मलाई। त्यसैले एक बिजनेसमेनको छोरोको सानो भूमिका सुनेरै हौसिएको थिएँ, हुन्छ भनेँ’, त्यो दिन सम्झिए उनले।

हप्ता दिनपछि बरालकै फोन आउँदा रोयले सम्झिए- नाटकको वर्कशपको समय तालिका भन्न फोन गर्नु भएको होला। तर रंगकर्मी बरालबाट उनले सोचेको भन्दा भिन्न कुरा आयो। त्यो थियो- विश्व प्रसिद्ध अमेरिकी नाटककार आर्थर मिलरको विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्समेन’ को मुख्य पात्र विली लोम्यान अर्थात् ‘यौटा सपनाको अवसान’को वीरेनप्रताप कार्कीको भूमिका गर्नलाई। रोय एकछिन अकमक्क परे।

याैटा सपनाकाे अवसान नाटक मञ्चनकाे क्रममा दिया मास्केसँग राेय श्रेष्ठ।

आत्महत्याको प्रयास गर्दै आएको र मानसिक समस्यामा गुज्रिरहेको पात्र (वीरेनप्रताप)को मानसिक उल्झनलाई न्याय गर्न कस्सिए रोय। उनी पहिला त केही डराएका थिए। भन्छन्, ‘पहिला त म डराएको थिएँ, पछि हिम्मत आयो।’ ३२ वर्षीय रोयले साठी वर्षीय वीरेनप्रतापले गरेको संघर्ष र चालिसको उमेरमा देखेको सपनालाई सँगसँगै लिएर हिँडेको छन्।

‘त्यो कस्तो नाटक होला, जसमा मलाई मुख्य भूमिकामा सोच्दै हुनुहुन्छ’, त्यतिखेरको आफूले सोचेको कुरा उनले दोहोर्‍याए, ‘कम्पनीको मालिकको छोरोको भूमिकापछि जब सेल्समेनकै भूमिका आयो, म त छाँगाबाटै खसेजस्तो भएँ।’

हुन त रंगकर्मी बरालले सेल्समेन वीरेनप्रताप कार्कीको भूमिकाका लागि चल्तीका कलाकार नै खोजेका थिए। तर सोचजस्तो कलाकार पाएनन्। पाएका कलाकारले समय दिएनन्। संयोगवश बरालको आँखामा वीरेनप्रताप देखिए, रोय।

७० वर्षअघिको अमेरिकी समाजमा एउटा सेल्सम्यानले देखेको घरको सपना, केटाकेटीको भविष्य र श्रीमतीलाई खुसी तुल्याउन गरेको संघर्ष। जीवनभरि सेल्सम्यान (विक्रेता) रहेको वीरेनप्रतापको जीवनमा उत्रो परिवर्तन आउँदैन, जति उसले संघर्ष गर्छ। उसले सामान बेचेर साहुलाई धनी बनाउँछ, तर आफू सधैँ आर्थिक समस्यामा फसिरहेको हुन्छ । नाटक अगाडि बढ्दै जाँदा वीरेनप्रतापले अस्तित्वमा नभएको आवाज सुन्ने र पात्र देख्ने गर्न थाल्छ।

आत्महत्याको प्रयास गर्दै आएको र मानसिक समस्यामा गुज्रिरहेको पात्र (वीरेनप्रताप)को मानसिक उल्झनलाई न्याय गर्न कस्सिए रोय। उनी पहिला त केही डराएका थिए। भन्छन्, ‘पहिला त म डराएको थिएँ, पछि हिम्मत आयो।’ ३२ वर्षीय रोयले साठी वर्षीय वीरेनप्रतापले गरेको संघर्ष र चालिसको उमेरमा देखेको सपनालाई सँगसँगै लिएर हिँडेको छन्।

‘वीरेनप्रताप कार्की बन्नु मेरा लागि संयोग मात्रै होइन, यो त निर्देशक गुरु अनुप सरले उठाउन खोजेको चोखिम पनि हो’, उनले भने।

थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटक डेथ अफ अ सेल्समेन अर्थात् ‘यौटा सपनाको अवसान’का मुख्य पात्र वीरेनप्रताप कार्कीको भूमिका र रोयको अभिनय यात्रा धेरै मिल्दाजुल्दा छन्, जुन निकै संघर्षपूर्ण छ।

