२०८० सालमा कस्तो छ देश र तपाईंको भविष्य?

नव वर्ष २०८० को शुभ उपलक्ष्यमा देश/विदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
श्री शाके संवत् १९४५, विक्रम संवत् २०८०, यस संंवत्सरको राजा बुध, मन्त्री शुक्र रहनेछन्। वर्षारम्भमा शुभको प्रभाव बढिरहेको छ। आ-आफ्ना जिम्वेवारी इमान्दारीसाथ पूरा गर्नेछन्। यस वर्षको संवत्सरको नाम पिंगल हो जसको फल यस प्रकार रहनेछ:
वित्तप्रकोपसर्वात्मा नानाव्याधिरनेकधा।
वाहनैश्च समायुक्तः पिंगले जायते नरः।।
पिंगल नाम संवत्सरले पित्तप्रकोप वायु विकार थरीथरीका अज्ञात रोग प्रकट हुने सम्भावना रहन्छ। बाढी, पहिरो प्राकृतिक प्रकोपले जनधनको क्षति हुन सक्छ। औषधि उत्पादनबाट राज्यले सरसहयोग गरेमा आर्थिक लाभ राम्र्र्रै हुनेछ। आधुनिक बाहानहरू देशमा भित्रिनेछन्। २०८० सालको वर्षमा राजा बुध, मन्त्री शुक्र छन्। राजा र मन्त्री दुवै एक अर्कामा मित्र भाव राख्ने अनि बुध राजा भएर शुक्रको नक्षत्रमा, शुक्र मन्त्री बनेर चन्द्रमाको नक्षत्रमा छन्। शुभ ग्रह भएकाले वर्षभरि शुभ कार्य धेरै हुनेछन्। यज्ञ यज्ञादिमा रुचि बढ्नेछ। धार्मिक पर्याटनमा लाभ उठाउन सकिने वर्ष हो। वाणिज कारक बुध राजा भएको हुँदा निर्यातमा बढोत्तरी हुनेछ। राजा मन्त्रीको नक्षत्रमा, मन्त्री चन्द्रमाको नक्षत्रमा बसेकाले महिलाशक्ति राज्य सञ्चालनमा र देश निर्माणमा पुरुषभन्दा अग्र हुनेछन्। विज्ञानमा चासो बढ्नेछ। प्राकृतिक स्रोतको खोजीमा जनचासो बढ्नेछ। यस वर्षको ग्रह गठनमा राजा र मन्त्रीलाई हेर्दा नपुंसक ग्रह राजा, स्त्रीग्रह मन्त्री पदमा आसीन छन्। राज्य सञ्चालनमा मन्त्रीको प्रभाव बढी हुनेछ। वाणिज्य कारक बुध, विज्ञान कारक शुक्रको विशेष प्रभाव रहने हुँदा वर्षको आरम्भमा अधिकार प्राप्तिका अवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन्।
धर्म र न्यायका निम्ति महिलाहरूले प्रभावशाली भूमिका निभाउन र ठोस कार्यलाई अगाडि सार्ने प्रयत्न गर्नेछन्। मन्त्री पदमा आसीन शुक्रले प्रशासनिक दक्षतालाई महिला तथा वैज्ञानिकहरूबाट निर्देशनात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ। दिग्भ्रमित भइरहेका बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू महिलाद्वारा नियन्त्रित हुने हुँदा बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुसित, मानवविरोधी जमात निस्तेज हुने सम्भावना रहन्छ।
बौद्धिक व्यक्तित्वहरूको एकताले अनैतिक कार्य गर्नेहरू विश्वभर तरंगित हुनेछन्। विचार गरौँ राजा, मन्त्री दुवै ग्रह एक अर्कामा मित्र भाव राख्ने हुँदा सैन्यशक्ति भने राज्य राष्ट्र र धर्मलाई केन्द्रमा राखी विकृति र विसंगतिलाई अन्त्य गर्न अघि बढ्न सक्छ।
राजनीतिक दलले नियन्त्रणमा लिने प्रयास गर्दा राजनीतिमा स्वेच्छाचारी बढ्ने सम्भावना रहन्छ। परिणामस्वरूप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू संगठित हुँदा शुभ ग्रहको प्रभाव बलियो रहेकाले सबैले धैर्य धारण गर्दै समन्वयतिर जोडिने प्रयास गर्नेछन्। त्यसबाट सकारात्मक प्रभावलाई बल पुग्नेछ। संयम र सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्नेछ।
यस वर्षको वर्ष प्रवेश कन्या लग्नमा भएको छ। यो द्विस्वभाव लग्न भएकाले राज्य सञ्चालकहरू द्विविधामा पर्न सक्ने सम्भावना हुन्छ। लग्नेश, चतुथेश, सप्तमेश र दशम भावको मालिकद्वारा बनेको लग्नादि योगले बलियो बनाएको छ। भाग्येश, पञ्चमेशको महत्वपूर्ण भूमिका हुन्छ। ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सबैको अवस्थालाई मिलाउनुपर्छ। वर्र्ष आरम्भ हुँदा चन्द्रमा मकर राशिमा बस्छ। नेपालको राशिदेखि तृतीय स्थानमा भएकाले शुभ हो। लग्नेश र दशमेश भई बुध वर्र्ष लग्नबाट अष्टम भावमा लग्नादि योग बनाएर रहँदा बलशाली हुन्छन्।
सप्तमेश र चतुर्थेश गुरु, जगलग्नदेखि सप्तम भावमा छन्। गुरु वर्षारम्भ हुँदाको समयमा नेपालको राशिदेखि पञ्चम भावमा अस्त छन्। वर्र्ष लग्नदेखि सप्तम भावमा बसेर लग्नमा दृष्टि दिने हुँदा देशले गति लिनेछ। नवमेशर द्वितीयेश शुक्र नवम भावमा रहेको छ। लग्नेश तथा दशमेश बुध, चतुर्थेश र सप्तमेश गुरु, पञ्चमेश शनिबाट बनेको लग्नादि योगले बलशाली बनाएको छ।
०८० सालको वर्षारम्भमा दशमभावमा सेनाधिपति मंगल मकर राशिमा, चन्द्रमा, सूर्य, बुध राहु अष्टमभावमा, शनि षष्ठ भावमा कुम्भ राशिमा रहेकाले ग्रहस्थितिले निकै उचारचढाव सामना गर्नुपर्ने छ। विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ। केही गरी सावधानी नअपनाए न्यायपालिकाले कार्यपालिकालाई कब्जा गर्न खोज्छ। यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ।
थोरै मात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ। सुजबुझसाथ काम गरे संकटबाट सहजतामा जाने उपयुक्त वातावरण बन्नेछ। यस प्रसंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्ण हुन्छ।
यस वर्ष वर्षारम्भमा लग्नादि योग मेष राशिको राहुले बनाएको छ। यसको मुख्य फल प्रायः उतारचढाव आउने हो। यस्तो समयमा संकट सामना गर्नुपरे पनि परिणाम सकारात्मक निस्कनेछ। प्रयास गरेमा वर्षारम्भको दिन चन्द्रमा देशको राशिदेखि तृतीय स्थानमा भएकाले ग्रह अति बलिया छन्। राहु र सूर्य एकसाथ ग्रहण योगमा रहनेछन्। यसलाई ग्रहका हिसाबले अशुभ कोणबाट बुझे पनि मेषको राहु र उच्च सूर्यले अष्टम भावमा लग्नादि योग बनाएर रहेको हुँदा मिलाएर हेर्दा यसबाट लाभका अवसर विशेषतः नेपालका लागि धेरै हुनेछ। वर्षको राजा र मन्त्री पदमा रहेका ग्रह वर्र्ष लग्न र देशको राशिबाट अनुकूल रहँदा शुभ मानिन्छ। मंगलको सम्बन्ध रगत, पृथ्वी, रोग, आगो, हातहतियार र सेनामा रहन्छ।
