असन्तुष्ट पक्षको वहिष्कारबिच बसेको एन्फा कार्यसमिति बैठकले गर्यो चार निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार बसेको आकस्मिक कार्यसमिति बैठकले विभिन्न ४ निर्णय गरेको छ। वहुमत पुर्याउन तानातान हुने गरेको एन्फा कार्यसमितिले असन्तुष्ट पक्षलाई पेलेरनै निर्णय गर्दै आएको छ। शनिबार पनि उसले विभिन्न निर्णयहरु गरेको छ।

यस्ता छन् बैठकका निर्णय

प्रधानमन्त्री त्रीदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गरेको छ। साथै उसले विजयी हुने नेपाली राष्ट्रिय फुटबल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्द्मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको छ।

त्यस्तै फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने निर्णय गरेको छ। जसमा शहिद स्मारक बि डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई रु १४,५०,००० दिने निर्णय गर्दा बी डिभिजन लिग संचालनका लागि करिब ४ करोड रकम पारित गरेको छ।

त्यस्तै जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम माग गर्ने निर्णय गरेको छ। जिल्लाको कार्यालय संचालन गर्नलाई रु २,००,००० दिने निर्णय गरेको छ। त्यस्तै जिल्लाको फुटबल सामाग्रीहरुको लागि रु १,००,००० दिने निर्णय पनि गरेको छ।

त्यस्तै एन्फाले राष्ट्रिय खेलकुद परिषद्सँग बजेट माग गर्ने प्रधानमन्त्री त्रीदेशिय फुटबल प्रतियोगिताको पुरस्कार स्वरुप प्राप्त हुने ९,५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोबास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको छ।

साथै उसले फिफाको सहयोगमा निर्माण गर्ने पुर्वाधारको कार्यक्रम बारे सम्भावना, सहभागिता र जग्गा प्राप्तीको अवस्था वा जग्गा भाडामा प्राप्त गर्ने अवस्थालाई हेरि आगामी दिनमा फुटबल मैदान निर्माणका लागि संघसँग आवद्ध जिल्ला संघहरु र क्लबहरु लगायत सदस्य संस्थाहरुलाई आन्तरिक रुपमा पत्राचार गरि प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्