गाउँबाट भाग्नु पर्‍यो

सिन्धुपाल्चोकको खरिढुंगा जन्मिएका रमेश श्रेष्ठ उर्फ रोय माओवादी सशस्त्र जनयुद्ध चरम उत्कर्षमा पुग्दा बालखै थिए। कक्षा सातमा पढ्दै गरेका रोयका दिन गाउँको चोकमा बुवाले चलाउँदै आएको खाद्यान्न पसलमा बढी बित्थ्यो।

गाउँमा हुने सांस्कृतिक कार्यक्रम तथा दसैं/तिहारमा हुने कार्यक्रममा नाटक मञ्चन गरिन्थ्यो। त्यो नाटक लेखन निर्देशन भने उनकै भिनाजुको हुन्थ्यो। शारीरिक संरचनाका हिसाबले केही अग्ला र खाइलाग्दा देखिने रोयलाई भिनाजुले अभिनय गर्न भन्थे। उनी अभिनय गरिदिन्थे।

सानैदेखि नाटकमा चस्का लगाइदिने भने उनकै बुवा थिए। उनका बुवाले गाउँमा हुने जनचेतनामूलक नाटकमा सानोतिनो भूमिका गरिरहन्थे। उनी भन्छन्, ‘मलाई सम्झना भएसम्म बुवाले आधा दर्जन जति नाटकमा अभिनय गर्नु भाथ्यो।’

स्कुल, घर र वर्षमा हुने नाटकमा अभिनय गर्न पाउँदा रोयलाई टेलिभिजनको पनि लत बस्यो। छिमेकीको घरमा भएको टेलिभिजन हेर्न दैनिक जस्तो जान्थे उनी। कहिलेकाहीँ पसलबाट पैसा चोरेर पनि लैजान्थे। ‘हाम्रो घरमा टिभी थिएन, एक दुई रुपैयाँ तिरेपछि छिमेकीको घरमा ब्ल्याक एन्ड ह्वाइट टिभीमा शनिबार-शनिबार फिल्म हेर्न पाइन्थ्यो’, उनले सम्झिए।

‘बुवालाई बिस्तारै माओवादीप्रति लगाव हुन थालेपछि आर्मीले बुवालाई भारी बोकाएर हिँडाउन थालेको मैले देखेँ। धेरै केरकार गर्‍यो। आफ्नोभन्दा पनि सन्तानको भविष्यका लागि आखिर बुवाले भक्तपुर दिदी भिनाजु कहाँ ल्याएर राखिदिनु भयो’, उनले ती दिन सम्झिए।

छोराछोरीको पढाइ बिग्रिन्छ भनेर उनका बुवाले टिभी ल्याउने हिम्मत गरेका थिएनन्। जब घरपरिवार सबैले टिभी ल्याउन किचकिच गरेपछि उनकाे घरमा पनि टिभी भित्रियो। संयोग भन्नुपर्छ घरमा टिभी भित्रिएको केही समयपछि उनी गाउँमै बस्न पाएनन्। उनलाई गाउँघर छुटेको भन्दा पनि टिभी छुटेकोमा साह्रै पीर परेको थियो।

चोकमा पसल भएका कारणले केही नयाँ नौलो मान्छेहरू सोधपुछका लागि पहिला उनकै पसलमा आउँथे। त्यसरी सोधपुछ गर्न आउनेहरू सबैभन्दा माओवादी र राज्य पक्षका आर्मी तथा पुलिसहरू थिए।

एक घर, एक व्यक्ति माओवादीमा लैजाने हल्ला सनसनी भएको थियो गाउँमा। धेरै अभिभावकले आफ्ना बालबच्चा द्वन्द्वबाट जोगाउन गाउँ छोड्न थालेका थिए। तर रोयका परिवारले गाउँ छोड्न सकेनन्।

‘बुवालाई बिस्तारै माओवादीप्रति लगाव हुन थालेपछि आर्मीले बुवालाई भारी बोकाएर हिँडाउन थालेको मैले देखेँ। धेरै केरकार गर्‍यो। आफ्नोभन्दा पनि सन्तानको भविष्यका लागि आखिर बुवाले भक्तपुर दिदी भिनाजु कहाँ ल्याएर राखिदिनु भयो’, उनले ती दिन सम्झिए।