यस वर्र्ष मंगल वर्षारम्भ लग्नदेखि दशममा देशको राशिदेखि अष्टममा रहेका छन्। २०८० वैशाख २९ गतेसम्म मंगल मिथुन रहँदा राजनीतिमा संकट, आगलागी, भूकम्प, आँधीहुरीका साथै विमान दुर्घटनामा महत्वपूर्ण व्यक्तिको निधन हुन सक्छ। शुक्रको सम्बन्ध सम्पूर्ण विज्ञान, विशेषतः स्वास्थ्य विज्ञान, स्त्री, भोगविलाश, सुन्दरता, सम्भोगमा रहन्छ। वर्षारम्भमा वर्र्ष लग्नदेखि नवम र देशको राशिबाट सप्तम कूटनीतिक भावमा रहने हुँदा महिला हिंसामा अग्रसर पुरुष र महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द्व बढ्न सक्ने र संयमित महिलाहरूले उच्छृंखल पुरुषहरूलाई किनारा लगाउने देखिन्छ। मंगलले दक्षिणको, भूमिको तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा दक्षिणको चलखेल बढेर देशमा आन्तरिक विवाद हुने सम्भावना रहन्छ।
आ–आफ्नो स्वार्थले प्रेरित शक्तिको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ। यस्तो समयमा अज्ञात रोग प्रकट हुन सक्ने, चोरी, अराजक कार्य, प्राकृतिक विपत्ति आउन सक्छ।
असार ३१ गतेदेखि बक्र भएका मन्त्री शुक्र भाद्र १२ गते मात्र मार्गी हुनेछन्। सोही समयमा श्रावण १८ अस्ताउँदै भाद्र १ गते उदाउनेछन्। यस्तै श्रावण ३१ गते राजा बुध बक्री हुँदै भाद्र ६ गते अस्ताएर भाद्र २१ गते उदाउने, २३ गते मार्गी हुनेछन्। वर्र्षका राजा, मन्त्रीका बक्र योगले अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्घिक वर्गहरू सुरक्षा, शिक्षा, प्रशासनिक र न्याय क्षेत्रमा न्यायोचित मार्गलाई बेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भावना बलियो रहनेछ।
यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा मौका हेरी बसेका विदेशीको उक्साहटमा नेतृत्वहरू गलत मार्गमा लाग्न सक्छन्, राजनीतिक संकट आउन सक्नेछ। चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषमपरिस्थितिलाई धैर्यसाथ नेतृत्वले कदम चालेमा वर्षारम्भको ग्रह गोचर बलियो रहेकाले देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अवलम्बन गर्नेछ।
सचेत र सजग नभएमा विदेशीको ठाडो हस्तक्षेप हुन सक्ने बढी सम्भावना रहन्छ। त्यसकारण जनधनको क्षति हुनुको साथै अर्थतन्त्रमा ठूलो नोक्सान भई राष्ट्र असफलताउन्मुख हुन सक्छ। सत्तासमेत परिवर्तन हुन सक्छ। विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भएर ऐतिहासिक कार्य गरेर देशलाई नयाँ रूप दिने सम्भावना रहन्छ। प्रतिष्ठित व्यक्तिको निधनले राजनीतिमा संकट आउन सक्छ।
वर्ष लग्नदेखि अष्टम मेषमा राहुसहितको सूर्य, बुधले देशको आर्थिक अवस्था कमजोर हुनेछ। वर्षारम्भमा बनेको लग्नादि योगको बल वार्षान्त्यसम्म रहनेछ। यस्तो समयमा उतार चढाव धेरै आउने सम्भावना रहन्छ। तृतीय भावमा चन्द्र भाग्यभावमा शुक्र रहेको हुँदा राज्यकोषलाई मिलिजुली खाने प्रयासलाई निस्तेज गर्दै उपलब्धिमूलक कार्यमा अधिक खर्च गर्ने प्रयास हुनेछ। लग्नेशद्वारा लग्नादि भएकाले देशको आम्दानी बढाउनेछ। शिक्षा र धर्मकारक सप्तम दशमका मालिक गुरु वर्र्ष लग्नदेखि चतुर्थ, सप्तम भावको मालिक गुरु वर्षारम्भमा देशको राशिदेखि पञ्चम रहँदा शिक्षा र धर्मका नाममा राज्यकोषबाट धन लुट्नेहरूलाई बौद्धिक वर्ग र जनसमुदायबाट कडा प्रतिकार यस वर्र्ष हुन्छ। दशमेश र लग्नेश वाणिज्यकारक बुध जगलग्नदेखि अष्टम भावमा लग्नादि योग बनाएर रहँदा निर्यातको प्रयास र आयात घटाउने प्रयास हुँदा राष्ट्रिय ढुकुटी स्थिर रहने सम्भावना हुन्छ।
भाग्येश शुक्र स्वगृही भई नवम भावमा अषाढ ३१ देखि भाद्र १२ सम्म वक्र, श्रावण १८ देखि भाद्र १ सम्म अस्त हुनेछ। बुध पनि श्रावण ३१ गते बक्रश्रावण ६ गते अस्त भाद्र २१ गते भाद्र २३ सम्म अस्त बक्र हुने हुँदा यो समयमा राज्यले राज्यकोष, शक्तिको दुरूपयोग गर्न खोज्नेहरू सक्रिय हुनेछन्। वर्षारम्भमा द्वितीयेश, नवमेश स्त्रीकारक शुक्रका नवममा रहेकाले बौद्घिक महिला, युवा र धार्मिक वर्ग एकसाथ राज्य निर्माणमा जुट्नेछन्। देशद्रोहीलाई गलहत्याएर निकाल्ने सम्भावना रहन्छ। भाग्यभावमा द्वितीयेश तथा भाग्येश शुक्र हुँदा महिलाको सक्रियताले कूटनीतिक तथा वाणिज्य क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने प्रयास धेरै हुनेछ। सप्तम गुरुस्वगृही भएको हुँदा ज्ञानले प्राविधिक, विज्ञानले निर्माणमा, जोड दिने हुँदा आधुनिक शैलीबाट कृषि उद्योगका साथै अन्य उद्योग अगाडि बढाउने प्रयासका साथै धार्मिक पर्यटकको वृद्धि हुनेछ।
गुरुको अनुकूलताले वैदेशिक सम्बन्ध व्यक्तिका निमित्त हानिकारक रहे पनि देशका निम्ति भने सकारात्मक र समन्वयकारी रहनेछ। पश्चिमी शक्तिको स्वार्थले उत्तरी दक्षिणको शक्तिलाई नेपालको स्वार्थ प्रेरित बनाउन सक्छ। विवेकशील नेतृत्व भएमा त्यस बखत ज्ञान, विज्ञानमा सुझबुझसाथ अघि बढ्ने वर्ष हुनेछ।
वर्र्ष लग्नदेखि भाग्यभावमा शुक्र सप्तम भावमा, गुरु देशको राशिदेखि पाँचौँ शिक्षितहरूले शिक्षाको सदुपयोग गर्नेछन्। वर्र्ष लग्नदेखि आठौँमा रहेको राहुले विदेशी ऋण बढ्ने सम्भावना हुन्छ। केही समय बुध, शुक्र बक्र हुनेले राज्यले बाटो बिराउँदा संघर्षमा जनता आन्दोलित हुनेछन्।
