गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’ सार्वजनिक

काठमाडौँ – आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार राजधानीको मण्डला थिएटरमा विमोचन गरे।

कार्यक्रममा आख्यानकार न्यौपानेले भने, ‘कथानकको संरचनामा नौलो प्रयोग र काल्पनिकता उपन्यासको विशेषता हो। सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने उनको ट्रेन्ड हो। यो उपन्यासमा नेपालीमा लेखिएका कथाभन्दा नवीन शैली छ।’

उनले थपे, ‘लेखकले असामान्य कथालाई सहज ढंगले लेखेका छन् । उपन्यास पढेपछि पाठक सुन्दर सन्तुष्टिमा हराउँछ।’

कल्पनाशीलता र प्रयोगधर्मीतामा उपन्यास अब्बल भएको पत्रकार सापकोटाले बताए। ‘उपन्यासको कथानक, चारित्रीकरण, प्रयोग, शैली उद्देश्यपूर्ण र अर्थपूर्ण छ। विसंगत पाटोको कथालाई अध्यारो स्वरुपमा भनिएको छ’, सापकोटाले भने, ‘पात्रहरु भ्रान्त पथिक छन्, विपरित चिन्तनले भरिएको विभ्रान्त अवस्थामा छन्। उपन्यासको निर्मिति भिन्न छ।’

समालोचक अधिकारीले ‘चिसो बाफ’ नेपाली साहित्यमा सुन्दर ढंगले लेखिएको प्रयोगपरक आख्यान बनेको बताइन्। ‘प्रयोग छ, तर कथा असाध्यै सरल छ। प्रयोगधर्मी लेखन यति सरलसँग लेखिनु चुनौतीपूर्ण छ। पाठकलाई त्यही कथा बुझेजस्तो पनि, नबुझेजस्तो पनि लागिरहन्छ,’ उनले भनिन्।

विश्व साहित्यमा भइरहेका प्रयोगमाथि विमर्श गर्दै लेखक सापकोटाले प्रयोगधर्मी आख्यान लेख्न खोजेको र पाठकलाई फरक स्वाद दिन चाहेको सुनाए। उनले भने, ‘पाठकलाई लागोस्, उपन्यासका घटनाहरु सपनाजस्ता हुन् भन्ने मेरो चाहना हो।’

सापकोटाका यसअघि ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसंग्रह र ‘काँचो कागज’ उपन्यास प्रकाशित छन्। किताब कलम प्रकाशनले प्रकाशन गरेको हो। किताबको मूल्य ४४५ रुपैयाँ छ।

चैत १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्