तनहुँमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

पोखरा – वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। शनिबार जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मंसिर ४ भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको छ। निर्वाचन आयोगले उपनिर्वाचन गराउन जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत रुपमा खटाएको छ। कार्यालय स्थापनासँगै निर्वाचन प्रकृया सुरु भएको मुख्य निर्वाचन अधिकृत अचार्यले बताए।

उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाताले भोट हाल्न पाउनेछन्। १६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र तोकिएको छ।
चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चैत २३ गते उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको ठुला तीन दलले टुंगोे समेत लगाइसकेका छन्। नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नेकपा एमालेले सर्वोन्द्र खनाललाई र राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतार्दैछ। राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ। एकीकृत समाजवादी जिल्ला कमिटीले प्रतापलाल श्रेष्ठलाइ उम्मेदवार बनाउने बताएपनि केन्द्रबाट निर्णय भएको छैैन। माओवादीले कांग्रेसलाइ सघाउनेछ। तसर्थ भट्टराई, खनाल र वाग्लेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ।

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए। नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाए। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए। उनले स्वतन्त्र उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका बिकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्दा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए। त्यतिबेला ६८ हजार १५८ मत खसेको थियो।

कांग्रेसबाट साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोबिन्दराज जोशीले यो पटकको निर्वाचन नलड्ने बताएका छन्।
२०४८ सालदेखि यो क्षेत्रमा ६ पटक नेपाली कांग्रेसले जितेको छ। २०७४ सालमा भने तत्कालिन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानले रामचन्द्र पौडेललाई पराजित गरेका थिए। श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीबाट सांसद छन्। अन्तिम पटक प्रधानमन्त्री बनेर मर्ने अभिव्यक्ति दिएका रामचन्द्र पौडेललाई छाडेर किसान बारा ४ बाट निर्वाचन जितेका हुन्।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्