बुध शुक्र राजा र मन्त्रीको संयोगले धार्मिक आवरणमा लुट्ने, धर्मलाई अपव्याख्या गर्ने, अधर्मीहरूको पराजय, सच्चा धर्म र राष्ट्रियताको जगेर्ना गर्न अग्रसर हुनेहरूको विजय सुनिश्चतजस्तै छ। नवम शुक्र नवम भावमै रहेकाले राष्ट्रभक्तहरू शक्तिशाली हुँदा राष्ट्र विरोधीहरू सल्बलाउनेछन्। बुध, शुक्र राष्ट्रको पक्षमा रहेको हुँदा यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वर्णिम युगमा प्रवेश गर्नेछ। पूर्व दिशाका अधिपति शुक्र स्वगृही, मन्त्री भई नवम भावमा बलशाली भइरहेकाले पश्चिमी देशको सहयोग एवं खबदारीले सबै वैदेशिक सम्बन्धलाई अत्यन्त सकारात्मक बनाउन बल पुग्नेछ।
प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाइलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ। यो समयमा संयम नभए देश संकटग्रस्त भई असफल वा परिवर्तनको दिशामा उन्मुख हुन सक्छ।
यस वर्र्ष बंगलादेश, श्रीलंका र नेपालका लागि राम्रो चीन, भुटान, भारत, अफगानिस्तानलाई प्रतिकूल पाकिस्तान मध्यम छ। यस वर्ष पश्चिमा मुलुकको अवस्था उतारचढाव रहनेछ। यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता बढ्नेछ। विशेष गरी समुद्री ज्वालामुखी, आँधीका कारण विश्व तरंगित हुन सक्छन्। अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाइको सामना गर्दै आफूलाई शक्तिमा उभ्याउनेछ। जापान, जर्मनले ऐतिहासिक सफलता पाउनेछन् तर प्राकृतिक प्रकोपको भागीदार पनि हुनेछन्। भारतमा आन्तरिक कलह बढ्ने, राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ। भारत र पाकिस्तान, बर्मा, भारतबीच कूटनीतिक सम्बन्ध चिसिन गई युद्ध हुन सक्छ। चीन र भारतबीच पनि खटपट हुने सम्भावना छ। चीनको अवस्था खर्चिलो, कूटनीतिक विवादले चिन्तित, अप्ठ्यारोमा पर्नेछ।
रसियामा आपसी समन्वय बढ्ने, बाह्य अक्रमण कमजोर हुने सम्भावना छ। फ्रान्स र बेलायतलाई शुभ प्रभाव रहनेछ। यस वर्ष पनि विश्व राजनीतिक ध्रुवीकरण प्राचीन र आधुनिक पक्षबीच जबर्जस्त उभिने हुँदा महायुद्ध उन्मुख हुँदै गर्दा आधुनिकतालाई प्राचीन सोचले निस्तेज बनाउन सक्नेछ।
यो वर्ष मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीन राशिलाई आद्य साढेसाती रहनेछ। कर्कट तथा वृश्चिक राशिलाई अढैया शनि रहनेछ। शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ। अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने, राम्रो भने कसैलाई नगर्ने हुन्छ।
साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पिपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँ हातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दश कदमपछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने। २ मिटर कालो कपडापछाडिबाट बगाउने, ‘मेरो शनि दोष बगोस्’ भनी बगेकोलाई नहेर्ने। यसले गर्दा शनिको दोष कम हुन्छ। यो व्यावहारिक प्रयोगले थाहा भएको हो।
मेष
यस वर्ष ग्रहगोचर समग्रमा उत्तम रहनेछ। वर्षभरि नवौँको मालिक गुरु राशिमा रहने हुँदा केन्द्रादि दोष भएर चिन्ता बढे पनि एकादशमा स्वगृही शनि एकादशेश पनि भइरहनेछ। राशिको गुरुले पञ्चम, सप्तम र नवममा दृष्टि दिने भएकाले आर्थिक एवं बौध्दिक मार्ग बलशाली रहनेछ। आँटेका कामहरूमा सफलता पाउन गाह्रो हुनेछैन। मेषको राहु राशिमा वर्र्षको उत्तराद्र्धसम्म रहने हुँदा धैर्य गरेमा अपनाउँदा अनुसन्धानको नयाँ कामको आरम्भ हुनेछ। अरूको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनीतिक कार्यमा विशेष लाभ मिल्नेछ। भाग्य मजबुत हुनाले धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेजस्तै मिल्नेछ।
नयाँ प्रेममा प्रवेश एवं प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितहरूलाई विवाह बन्धनमा जोडिने अवसर मिल्नेछ। विवाहितहरूका लागि पुत्रलाभको अवसर मिल्नेछ। विवाहितहरूको पतिपत्नीबीच विमति भए सहमति हुनेछ। शैक्षिक मार्गमा वर्षभरि नै छात्रवृत्ति हासिल गरी विदेश पढ्न जान पाउने योग छ। भाग्यभाव कर्मभाव दुवै बलिया भएकाले यस वर्र्षमा जोड दिए ऐतिहासिक काममा सफलता प्राप्ति हुने योग छ। विश्वास गरेकाले साथ दिने हुँदा मित्र र परिवारको साथ सहकार्यमा जोड दिनुहोला। भइरहेको नोकरी तथा राजनीतिमा उच्च सम्मान प्राप्त हुने, नभएकाले नयाँ नोकरी पाउने योग छ। राजनीतिमा गुमेको स्थान मान प्राप्त हुन सक्ने समय हो। यो समयमा सक्रिय रहनुहोला। वर्षारम्भमा ग्रह गोचर बलिया छन्। शनि, राहु दुवै बलियो भएकाले सक्रिय भएमा परिणाम सकारात्मक रहनेछ। वैशाख १ देखि ७ सम्म खर्च बढ्ने विवाद बढ्ने, सोचेका कुरा पूरा नहुने योग भए पनि वैशाख ८ गतेदेखि आश्विन ३० गतेसम्म नयाँ काम पाउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ।
आँटे, सोचेको काम पूरा गर्न सक्ने योग छ। श्रावणमा घर, झगडा बढ्ने सवारीसाधनले दुःख दिने योग छ। भाद्र, आश्विनमा लेखन मार्गमा सफलता मिल्नेछ। खेलाडीका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्छ। सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा सकारात्मक अवस्था भएकाले समग्रमा त्यस्ता काममा यो वर्ष अग्रसर हुनु उचित हुनेछ। निर्धक्क एवं विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर यस वर्र्ष मिल्नेछ। मार्गमा स्वास्थ्यमा बाधा आउने, काममा अवरोध आउने, लेनदेनमा विवाद, शरीरमा चोटपटक लाग्न सक्नेछ। चैतमा आर्थिक कठिनाइ र झुटा आरोप आउने, मुद्दा–मामला लाग्न सक्नेछ। आषाढमा शारीरिक अवस्था मजबुत हुनुको साथै धेरै ठूला काम बन्ने एवं नयाँ कामको अवसर मिल्ने योग छ। आश्विनमा शत्रुनाश हुने, आफ्नो वर्चस्व बढ्ने, फागुनमा धेरै धन कमाउन सफलता मिल्नेछ। अन्य महिना मध्यम रहनेछन्। मेषको राहु बलशाली हुनेछन्। खानपानमा ध्यान नपुगे मुटुमा समस्या आउने र जोर्नीको दुखाइ कडा हुनेछ। खानपानमा विचार गर्नुपर्ला। कात्तिकदेखि राहु बाह्रौँमा प्रवेश गर्दा मस्तिष्कमा पीडा दिन सक्छ।
