देशको लागि खटिएका राधा र मीराहरू (भिडियो कथा)

राधा र मीरा

काठमाडौँबाट झण्डै ४५ किलोमिटर पूर्व काभ्रेको पाँचखाल नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हरेक झिसमिसेमा सैनिक परेडको मसिनो धुन चराको चिरबिरसँगै मिसिन्छ।

बिहानको ‘पिटी’ समूह चौरभरि गुजुम्म छन्। त्यही तालिमेको हुलमा अलि फरक देखिने एउटा टुकडी पनि पिटीको तयारी गरिरहेको थियो। शान्ति मिसनका लागि १४ हप्ता तालिमको लगभग अन्तिम दिन ‘पिटी’मा जुटिरहेको त्यही समूहमा भेटिए राधा गुरुङ अनि मीरा परियार बग्दास।

युएनकाे आचारसंहितासम्बन्धी कक्षा लिँदै मिसन जाने टाेली

राधा नेपाली सेनाको ‘प्यूठ’ हुन्। मीरा सिपाही। नेपाली सेनाको शान्ति मिसनको टोलीमा छनोट भएका यिनीहरूले चैत ५ गते अरुसँगै देश छाडेका छन्।

संयुक्त राष्ट्रसंघको मातहतमा अबको करिब एक वर्ष सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ‘शान्ति स्थापना’ का लागि कार्यरत रहनेछन् उनीहरू। श्री सिद्धिबक्स गणकी प्यूठ राधा गुरुङ सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा काजमा खटिएकी थिइन्।

स्वर्णपदक जितेपछि राधा गुरुङ

उनी नेपाली सेनाको एक स्वर्णपदक विजेता खेलाडी पनि हुन्। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (०७८) को एयर राइफलबाट सुटिङ प्रतियोगिताको इन्डिभिज्युअल सुटिङ इभेन्ट र टिम इभेन्टतर्फ पनि उनले एक–एक स्वर्णपदक जितेकी थिइन्।

तालिममा सहभागीहरु

सैनिक जीवनमा ९ वर्ष बिताएकी अविवाहित गुरुङ पहिलोपटक शान्ति मिसनमा जाँदै छिन्। उनीसँगै १४ हप्ता तालिम सकेर शान्ति मिसनमा उड्न तयार भएकी मीरा सैनिक ब्याण्डकी हुन्। सेनाका हरेक समारोहमा ब्याण्ड–बाजा समूहकी एक अब्बल कलाकार हुन् उनी। १० वर्ष सैनिक जीवन बिताइसकेकी उनी पनि पहिलोचोटि शान्ति मिसनमा खटिएकी हुन्।

नेपाली सेनाले हाल विश्वभरका १३ वटा मिसनमा सैनिक तैनाथ गरेको छ। नेपाली सेनाले शान्ति सेनामा महिला सैनिकलाई सन् २००० मा पहिलो पटक सामेल गर्न थालेको हो। तर, नेपालमा महिला सैनिक संख्या कम भएका कारण संयुक्त राष्ट्रसंघले सुझाएको संख्यात्मक अनुपातभन्दा कम छ नेपालको प्रतिनिधित्व।

देशभरका ९६ हजार नेपाली सेनामध्ये लगभग ७ हजार मात्रै महिला छन्। तर, सन् २०२२ जुलाईमा युएनले सदस्य मुलुकहरूलाई सन् २०२८ सम्ममा मैदानमा सुरक्षामा खटिने सैनिकमा १५ प्रतिशत र पर्यवेक्षक तथा अन्य कर्मचारीमा २५ प्रतिशत महिलाको संख्या पुर्‍याउन आग्रह गरेको छ ।

सिपाही मीरा परियार बग्दास

चैत ५ गते बेलुका काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाली सेनाको १४ नम्बर बाहिनी गेटमा भीडभाड थियो। शान्ति मिसनमा जान तयार नेपाली सेनालाई साथी अनि आफन्तहरूले बिदाइका हात हल्लाइरहेका थिए। माला, खादा र शिरमा नीलो टोपी लगाएका कतिपय आफन्तको अँगालोमा थिए त, कतिपय साथीभाइको।