माओवादीको डरसँगै व्यापार खस्कियो। गाउँमा बस्न पनि डर भयो। रोय भने दिदी भिनाजुको निगरानीमा भक्तपुर बस्न थाले। र ठिमीको एक विद्यालयमा पढ्न थाले। भक्तपुरको ठिमीमा अध्ययन गरे पनि फिल्मलाई बिर्सिन सकेनन्। स्कुलको खाजा खाने पैसा बचाएर उनी गुण सिनेमा घरमा गएर फिल्म हेर्थे। फिल्मका लागि उनी भोक बिर्सिदिन्थे। दिदीलाई फकाएर पैसा माग्थे।

दैनिक दुई रुपैयाँ तिरेर स्कुलघर गए पनि उनी एक्लै-एक्लै लुकेर फिल्म हेर्थे। फिल्मका पात्रहरूले गरेको अभिनयलाई ध्यानले हेर्थे। यसरी नै दिनहरू बित्दै गएपछि उनले एसएलसी दिए। फर्स्ट डिभिजनमा पास भएपछि उनलाई साइन्स पढ्न दबाब दिइयो। उनी भन्छन्, ‘कि आइएस्सी पढ्नू कि आर्मी या प्रहरी हुनू भन्ने दबाब आउन थाल्यो तर मलाई अभिनय पढ्न मन थियो, त्यो पाइनँ।’

बुवाआमा र दिदी भिनाजुको करकापपछि उनले बायोलोजीमा आइएस्सी गर्न कस्सिए। प्लस टु अध्ययनकै क्रममा पहिलो वर्ष ब्याक लाग्यो। दोस्रो वर्ष कोचिङ पढ्न बागबजार आए। थुप्रै साथीहरू पनि बनाए। यसरी १२ कक्षाको परीक्षा दिन नसकिने भएपछि चोरेर पास हुने सपना देखे। त्यो चोराइ सफल हुन सकेन। उनी पक्रिए। स्कुलबाट निलम्बितसमेत भए।

पढाइ छुटे पनि बागबजारतिर मोडलिङ कक्षाको अफिस देखेको ठाउँमा सोधपुछ गर्थे। एकदिन मोडलिङमा लाग्न १० हजार पैसा फोन गरेर बुवासँग मागे। तर बुवाले कि आर्मी बन्नू कि बिजनेश गर्नू भनेपछि उनको रहर मर्‍यो।

‘कि पढ्नू कि आर्मीको तयारी गर् नत्र बिजनेश गरे भनेर बुवाले फोन राखिदिनु भयो। मोडलिङमा छिर्ने रहर पनि मर्‍यो’, उनले भने।

‘खासमा मलाई पढ्नु नै थिएन। त्यसपछि अलिकति पढाइको दुःख कम भयो भनेको त बुवाले नपढ्ने भए बिजनेश सुरु गर् कि आर्मी हुनू भन्नुभयो’, उनले ती दिन सम्झिए, ‘पछि भिनाजु ठेकेदार भएकाले उहाँकै पछिपछि लागेर काम गर्न थालेँ।’

ठेक्का-पट्टाको लत

आफूलाई बदल्न निकै समय लगाउने गुण हुँदोरहेछ मानिससँग। सकेसम्म आफूलाई बदल्न झट्पट् सक्दैनन्। बदल्न चाहे पनि कोसिसहरू बिफल हुन्छन्, यस्तै प्रयास गर्दा रोयले धेरै हन्डर खानु पर्‍यो। सहरमा भड्दो भीडभाडसँगै उनको शारीरिक संरचना पनि सुगठित बन्दै गयो। खाइलाग्दो शरीर पाएका रोयको अर्को ‘गड गिफ्ट’ ‘स्वर’ पनि हो। उनको स्वर भारी छ।

त्यो स्वर ठेक्का-पट्टामा काम लाग्यो। चर्को बोलेर काम लगाउन पाइन्थ्यो। सहरमा कहलिएको ठेकदार थिए घनश्याम शाक्य, जसको हात समाएर गाउँमा नाटक गर्थे उनी। आफ्नै भिनाजु ठेकेदार भएपछि उनैको ‘राइट ह्यान्ड’ भएर ठेक्का-पट्टामा संलग्न भए रोय।

सरकारी टेन्डरहरू पारेर भौतिक निर्माण गर्ने ठेकेदारको सालो भद्रकालीस्थित आर्मीका प्रिय बने। उनी सम्झिन्छन्, ‘एघार पढ्दै गर्दा भिनाजुको नजिकको मित्र एक आर्मी अफिसरले छिटो आइएस्सी सक तिमीलाई लेफ्टिनेन्ट बनाउने काम मेरो भयो भन्नुहुन्थ्यो। म हाँसेर टारिदिन्थेँ, किनकि मलाई आर्मी बन्नु नै थिएन।’