वृष
समग्रमा यस वर्षको ग्रहगोचरको फल मिश्रित रहनेछ। शनियुगिन समयमा शनिको एकल राजयोग भएको शनिको कर्मभावमा हुँदा कर्मले भाग्यलाई चम्काउनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ। कर्मेश र भाग्य शनिबाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सर्वत्र फैलाउन सकिनेछ। वर्षारम्भमा एकादश भावमा रहेका स्वगृही गुरुले तृतीय, पञ्चम, सप्तम पूर्णदृष्टिले विद्या उन्नतिमा छात्रवृत्ति, सन्तान नहुनेको सन्तान लाभ र भएका सन्तानको प्रगति हुनेछ। आफ्नो पराक्रम वृद्धि, वैदेशिक कार्यमा सफलता मिल्नेछ। वैशाख ६ गते रातिबाट गुरूप्रतिकूल रहे पनि शनि बलियो भएकाले नयाँ गृहमा प्रवेश गर्ने, नयाँ सवारी लाभ हुने बलियो सम्भावना छ। राजनीतिमा सफलताको सम्भावना प्रशस्तै छ। आयेश द्वादश स्थानमा खर्च बढाउने भए पनि भाग्येश र कर्मेशको एकल राजयोगले समय बलशाली रहनेछ।
सहयोगी, दाजुभाइ तथा मातापिताबीचको सम्बन्धलाई सहज र सरल उभ्याउन कठिन छ। गुरु बाह्रौँ भई छैटौँ दृष्टि रहे पनि एकल राजयोगवाला शनि दशम भावमा, मेषको राहुको छैटौँ दृष्टि, छैटौँ केतुको अनुकूलताले शत्रु नाश हुने र आफू बलियो बन्ने योग छ। शनिको अनुकूलता विदेशयात्रा गर्ने अवसर पाउने बलियो सम्भावना छ। व्यापारमा सफलता पाउनुको साथै प्रेममा संलग्न हुनेहरूको लागि वैवाहिक बन्धनमा बाँधिएर खुसी हुने अवसर मिल्नेछ। आश्विन ३० देखि मीन राहु प्रवेश गर्ने आर्थिक उन्नतिका हिसाबले त्यसपछिका समय निकै राम्रो रहनेछ। उच्च आर्थिक उपलब्धिमा अग्र हुनुको साथै शरीरमा उमंग र मनमा उत्साह बढ्ने देखिन्छ। स्मरण रहोस् श्रावण १८ देखि भाद्र २३ गतेसम्म बुध, शुक्रको बक्रास्त प्रभावको समयमा माथि उल्लिखित कार्य निर्विवाद अघि बढ्न सक्नेछैन। त्यो समयमा त्यति शुभ नरहेकाले संयमित रहनुहोला। वैशाखमा खर्च र विवाद बढ्ने, मुद्दामामिला आउन सक्छ। आषाढमा धनमाल हराउन सक्ने, दाँत र मुखमा पीडा हुने योग छ। भाद्रमा घरेलु समस्याले सताउने, सवारी साधनले दुःख दिनेछ। पुसमा स्वास्थ प्रतिकूल, लेनदेनमा विवाद बढ्नेछ। श्रावणमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने योग छ। कात्तिक र चैतमा शत्रुनाश हुने, धन मनग्य कमाउने अवसर मिल्नेछ। घर तथा सवारी साधन जोड्न राम्रो तथा फलदायी रहनेछ। अन्य महिना मध्यम रहनेछन्।
मिथुन
यस वर्ष ग्रहगोचर समग्रमा राम्रो रहनेछ। गुरुको अनुकूलताले बोलीको पराक्रम बढ्ने, अरूको विश्वास जितेर महत्वपूर्ण काम प्राप्त गरी सफल बनाउन सकिनेछ। मानसम्मान पाउने योग छ। धार्मिक तथा सामाजिक काममा सोचेभन्दा बढी नै सफलता पाइनेछ। मित्र तथा परिवारले कुरा बुझेर सहयोग गर्नेछन्। घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। नयाँ मित्रको आगमन हुने, परिवारको सदस्य संख्या वृद्घि हुने सम्भावना छ। सन्तानबाट सहयोग र सद्भाव मिल्नेछ। नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना छ। वर्षारम्भमा मेषको राहु, अनुकूल हुनाले प्रयास गर्दा ठूलो काममा सफलता पाइनेछ।
अकस्मात् प्रेम हुनाले खुसी बढ्ने, मन शान्त हुनेछ। पति÷पत्नीबीचको सम्बन्ध निकै राम्रो हुनेछ। व्यापारमा अपेक्षित सुधार आउनेछ। वैदेशिक कार्यमा महत्वपूर्ण सफलता हात पर्नेछ। भाग्यभावमा रहेका शनिको एकादश स्थान, तृतीय स्थान र षष्ट भावमा दृष्टि दिने हुँदा आफ्नै प्रयास धेरै काममा सफल हासिल पर्याप्त कमाइ गर्ने अवसर मिल्ने हुँदा धन सञ्चित गर्न गाह्रो छैन। शत्रु पराजय हुनुको साथै स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक कारोवारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ।
सहयोगीहरूबाट सहयोग पाइने, दाजुभाइबीच सुमधुर सम्बन्ध सहकार्य हुने, पारिवारिक सौहार्द बढ्ने सम्भावना रहन्छ। भाद्र ३० गतेदेखि राहुको प्रतिकूलताले नोकरी तथा राजनीतिमा बिनाकारण संकट आउनुको साथै उच्च रक्तचाप बढ्नाले मुटुमस्तिष्कमा समस्या हुन सक्छ। विपरीतलिंगीबाट झुटा आरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनुहोला।
महत्वपूर्ण काम र निर्णय गर्दा सचेत रहनु उचित होला। वैशाख, भाद्र, मार्ग र चैत्रमा पराक्रम बढ्ने, रोकिएको काम बन्ने, नयाँ काम पाउने, नोकरीमा सफलता मिल्ने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। आषाढ, आश्विन, माघमा झुटा आरोप लाग्ने, स्वास्थमा अवरोध आउने, लेनदेनमा विवाद आउने, परिवारको असहयोग र मित्रको धोकाले मन अशान्त हुनेछ। अन्य महिना मध्यम रहनेछन्।
कर्कट
वर्षारम्भमा अढैया शनिको र वैशाख ७ गतेदेखि गुरुको केन्द्रादि दोषको प्रतिकूलताले स्वास्थ्यमा बाधा आउने, मनमा चिन्ता बढेर काम बिग्रने योग छ। यस वर्ष राहु र गुरुबाट केन्द्रमा गुरुचण्डाल योग परेको हुँदा धन, मानको क्षति भने प्रशस्तै हुनेछ। छोरीबुहारी र दिदीबहिनीको प्रगति, उनीहरूबाट सहयोग मिल्ने देखिन्छ। आँट र साहस बढ्ने अधुरा काम पूरा गरेर अघि बढ्ने अवसर मिल्नेछ। वर्षारम्भदेखि श्रावणभर राहु र मंगल राम्रो रहने हुनाले महत्वपूर्ण काममा सफलता मिल्नेछ।