त्यही हुलमा राधा र मीराहरू पनि थिए। आफन्तले बिदाइका हात हल्लाइरहँदा उनीहरूको अनुहारमा खुसी अनि पीडा दुवै झल्किन्थ्यो। ‘अर्को देशमा शान्ति स्थापनाको जिम्मेवारी पाएकोमा खुसी छौँ’, राधा अनि मीराहरू भन्दै थिए, ‘मातृभूमि र आफन्तहरूसँग टाढा हुनुपर्दा दुःख पनि लाग्छ।’ तर जिम्मेवारीसँगै हरेक सैनिक मुहारमा फुल्ने गर्विलो मुस्कान पनि थियो उनीहरूसँग।

राधाका बाबुआमाका साथ मीरा र राधा

बाहिनीपति सहायकरथी नारायण सिलवालले सम्बोधनसहित बिदाइ गरेपछि उनीहरू गेटमा कुरिरहेका आफन्तको अँगालोमा बाँधिए। राधालाई उनकी आमाले देखेपछि कसिलो अंकमाल गरिन्। बुवाको आशीर्वाद थापिन्। राधा आमा र बाबुसँग कुरा गर्दै थिइन् भने मीराचाहिँ आफन्तहरू खोज्दै थिइन्। तर, देखिरहेकी थिइनन्। केही समयअघि छोरोलाई मातृत्व प्रेमको कसिलो अंकमाल गरेर उड्न लागेकी मिराका आफन्त भने त्यहाँ कोही थिएनन्। फोन गर्दा उनीहरू घर फर्किसकेको थाहा पाइन्। त्यसपछि उनी राधाकै आमा, बाबुसँग कुरा गर्न थालिन्। राधाकी आमाले पनि मीरालाई राधालाई जसरी अंकमाल गरिन्। राधा आफ्नो आमालाई सम्झाउँदै थिइन् भने उनका बाबुले राधालाई। केही समयपछि अन्तिम बिदाइसँगै राधा र मीराले राधाका आमाबुवालाई ट्याक्सीमा चढेको देखे। आमाबुवा पर पुग्दासम्म विमानस्थलतिरै नजर थियो उनीहरूको। राधाकी आमाले आफ्नो सन्तान बिदाइ गर्दै थिइन् भने मीरा आफ्नो सन्तानलाई छाडेर जाँदै थिइन्।

प्युठ राधा गुरुङ

रात परिसकेको थियो। ‘आमा पनि हुँ नि!’ टिलपिलाउँदै गरेका आँसु सम्हाल्दै मीराले भनिन्, ‘तर यो हाम्रो जिम्मेवारी पनि हो। एउटा सिपाहीले पाएको जिम्मेवारी निभाउनैपर्छ।’ उनका श्रीमान् पनि नेपाली सेना हुन्। उनी सैनिक ब्याण्डमा कार्यरत छन्। मीराले अब एक वर्षपछि मात्रै आफन्त, श्रीमान् अनि छोराहरूलाई भेट्नेछिन्। छुट्टिनुको पीडासँगै एक वर्षपछि हुने मिलनको आशा पनि उनको मुहारमा झल्किरहेको थियो। ‘पहिलो कुरा त जिम्मेवारी हो नि!’ मधुरो मुस्कानमा उनले भनिन्, ‘परिवारको मिलन त मिसनपछि भइहाल्छ।’

मीरा परियार बग्दास

राधाका बुवा पनि पूर्व नेपाली सैनिक हुन्। आफूले अवकाश पाएपछि उनले छोरीलाई पनि सेनामै भर्ना गरे। सैनिक जीवनका धेरै कुरा त राधाले बुवाबाटै सिकेकी छन्। ‘देशका लागि जिम्मेवारी बोकेर हिँड्न बुवाले सिकाउनुभएको हो,’ उनी भन्छिन्, ‘यो मिसन पनि देशकै जिम्मेवारी हो। हामी यसलाई पूरा गरेर फर्किनेछौँ।’

चैत ५ गते शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक जानुअघि छाेरासँग सिपाही मीरा परियार बग्दास।

अलि पारि विमानस्थलको पार्किङमा उनीहरूलाई लैजान इथियोपियन एयरलाइन्सको जहाज पर्खिरहेको थियो। चैत ५ गते राति ११ बजेपछि प्रमुख सेनानी रितबहादुर रानाभाटले कमान्ड गरेको १६८ को नेपाली सैनिक टोलीमा सामेल हुँदै राधा र मीराहरू पनि उडे नेपाली सेनाको शान्ति मिसनको जिम्मेवारी लिएर।

भिडियो:

चैत २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्