ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो साता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा। फाइल तस्बिर

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन्।

उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका हुन्। उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति लुला अप्रिल ११ देखि १४ तारिखसम्म चीनमा रहने राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको हो।

जनवरीमा ब्राजिलको राष्ट्रपतिकोरूपमा सत्ता सम्हालेका ७७ वर्षीय बामपन्थी नेताको भ्रमण दुई देशबीचको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत पार्न केन्द्रित रहने बताइएको छ।

भ्रमणले दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चिसिएको बेइजिङसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने विश्वास गरिएको छ।

लुलाले ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहेको ब्राजिलका अधिकारीहरूले बताएका छन्।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्