गुरुको दृष्टि द्वितीय, चतुर्थमा रहने हुँदा बोलीको प्रभावमा धेरै काम अघि बढ्नेछन्। मित्रहरूले सघाउने, परिवारले साथ दिने भएकाले बिघ्नबाधासँग जुध्न सकिने, प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिनेछ। व्यापारमा लाभ हुनुको साथै वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ। पति÷पत्नीबीचको सम्बन्धमा उल्लेखनीय सुधार आउनेछ। श्रावण १२देखि कार्तिक ३ सम्म शनि, गुरुको वक्र प्रभावले राजनीतिमा लाग्नेहरूका लागि कूटनीतिक असफलताले पदच्यूत गराउन सक्छन्। व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ।
भाग्यभावको शनि अष्टम, अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ। धार्मिक र सामाजिक कार्यमा झुटा आरोप सामना गर्नुपर्नेछ। उच्च रक्तस्रावको साथै मुटु, मस्तिष्कमा पीडा हुने, हाडजोर्नीको समस्या पनि आउनेछ। नगद कारोबार गरे विवाद बढेर मुद्दामामिला लाग्न सक्छ। विश्वासमा धोका हुनेछ। परिवारले साथ नदिने मित्रहरू स्वार्थमा प्रेरित भई आफूलाई फसाउन सक्रिय हुनेछन्। पतिपत्नीबीचको विवादमा संयम नभए बिछोडको स्थिति आउनेछ। पिता, पुत्रबीचको सम्बन्ध बिग्रनाले घरझगडा निकै बढ्नेछ। नोकरीमा झुटा आरोप लागेर अप्ठ्यारो पर्ने सक्ने, स्थानान्तरण हुने, छुट्ने योग छ। अन्य समयमा संयम भएमा राम्रो रहनेछ। जेठमा धन लाभ हुनुका साथै नयाँ कामको प्रस्ताव आउनेछ।
आश्विनमा पराक्रम बढ्ने, रोकिएका काम अघि बढ्नेछ। पौष महिनामा शत्रु पराजय हुनेछन्। असारमा धननाश, शत्रुबाधा, झुटा अरोप लाग्न सक्नेछ। कार्तिकमा घरेलु समस्याले सताउने, मित्रले धोका दिने, सवारी साधन बिग्रनेछ। फागुनमा स्वास्थ्यमा बाधा, आर्थिक संकट तथा लेनदेनमा विवाद आउने योग छ। अन्य महिना मध्यम छन्। राहु बलियो भएको हुँदा आर्थिक पक्ष वर्र्षभरि नै बलियो हुनेछ।
सिंह
यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ। पञ्चमेश गुरु भाग्यभावमा बसेकाले आँटेका काममा सफलता सजिलै मिल्नेछ। बौद्धिक कार्य र पढाइमा सफलता अत्यधिक मिल्नेछ। लेखन कार्यमा रुचि धेरै बढ्नेछ। साहित्य, कला, गीत, संगीतमा हुनेहरूका लागि यस वर्र्ष अत्यधिक राम्रो रहनेछ। शैक्षिक उन्नतिमा विदेश तथा स्वदेशमा छात्रवृत्ति पाउने योग छ। व्यावसायिक कार्यमा विदेश यात्रा गर्ने अवसर मिल्नेछ। बिदेसिएका मित्रहरूले सफलताका लागि सहयोग गर्नेछन्। आयात–निर्यातमा लाग्नेहरूका लागि वर्र्ष अनुकूल रहनेछ। कूटनैतिक कार्यमा लाग्नेहरूको ठूलो सफलता हात पर्नेछ। वर्र्षको आरम्भदेखि आश्विन ३० सम्म सकारात्मक रहे पनि कार्तिक १ गतेदेखि राहुको प्रतिकूलताले आर्थिक संकट बढ्नेछ। मित्रता प्रेमको रंग बदलिएर वैवाहिक बन्धनमा बाँधिने समय छ। पति/पत्नीबीच सुमधुर सम्बन्ध बढ्नेछ। मन प्रसन्न हुनेछ।
नोकरीमा सुधार आउनाको साथै महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ। राजनीतिमा संयम र सक्रिय भएर अघि बढे सोचेजस्तै सफलता पाउने योग छ। मनमा प्रसन्नता र शरीरमा स्फूर्ति बढ्नेछ। नयाँ कामको अवसर पाउने योग छ । सन्तानसँगको सम्बन्ध बलियो हुने, सन्तान नहुनेले सन्तान प्राप्त हुने र सन्तानको उच्च प्रगति हुने योग छ। भाग्यभावमा मेषको राहु, गुरुसप्तमभावमा स्वगृही शनि रहेकाले शत्रु नाश हुनेछ।
भाग्य बलियो हुने भएकाले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ। शनि राहुको गुरुको अनुकूलताले शत्रुमाथि विजय पाउनेछ। सामाजिक, काममा सुधार आउने, बलियो सम्भावना भएकोले त्यतैतिर जोड दिनु उचित होला। कार्तिक १ गतेदेखि राहु अष्टम भावमा जाने हुँदा आर्थिक कारोबार गर्दा विवाद हुन सक्नेछ। यो सयम गोपनीयतामा जोड दिनु, सजग हुनु राम्रो। आषाढ, कार्तिक, माघमा काममा सफलता, शत्रु नाश र धनलाभ हुने योग छ। श्रावण, अश्विन, मार्ग, चैत्रमा काममा अवरोध आउने अरुबाट आलोचना हुनेछ। स्वास्थ्यमा बाधा, धन नाश, शत्रु बढ्ने, चिन्ता बढ्नेछ। अन्य महिना मध्यम रहनेछन्।
कन्या
वर्षारम्भदेखि आश्विनभरि अष्टम राहु प्रतिकूल भई बसेकाले स्वास्थ्य समस्या निकै बढ्नेछ। मित्र तथा परिवारको असहयोगले दैनिकीमा अप्ठ्यारा प्रशस्तै आउनेछन्। बाहनले पटकपटक धोका दिनेछ। शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन्। स्वास्थ्यमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ। बिनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ। कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नुपर्नेछ। पारिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाइमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरंग हुनेछ। सन्तानसँग विमति, लेखनमार्गमा बाधा आउनेछ, शत्रु सक्रिय हुनेछन्।
प्रेममा खटपट आउने, पतिपत्नीबिच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ। व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ। कार्तिक १देखि सप्तम मीन राहु र चतुर्थेश र सप्तमेश गुरु अष्टम स्थानमा रहे पनि गुरुको द्वितीय स्थानमा र चतुर्थ स्थानमा रहने पूर्ण दृष्टि सकारात्मक रहने हुँदा धैर्य र प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ। शनि अनुकूल भएकाले मनमा उत्साह एवं शरीरमा स्फूर्ति बढ्नेछ। रोकिएका काम बन्नेछन्। नयाँ र आयमूलक काम हात पर्नेछन्।