यस्तैमा भिनाजुसँगै लागेर जनकपुर जिल्लाको अञ्चल अस्पताल बनाउन पुगे। पोखराको फुलबारी व्यारेकभित्र स्कुलको होस्टल बनाउन पुगे। बनेपामा पनि केही सरकारी भवन र पुल बनाए। यसरी उनले चार वर्षजस्तो ठेकदारी कामको अनुभव लिँदै गए। तर रोयको ठेक्का-पट्टा झगडालु बन्दै गयो।

‘सरकारी टेन्डर पार्न सकेसम्म हानथाप हुन्थ्यो। भिनाजु पनि त्यसमा जोर गर्नु हुन्थ्यो। त्यसका लागि मलाई २ सय जना केटाहरू बनाउनु पर्थ्याे। सल्लाहले नदिए घुमारो बाटोबाट डेन्टर आफ्नो कम्पनीलाई पार्नु पर्थ्याे। कसकसलाई पैसा दिनुपर्छ त्यो जिम्मा पनि मेरो नै हुन्थ्यो’, उनले ती दिन सम्झिए, ‘१९-२० वर्षको उमेरमै ठेकदारी गर्न लागेर झगडा गर्ने लत बस्दै गयो।’

ठेक्का-पट्टाबाट जब गतिलो पैसा हात लाग्न थालेपछि उनको भिनाजुले ठूलो-ठूलो टेन्डर पास गराउने रोयको सहारा लिन्थे। रोय भिनाजुले देखाएको बाटोमा अन्देखा हिँडिरहेका थिए। एकदिन उनी चौतारामा धन्नै काटिएनन्। २ सय जना केटाहरूले उनलाई मार्न घेरेको सम्झिँदा उनी अहिले पनि तर्सिन्छन्। बन्देउडाँडाबाट भागेर उनी महिनौँ सहरको गल्लीभित्र लुकेर बस्नु पर्‍याे।

झगडाबाट टाढिन सहयोग पुर्‍याएको अभिनयको भोकले नै थियो उनलाई। उनी भन्छन्, ‘कयौँ पटक झगडा मसँग ठोक्किन आउँथ्यो। अरू कसैको झगडामा गएर म छुट्याउन खोज्थेँ त्यहाँ मै दोषी हुन्थेँ। मैमाथि खनिन्थे। मेरो स्वर पनि लाउड भएका कारण त्यो वातावरण हुन्थ्यो सायद।’

ठेकेदारीमा उनको लत अमिताभ बच्चनको स्वर पाएका ‘एंग्रिमेन’ जस्तो देखिएका थिए। जहाँ पनि झगडा गर्न तम्सिहाल्ने उनी। कसैलाई नगन्ने। कसैले हेपेर बोल्यो कि पिटिहाल्ने। यही सल्लाहघारीमा एउटा बाँसको बार भत्काएको कारण सिंगो गाउँबाट पिटिनु परेको थियो उनले। ‘म नभागेको भए बाच्थिनँ’, उनले भने।

रोयलाई बाल्यकालमा भिनाजु लगायतका मानिसले ‘काजी’ भनेर सम्बोधन गर्थे। मारपिटमा अगाडि सार्थे उनलाई। कि पिट्थे कि कुटाइ खान्थे उनी।

झगडा गर्न नचाहेर पनि झगडामा मुसिन पुगेको थुप्रै घटना छन् रोयसँग। जहाँ लफडा गर्न थाले पनि उनलाई रोक्थ्यो आफैभित्रको मनले। मनले भन्थ्यो, ‘एक्टर बन्छु भनेर सोचेको छु, कतै अनुहारमा खत पर्ने गरी लाग्यो भने के हुन्छ?’ झगडाको लागि तयार भएर हात हाल्न जाँदा पनि कलाकारको भूतले उनलाई अर्कै लोक पुर्‍याउने, लड्ने हिम्मत हराउँथ्यो। आफूलाई लड्नबाट रोक्ने गतिलो औषधी बनेको थियो अभिनयको लत।

झगडाबाट टाढिन सहयोग पुर्‍याएको अभिनयको भोकले नै थियो उनलाई। उनी भन्छन्, ‘कयौँ पटक झगडा मसँग ठोक्किन आउँथ्यो। अरू कसैको झगडामा गएर म छुट्याउन खोज्थेँ त्यहाँ मै दोषी हुन्थेँ। मैमाथि खनिन्थे। मेरो स्वर पनि लाउड भएका कारण त्यो वातावरण हुन्थ्यो सायद।’