सहयोगी र दाजुभाइको सोचमा परिवर्तन आउनेछ। पढाइमा अपेक्षित सुधार आउनेछ। नोकरीमा आएको अवरोध हटेर जानेछ। राजनीतिमा सफलता मिल्नेछ। साहित्य तथा लेखन मार्गमा प्रयास गर्दा सफलता मिल्नेछ। व्यापारमा सफलता मिल्नुको साथै कूटनीतिमा विशेष लाभ मिल्ने योग छ। छात्रवृत्तिसहितको शैक्षिक यात्रा महत्वपूर्ण हुनेछ। आषाढ, श्रावण, मार्ग, फागुनमा जोश र जाँगर बढ्नेछ। रोकिएका काम बन्ने, नयाँ कामको अवसर पाउने, मानसम्मान पाउने, धन लाभ हुने योग छन्। वैशाख, भाद्र, पौषमा खर्च बढ्ने, विवाद बढ्ने, पारिवारिक समस्याले सताउने, स्वास्थ्यमा बाधा आउनेछ। अन्य महिना मध्यम रहनेछन्।
तुला
समग्रमा तुला राशिलाई यो वर्ष अनुकूल रहनेछ। पञ्चम, मूल, त्रिकोण राशिको शनि, तृतीयेश गुरुको सप्तममा गोचर भई राशि तृतीय एकादश स्थानमा गुरुको दृष्टिले पराक्रम बढ्नेछ, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। बोलीको प्रभाव अरुलाई सजिलै आकर्षित गर्न सकिनेछ। शनि बृहस्पतिको एकादशमा संयुक्त दृष्टिले धन प्रशस्त कमाउने अवसर मिल्नेछ। सप्तममा मेषको राहुको प्रभावले घरेलु समस्या आइरहेनछ। परिवारको असहयोग र मित्रहरूको धोकाले मन विचलित भए पनि बृहस्पति शनि अनुकूल भएकाले शत्रु परास्त हुनेछन्। मित्रहरूको सहयोग बढ्नेछ। सवारीसाधन जोड्ने अवसर मिल्नेछ। वर्षारम्भदेखि वर्षभरितृतीयेश बृहस्पतिको बसाइ सप्तम भावमा रहेको र एकादश तृतीय र राशिमा पूर्ण दृष्टि रहने हुँदा शत्रुलाई परास्त गर्दै अति महत्वपूर्ण काममा सफलता हासिल गर्न सकिनेछ। प्रतिस्पर्धा गरेर सफलता प्राप्त हुनेछ।
समाजमा तपाईंका शब्दले अरूको मन सजिलै जित्न सक्नेछ। राजनीतिमा लाग्नेहरूका लागि यो वर्ष अनुकूल नै मान्न सकिन्छ। विद्यार्थीले अध्ययनका लागि स्वदेश तथा विदेशमा प्रस्थान गर्ने प्रयास गर्दा सफल भइनेछ। व्यापारमा लगानी धेरै हुने आर्जन राम्रै हुने भएकाले मन प्रसन्न हुनेछ। नयाँ प्रेममा संलग्न हुँदा पुरानो प्रेमले आक्रमण गर्न सक्ने भएकाले प्रेमको मामलामा सजग हुनुपर्ला। पति÷पत्नीबीच हुने सुमधुर सम्बन्धमा सौहाद्र्घता बढेर घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ। बौद्घिक क्षमता वृद्घि हुने भएकाले कूटनैतिक कार्यमा चामत्कारिक सफलता पाउन सकिनेछ।
ज्ञान, विज्ञान क्षेत्रमा सोचेअनुसार लाभ हुनेछ। भाद्र, फागुन, चैत्र महिना फलदायी रहनेछ। सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ। श्रावण, भाद्र, पौष, चैत्रमा मानसम्मान र नोकारी मिल्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ। शत्रु पराजय हुनेछन्। शरीरमा जोश र जाँगर बढ्ने, अरूवाट सम्मान पाउने योग छ। ज्येष्ठ, आश्विन, माघमा स्वास्थ्यमा बाधा आउने, घरेलु समस्या बढ्ने, मित्र तथा परिवारले धोका दिने, सवारी साधन बिग्रने, आर्थिक संकट आउनेछ। अन्य महिना मध्यम रहनेछन्।
वृश्चिक
अढैया शनिको प्रभाव चतुर्थ भावमा, षष्ट भावमा रहेका गुरु, द्वितीयेश र पञ्चमेश भइरहेको हुँदा अरुबाट तीव्र आलोचना हुनेछ। धनमाल हराउने र स्वास्थ्यमा बाधा आउने योग छ। शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ। घरेलु काममा व्यस्त रहँदा आफन्तको सहयोगमा लाग्नुपर्दा पढाइमा बिघ्न आउनेछ। सन्तानसँग पञ्चमेश गुरु षष्ट भएका सन्तानसँगको विमति र असफलताले चिन्ता बढाउनुका साथै उनीहरूको व्यवस्था गर्न पर्याप्त प्रयास गर्दा पनि सफलता पाउन गाह्रो छ। राहुको अनुकूल प्रभाव आश्विन ३० सम्म मीन रहँदा वर्षभरि रहने हुँदा गोपनीयतासाथ अघि बढेमा नयाँ–नयाँ खोजमा लागेर सफलता पाउन सकिनेछ। गुरुको द्वितीय र दशमको दृष्टिले नोकरीमा सुधार आउने, राजनीतिमा सुख–सुविधा पाउने अवस्था छ।
वैशाखदेखि आश्विनसम्म राहु अनुकूल हुँदा आम्दानीका अवसर प्रशस्त मात्रामा मिल्नेछन्। मनमा चिन्ता र शरीरमा आलस्यता बढ्ने योग भए पनि धैर्य गर्दा रोकिएका काम सुचारु हुने, नयाँ कामको अवसर मिल्नेछ। ज्ञान, विज्ञानमा लागेकाहरूका लागि समय अनुकूल रहनेछैन। आफन्त, मित्र तथा परिवारबाट उचित सहयोग मिल्नेछैन। व्यापारमा केही लाभ उठाउन सकिनेछ। वैदेशिक र कूटनीतिक कार्यमा संलग्न हुनेहरूकालागि शुभ हो। भाग्यले साथ दिनेछ। सामाजिक कार्यमा सम्मान पाउने योग छ। नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ। राजनीतिमा गुमेका स्थान पुनप्र्राप्तिको अवसर मिल्नेछ।
सहयोगीहरूको सहयोग पूर्णरूपमा पाइनेछैन सफलताको लागि प्रयास आफैँले गर्नुपर्नेछ। दाजुभाइ, दिदीबहिनीको सहयोगमा आर्थिक, सहयोग गर्न बाध्य भई राजनीतिक कार्यलाई समेत प्रतिकूल प्रभाव पार्नेछ। शनि बृहस्पति प्रतिकूल हुँदा दाँत, मुखमा पीडा, हाडजोर्नीको समस्या आउनेछ। नगद कारोबार गरे विवाद बढेर मुद्दामामिला लाग्न सक्छ। विश्वासमा धोका हुनेछ। परिवारले साथ नदिने मित्र पनि स्वार्थमा प्रेरित भई आफूलाई फसाउन सक्रिय हुनेछन्। त्यसैले ॐ सं शनिश्चराय नमः, ॐ राँ राहवे नमः भन्ने मन्त्रको जप सकेसम्म धेरै गर्नुहोला। पति÷पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ। पिता, पुत्रबीच सम्बन्ध बिग्रनाले घरझगडा निकै बढ्नेछ। नोकरीमा झुटा आरोप लागेर अपठ्यारोलाई व्यवस्थापन गर्न सकिने योग छ। वैशाख, भाद्र, आश्विन, माघमा पराक्रम बढ्ने, धनलाभ हुने, शत्रु पराजय हुने र धेरै काममा सफलता मिल्नेछ। आषाढ, कार्तिक, फाल्गुणमा स्वास्थ्यमा बाधा, परिवारिक, कलह मित्रबाट हुने घातले मन चिन्तित हुनेछ। अन्य महिना मध्यम रहनेछन्।
धनु