झगडालाई रोक्नकै लागि उनले ठेक्का-पट्टाको कारोबार छोडे। भिनाजुसँग हिँड्नै छोडे। तिनलाई साथ दिने साथीहरूले उनलाई धेरै घचघच्याए तर उनी फर्किन चाहेनन्। ‘ठेक्कापट्टा र झगडा त्याग्नका लागि म एक्लै हिँड्न थालेँ। तर घरपरिवारले बिग्रिएको छोरो देख्यो’, उनले सम्झिए।

मोबाइल पसल खोले

छोरो बिग्रियो भनेर घरमा चिन्ता गर्न थालेपछि उनले साउदी जाने निर्णय गरे। तर उमेर कम भएकाले कागजी प्रक्रियाहरू सबै अधुरो रह्यो। विदेश जाने रहर पनि मर्‍यो उनको। दुई वर्ष यत्तिकै बिताइरहेका रोयलाई उनका माइलो भिनाजु धर्मकुमार शाक्यले मोबाइलको व्यापार गर्न हौसाए। उनले नाइनास्ती गरेनन्।

‘म २१ वर्ष तीन महिनाजस्तो थिएँ। यस्तैमा चाइनाबाट आफ्नै ब्राण्ड नाम राखेर भिनाजु महाबौद्धमा बेच्नुहुन्थ्यो। मलाई पनि पसल खोल्दिनु भयो। चलाएँ’, उनले भने। तर उनी महाबौद्धको भीडभाडमा मोबाइल बेचेर, पैसा कमाएर खुसी हुन सकेनन्। मोबाइल पसल चलाउँदै उनी मोडलिङका लागि र्‍याम्प सिक्न थाले।

मोबाइल पसलमा चिनजान भएका चलचित्र निर्देशक सचिन श्रेष्ठसँग दोहोर्‍याएर बागबजारमा भेट्न पाए। निर्देशक श्रेष्ठ उनका मोबाइल पसलका ग्राहक थिए। यसरी चिनजान भएका श्रेष्ठले रोयलाई धेरैपटक म्युजिक भिडियोमा काम गर्न अनुरोध पनि गरेका थिए, तर अभिनय नै सिकेको छैन भन्दै टारिदिन्थे रोय।

फिल्म मेकिङ पढेर आएका श्रेष्ठले रोयलाई अभिनय सिक्न रंगकर्मी अनुप बरालको नाम र नम्बर दिए। रोयले तुरुन्तै फोन गरे। कक्षा सुरु हुन दुई दिन बाँकी रहेको कुरा सुनेर उनी थप हौसिए। जे सिक्न रहर गरेका थिए त्यही भेट्याएको अनुभव गरे उनले। ललितपुरको झम्सिखेलमा कक्षा सुरु हुने खबर थाहा पाएपछि उनी भोलिपल्टै पुगे। २०१३ जनवरीबाट सुरु हुन थालेको यो नाटक कार्यशालामा अनुप बरालको विद्यार्थी भएर बाल्यकालदेखि खोज्दै आएको लतलाई निरन्तरता दिन पाए उनले।

नाटक यात्रा

रंगकर्मी बरालसँग अभिनय सिकेको तीन महिना लगत्तै नाटक ‘कथा देश’मा जोडिए। ‘भेनिसको बुढी’ भन्ने नाटकको पात्र लोप्सनको भूमिका निर्वाह गर्न पाए। नाटकमा लाग्यो भनेर घरपरिवार र दिदीभिनाजु रिसाए, चलिरहेको पसल छोडेर हिँडेका थिए उनी। ‘नाटकमा लागेपछि त मैले आफूलाई बदल्न मौका पाएँ। आफूले खोजेको यात्रा पाएँ’, उनले भने, ‘घरपरिवारले मेरो खुसीका कारण भनेका थिए होलान् तर मेरो खुसी अभिनयमा थियो।’

नाटकमा थोरै साथी भेटे, अनुज, सुरज, मनिस निरौलाजस्ता साथीहरूसँग उनको संगत भयो। ‘एक्टर ग्रिल्स’ भन्ने समूह बनाए, जसमार्फत् केही काम पनि गरिरहेका छन्। यही समूहले अनामनगरस्थित मण्डला थिएटरको स्टोर रूममा एक नाटकको तयारी गरिरहँदा मण्डलाका दयाहाङ राई र राजन खतिवडाले दुई घन्टा स्टेज उपलब्ध गराइदिएका थिए तर अचानक बरालले निर्देशन गरेको नाटक ‘कोर्ट मार्सल’का लागि ‘ब्याक स्टेज’मा काम गर्ने अवसर आयो। उनीहरूले मण्डलाको स्टोर रूम छोडिदिए।