यस वर्ष ग्रह गोचर धेरै राम्रो रहनेछ। सानातिना प्रयासले पनि महत्वपूर्ण काममा सफलता धेरै पाउने वर्ष छ। वर्षारम्भदेखि वर्र्षभरि नै छैटा मेषको राहु रहने हुँदा शत्रु पराजय हुने मित्रहरू सहयोगी हुने नयाँमित्रहरू थपिन आउने भुलेका मित्रहरूले याद गर्ने वर्र्ष हो। भाग्येश चन्द्रमा शुभ भई कर्म स्थानमा रहने हुँदा नयाँ जागिर पाउने भएको जागिरमा पदोन्नति हुने सम्भावना बलियो छ। शरीरमा स्फूर्ति मनमा हर्ष अत्यधिक बढ्नुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योग बलियो छ। सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ। दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ।
बोलीको प्रभाव राम्रो हुनुको साथै अरूको विश्वास सजिलै जित्ने अवसर मिल्नेछ। कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ। पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ। घर, जग्गा तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावना छ, भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ। व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ। प्रेम गर्ने अवसर मिल्नेछ। वैवाहिक सम्बन्धमा बाँधिने योग बलियो छ। भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योग छ। नोकरीमा उच्च स्थान प्राप्तिका साथै स्वीकार्य स्थानमा स्थानान्तरण हुनेछ।
औद्योगिक कार्यमा संलग्नहरूका लागि वर्ष फलदायी रहनेछ। कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि ग्रहगोचर राम्रो रहनेछ। बृहस्पति अनुकूल रहने हुँदा बोलीको प्रभाव बढ्ने सन्तान नहुनेले पुत्रलाभ गर्ने अवसर यो वर्र्ष मिल्नेछ। राज्यबाट बौद्घिक सम्मान मिल्ने सम्भावना छ। कार्तिक १देखि राहु चतुर्थ हुने हुँदा अनावश्यक विवादमा फस्न सक्ने, शत्रु बढ्ने, स्वास्थ्यमा अवरोध आउने योग छ।
घरेलु समस्याले सताउने सवारी साधनले दुःख दिने मनमा डर बढ्ने र नोकरी तथा राजनीतिमा उतारचढाव आउने सम्भावना छ। विश्वास गरेकाले धोका दिने भएकोले विचार गर्नु उचित हुनेछ। यी समस्याबाट छुट्कारा पाउन शिवको आराधना राहुको जप ॐ राँ राहवे नमः, भैरवको उपासना गर्नु उचित हुनेछ। आषाढ, कार्तिक, चैत्र महिनामा स्वास्थमा संकट आउने, लेनदेनमा विवाद र खर्च बढ्ने, झुटा आरोप लाग्ने, मन विचलित हुने योग। वैशाख, ज्येष्ठ, आश्विन, कार्तिक नोकरी, सम्मान, राजनीतिमा सुधार आई जोश र जाँगर बढ्ने, शत्रु नाश हुने, धन लाभ हुने योग। अन्य महिना मध्यम रहनेछन्।
मकर
साढेसातीको प्रभाव वर्र्षभरि नै रहनेछ। गुरुको पनि प्रतिकूल प्रभाव वर्षभरि रहने हुँदा घरेलु समस्या बढ्ने काम अधुरा रहने र नयाँ काम पाउन गाह्रो हुने योग छ। बोलीको प्रभाव राम्रो नरहने अरूलाई विश्वास लिन नसकिने भएकाले बोल्दा अलि विचार गर्नुपर्ला। अष्टम भावमा गुरुको र शनिको संयुक्त दृष्टि र बाह्रौँ भावमा गुरुको दृष्टि प्रतिकूल रहने हुँदा आर्थिक कारोवारमा समस्या, मित्रबाट असहयोग हुने, शत्रुबाट आक्रण हुन सक्ने भएकाले सजग हुनुपर्नेछ।
वर्षारम्भदेखि आश्विन ३० चतुर्थ राहु, गुरु केन्द्रादि दोष गुरु चण्डाल योग हुने हुँदा समय निकै प्रतिकूल रहनेछ। धार्मिक कार्यमा मन नजाने, झुटा मुद्दामामलामा फस्ने सम्भावना छ। उच्च रक्तचाव बढ्नुको साथै मुटुमस्तिष्कमा पीडा हुन सक्छ। धनमाल हराउनुको साथै दाँत र मुखमा पीडा धेरै हुनेछ। पेट दुःखाइ, हड्डी र नशाको समस्या आउन सक्छ। नोकरीमा सचेत नभएमा यसै समय स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ। राजनीतिमा प्रशस्तै अप्ठ्याराहरूको सामना गर्नुपर्नेछ। सानो भूलको परिणाम भयावह बन्न सक्छ। निर्दाेष भए पनि दोषीबनेर आफ्नो स्थान गुमाउनुपर्ने अवस्था आउन सक्ने भएकाले कसैको विश्वास गर्नु संकट निम्त्याउनु हो भन्न सकिन्छ।
गुरुको र शनि दशम भावमा दृष्टि रहने हुँदा मान सम्मान पाउने नोकरीमा राम्रै सफलता पाउने योग छ। आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ। सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ। गुरुको दशम दृष्टि अनुकूलताले गोपनीयताका साथ अघि बढेमा महत्वपूर्ण काममा सफलता प्राप्त होला। वर्षारम्भमा गुरु, शुक्र, मंगल अनुकूल रहेको हुँदा सक्रिय भएमा पढाइमा उन्नति, सन्तानको प्रगति र बौद्घिक कार्यमा अपेक्षित लाभ उठाउन सकिनेछ। वैदेशिक र कूटनीतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिने छैन। नक्कली प्रेमको प्रस्तावले भएको प्रेम र वैवाहिक कार्यलाई नकारात्मक प्रभाव पार्ने सम्भावना छ। संयम नभई अघि बढेमा लाभ उठाउन सकिनेछैन।
दिदीबहिनी र छोरीबुहारीको असहयोग आफन्तहरूबाट धेरै आलोचना हुने हुँदा सजग रहनुहोला। मेषको राहु र गुरुको गुरु चण्डाल योग चतुर्थ स्थानमा रहेकोले मित्रहरू स्वार्थी हुनुको साथै सवारी साधनले बेलाबेलामा दुःख दिनेछ। अन्य समय कठिनताको बावजुत वैशाखमा घरेलु समस्याले सताउनुको साथै सवारी साधनले दुःख दिने, मित्रले धोका दिने योग छ। भाद्रमा स्वास्थ्य र काममा बाधा, आर्थिक संकट, पौष महिना अशुभ रहनेछन्। आषाढमा शत्रु नाश हुने, काममा सफलता मिल्नेछ। मार्गमा धनलाभ, विद्यामा सफलता, सन्तान सुख मिल्नेछ। चैत्रमा पराक्रम बढ्ने, अधुरा काम पूरा हुने, नयाँ कामको अवसर पाउने योग छ। अन्य महिना मध्यम रहनेछन्।
कुम्भ
ग्रह गोचर समग्रमा अनुकूल रहनेछ। वर्षभरि नै साढेसातीको प्रभाव रहे पनि राशि स्वामी शनि राशिमै भएकाले त्यति प्रतिकूलता बढ्नेछैन। द्वितीय र एकादशेश गुरु कारक भई तृतीय भावमा बस्ने हुनाले बोलीको प्रभाव बृद्घि हुनुको पराक्रम प्रशस्त मात्रामा बढ्नेछ। तृतीय राहुले जोश जाँगर बढाउने र मनमा उत्साह शरीरमा स्फूर्ति काममा रुचि बढाउनेछ। वर्षारम्भमा भाग्येश शुक्र चतुर्थ स्थानमा एकल राज योग बनाएर बसेको हुँदा भाग्य बलियो हुने शिक्षा आर्जनमा छात्रवृत्ति हासिल हुने योग छ।