रोयले नाटकमा मात्रै नभएर फिल्ममा पनि फिट छन्। उत्सव, शब्द, दोखमा अभिनय गरेर आफ्नो छाप छोडिसकेका छन् उनले। ठेकेदारी दिनमा गरेको दादागिरीलाई उनले दोखमा नाइके‍ पात्रमार्फत् जोड्न पाएका थिए।  बुवाको व्यापारलाई अहिले यौटा सपनाको अवसानमार्फत् जोड्न पाएको उनी बताउँछन्।

‘कोर्ट मार्सल नाटकमा ब्याक स्टेजमा काम गर्न हामी आफूले आँटेको नाटक छोडेर गएका थियौँ किनकि हामीलाई सिक्नु थियो’, उनले भने। कोर्ट मार्सलमा काम गर्ने क्रममा रोयले राजेश हमालको गार्डको भूमिका पाएका थिए। मात्र ठिङ्ग उभिने। राजेश हमालको गार्ड भएर उभिने क्रममा उनको फोटो पनि सँगसँगैजस्तो आयो।

फोटो देखेर उनको मन चंगा भयो। बुवा बिरामी भएका दिनहरूमा राजेश हमालसँग उभिएको फोटो छापिएको देखाएर बुवालाई खुसी सुनाएका थिए उनले। संयोग भन्नुपर्छ- त्यो खुशी सुनाएको केही दिनपछि उनका बुवालाई क्यान्सरले लग्यो। नाटक कोर्ट मार्सल चलेको तेह्र दिनमा उनले बुवा गुमाए। उनको ठाउँमा सुरज मल्लले खेलिदिए।

‘बुवाको खुसी मजाले फुल्न नपाउँदै जानु भयो, बुवाको अभाव खट्किएर हो कि डेथ अफ अ सेल्समेनको वीरेनप्रताप कार्कीको भूमिका गर्दा बुवालाई नै सम्झिरहेको छु’, राेयले भने।

रंगकर्मी बरालसँग चिया खाँदा पनि अभिनयको कक्षा लिइरहेको आभास गर्ने रोयले लामा-लामा संवाद कण्ठ गर्छन् तर कलेजमा गएर पढ्नु छैन उनलाई। भन्छन्, ‘पढ्नका लागि जन्मिएकै होइन म।’

रोयले नाटकमा मात्रै नभएर फिल्ममा पनि फिट छन्। उत्सव, शब्द, दोखमा अभिनय गरेर आफ्नो छाप छोडिसकेका छन् उनले।
ठेकेदारी दिनमा गरेको दादागिरीलाई उनले दोखमा नाइके‍ पात्रमार्फत् जोड्न पाएका थिए।  बुवाको व्यापारलाई अहिले यौटा सपनाको अवसानमार्फत् जोड्न पाएको उनी बताउँछन्।

अभिनयसँगै अहिले लगनखेलमा होटल पनि चलाउँदै आएका रोय आफ्नै बुवासँग सम्झिएर अभिनय गरेको बताउँछन्। ‘बुवासँग धेरै संगत गर्न पाइनँ। त्यो अभाव सधैं खट्कियो। यो नाटकमा बुवा भएर आफूलाई बुझाउन खोजेको छु’, उनले भने, अहिले उहाँलाई सम्झिएर अभिनय गरिरहेको छु।’

वीरेनप्रताप कार्कीको तयारी जम्मा तीस दिनको सेड्युलमा भएको थियो। यो बीचमा उनी यति अभिनयमा डुबे कि माइग्रेन बढ्यो उनलाई। अभिनय नै खास जीवन ठान्ने रोयका अनुसार महत्त्वपूर्ण पात्रको भूमिका धेरै कमले पाउँछन्। उनी भन्छन्, ‘म भाग्यमानी हुँ जसले यो पात्र गर्न पाएँ। आर्थर मिलर र सेक्सिपियरका नाटकमा भएका पात्रको भूमिका गर्न भाग्यमानी कलाकार चाहिन्छ। अहिले आफूलाई त्यस्तै मान्छे लागिरहेको छ।’

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्