कर्मेश तथा तृतीयेश मंगल पञ्चम भावमा बसेर एकादश स्थामा दृष्टि दिने भएकाले तपाईंको परिश्रमबाट प्रशस्त धन कमाउने अवसर मिल्नेछ। सत्य इमानले अरूलाई विश्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ। उच्च मनोबल र नयाँ जोशसाथ अघि बढ्दा पुराना समस्या सुल्झाउन, नयाँ काम सुरु गर्न सहज हुनेछ। परिवार र मित्रबाट उचित सहयोग मिल्नेछ। घरघडेरी तथा सवारी साधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ।
राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ। विज्ञानमा अनुसन्धान गर्न लागिपरेकाहरूले चामत्कारिक सफलता हासिल गर्नेछन्। व्यापारमा र वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ। कूटनीतिक कार्यमा सफलता र राजनीतिक नियुक्तिको योग बलियो छ। महत्वपूर्ण काम धेरै गर्नुहोला। आश्विन ३० देखि राशिमा राहु प्रवेश गर्ने हुँदा स्वास्थ्यमा बाधा मनमा चिन्ता बढ्ने धनको खती हुने योग भए पनि लगानी उचित कार्यमा लाग्नेछ। अनावश्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ। अरूबाट तीव्र आलोचना हुने, धनमाल हराउने सम्भावना छ। उपलब्धिहीन कार्यमा समय खर्च हुनेछ।
दाजुभाइ र सहयोगीहरूको सहयोग प्राप्त भए पनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिने छैन। उच्च रक्तचापले गर्दा मुटुमस्तिष्कमा पीडा बढ्न सक्छ। हड्डी र नशामा समस्या आउने सक्ने योग पनि छ ॐ राँ राहवे नमः हरदिन जप्दा लाभ मिल्नेछ। सन्तानसँग असल सम्बन्ध रहने, पढाइमा सफलता मिल्ने योग छ। वैशाख, श्रावण, पौषमा पराक्रम बढ्ने अधुरा काम बन्ने, नयाँ काम पाउने योग छ। महिनामा पराक्रम बढ्ने नयाँ कामको अवसर मिल्ने, धन मनग्य कमाउने सहयोगीहरूको राम्रो सहयोग रहनेछ। ज्येष्ठ, आश्विन, चैत्र र माघमा घरेलु समस्याले सताउने स्वास्थ्यमा बाधा आउने, धन नाश र झुटा आरोप लाग्ने अरुबाट तीव्र आलोचना हुने धन माल हराउन सक्ने दाँत, मुखमा पीडा हुने भएकाले संयम रहनुपर्ला। अन्य महिना मध्यम रहनेछन्।
मीन
समग्रमा ग्रहगोचर मध्यम रहनेछ। आद्य साढेसातीको आरम्भ भएकाले खर्च वृद्धि हुने अनावश्यक विवाद झुटा आरोप लाग्न सक्ने भएकाले बोल्दा विचार गर्नुपर्ला वर्षारम्भमा प्रथम भावमा रहेको गुरु प्रतिकूल भए पनि २०८० वैशाख ७ गतेबाट अनुकूल हुने हुँदा बोलीको प्रभावमा प्रशस्त आय आर्जन गर्न सकिनेछ। द्वितीय भावमा गुरु भए पनि षष्ट र अष्टम दृष्टिले शत्रु वृद्धि गराउने, स्वास्थमा बाधा गर्नुको साथै आर्थिक कारोवारमा झन्झट आउन सक्छ। कर्म स्थानमा गुरुको दृष्टि बलशाली रहेको र गुरुको दृष्टि सर्वशक्तिमान हुने हुँदा तपाईंको सत्यतालाई राज्यले स्विकार्नेछ।
बौद्धिकता तीब्र भएकोले सामाजिक काममा सफल हुन सहयोग गर्नेहरू धेरै हुनेछन्। भाग्य बलियो हुनाले महत्वपूर्ण कामलाई तीव्र गतिमा अघि बढाउन सकिनेछ। नयाँ मित्रहरूसँग संवाद र सहकार्य गर्ने अवसर मिल्नेछन्। सहयोगीहरू, दाजुभाइ तथा दिदीबहिनीहरूबाट राम्रो सहयोग पाइने हुँदा काम गर्दा आफन्तहरूसँग परामर्श गर्नु उचित होला। न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा सुधार आउने भएकाले सक्रिय हुनु राम्रो। सन्तानबाट सहयोग पाउने सम्भावना अत्यधिक रहनेछ। वैदेशिक व्यापार, वैदेशिक शैक्षिक, छात्रवृत्ति र कूटनीतिक कार्यमा रहेकाहरूलाई यो वर्ष ग्रहले पूर्ण साथ दिने भएकाले सक्रिय भएर अघि बढ्नु उचित होला। नयाँ प्रेमको प्रस्तावले पुराना प्रेमलाई गतिरोध तथा बिनाप्रेमहरूको पनि वैवाहिक बन्धनमा बाँधिने योगमा पनि बलियो छ। धार्मिक र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ।
नोकरीमा अपेक्षित सुधार आउने चाहेको स्थानान्तरण बलियो सम्भावना छ। बिग्रेका काम बन्ने मानसम्मान मिल्ने, आर्थिक उन्नतिले नयाँ गति लिने, राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ। बौद्धिक कार्यमा तीव्रता आउने, पढाइमा सुधार आउनेछ। शैक्षिक, न्यायिक, दार्शनिक कार्यमा राम्रो सफलता हासिल गर्न सकिनेछ। गुरुको उत्तम दृष्टिले मान सम्मान पाउने योग भए पनि शनिको द्वादशभावमा स्वगृही बसाइ र द्वितीय दृष्टि भने खर्च वृद्धि, चिन्तित बनाउनेछ। धैर्य गरेमा शनिको छैटा दृष्टिले शत्रु नास हुने तथा सन्तान र आमाबुवाको आशीषले सफल हुन सक्ने भएकोले उहाँहरूसँग सहकार्य गर्नुहोला। शनि साढेसाती आरम्भ भएको र द्वितीय राहुको प्रतिकूल प्रभावले अनावश्यक विवाद र दाँत मुखमा पीडा सञ्चित धनको नास हुने, योग विशेषत आश्विन ३० सम्म रहनेछ। यो समयमा गरेका काम अधुरा रहने निर्णयको अभावले समयमा काम नबन्ने, नयाँ काम पाउन कठिन हुने योग छ।
कार्तिक १ देखि राहु राशिमा रहँदा तीब्र तनावको सामना गर्नुपर्ला। महत्वपूर्ण निर्णय सोचेर गर्नु उचित हुनेछ। जेठ महिनामा आँटेका काम धेरै पूरा हुनेछन्। नयाँ काम पनि पाउन सकिनेछ। असारमा विवाद र धन नास हुने अरुले आलोचना गर्ने योग छ। श्रावणमा गलत विचार बढ्ने आफूले गरेको निर्णयले अरुलाई लाभ हुने। भाद्रमा परिश्रमले काममा सफता मिल्ने धन लाभ हुने। माघमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्य आर्जन हुने योग छ। आषाढ, कार्तिक र फाल्गुणमा खर्च र विवाद बढ्ने, स्वास्थ्यमा बाधा आउने, पारिवारिक समस्या वढ्ने, सवारी साधन बिग्रने बलियो सम्भावना रहनेछ। अन्य महिना मध्यम रहनेछन्।