जसलाई सांगीतिक मञ्च उक्लिन शारीरिक अशक्तताले कहिल्यै रोकेन (भिडियो)

‘चरी है बस्यो रुखकैको डाली, आऽ होऽ जोगी बस्यो कुटीमा।
लाहुरे बाट मै घरमा आए, आऽ हो तीन महिनाको छुट्टीमा…।
आऽ होऽ तीन महिनाको छुट्टीमा…।’

कुराकानीअघि गायक खड्क गर्बुजाले नयाँ वर्षको अवसरमा सार्वजनिक भएको लाहुरे ठाडो भाका सुनाए। गायक गर्बुजा र तारा श्रीषको स्वरमा रहेको यो गीत गाइसकेपछि उनले भने, ‘जिन्दगीमा लाहुरे हुने धोको त पुगेन तर लाहुरेको गीत गाउन भने छुटेको छैन।’

लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ। लोकसंगीतका राजासमेत भनेर चिनिएका गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने गीत नै गाए। उनी सानैदेखि गाउँका खेतलाहरूसँग गीत गाउँथे। घाँसदाउरा गर्दा, पराल बोक्दा, चौतारीमा थकाइ मार्दा होस् गीत गाउँथे। उकाली–ओराली गर्दा मानिसहरू सुसेल्थे त्यसैलाई उनी गीतको भाका बनाएर गाइदिन्थे। झ्याउरे, सालैजो ठाडी भाका र यानी माया वा कुनै पनि मन परेको लोकभाका गुनगनाउँथे उनी।

‘म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ। जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर। त्यसै फर्किएँ। अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानु परेको छ’, लाहुरे ठाडी भाका गीतलाई सम्झिँदै भने उनले।

खड्क गर्बुजा नाम सुनियो भने लाहुरे हुन हिँडेको त्योबेलाको किशोरभन्दा सयौं गीत गाएर स्वाभिमानले बाँचेको लोकगायक मनमा ढक्क आउँछ। खड्कलाई प्रत्यक्ष देख्यौं भने धेरैको आँखा ह्वीलचियरमाथिको सम्वेदनामा पर्नेछ। कसरी यस्तो भएको होला, हामी एकछिन सोच्न बाध्य हुन्छौँ?

त्यो २०४७ साल थियो।

एकदिन वनमा घाँस काट्न जाँदा भीरबाट लडेर गर्बुजा झन्डै सय मिटर तल खसेका थिए। घाइते गर्बुजालाई उपचार गर्ने पैसा थिएन। परिवारको आर्थिक अवस्था उस्तै नाजुक थियो। साथै अन्धविश्वास पनि उस्तै थियो गाउँमा। परिवारले धामीझाँक्री गरे, जडीबुटी गरे। तातोपानीमा डुबे ठीक हुन्छ भन्दै तातोपानी कुण्ड पनि पुर्‍याए। तर ठीक भएनन् उनी। अन्तिममा परिवारले गरगहना धितो राखेर अस्पताल पुर्‍याउँदा ढिला भइसकेको। डाक्टरले भनिदियो, ‘माफ गर्नुहोला तपाईं स्वस्थ हुन सक्नुहुन्छ। तपाईंका दुबै खुट्टाले काम गर्दैनन्।’

उनको भागमा खुट्टा रहेनछ भनौं। त्यसैले उनी लाहुरे हुन सकेनन्। भाग्यले कता–कता ठगिएको महसुस गरेपनि उनले दुःखमा गीत गाउन छोडेनन्। राम्रै शरीरबाट खुट्टा काम नलाग्ने भएपछि उनले आफ्नो मन गीत बुझाए।

त्यसैले लाहुरे हुन नपाए पनि लाहुरेको गीत गाउन उनलाई अनायसै उर्जा आउँछ। जोश आउँछ। तर अहिले पनि लाहुरेको गीत गाइनुपर्ने लाग्छ? ‘मानव सभ्यताबाट चलिआएको गीत हुन् लाहेरका गीत लाहुरेका कथा। लाहुरेले आर्थिक, सामाजिक, सांस्कृति सद्भाव सधैं बचाइराख्यो। त्यसैले लाहुरेको गीत कयौ पुस्ता पछाडि पनि गाइन्छ’, उनले भने।

तर लाहुरेको भाषा नफेरिए पनि स्थान फेरियो। अहिले लाहुरे पल्टनमा भन्दा पनि खाडीमा जाने भयो। राज्यले लाहुरेलाई फरक–फरक रूपमा देशबाहिर पठाइरहेको नकार्न सकिँदैन।

साठीको दशकतिरसम्म पनि लाहुरेको ‘चार्मिङ’ लोभलाग्दो थियो। अहिले खाडी र युरोपका विभिन्न देशमा दुःख गरेर घर फर्किनु परेको छ। तर गर्बुजाको अनुसार सेनामा जाने संस्कृति हटेको छैन। उनी भन्छन्, ‘लाहुरे जाने संस्कृति अझै छ। यसलाई गीतमा गाइने संस्कृति अहिले पनि छ। त्यसैले गीत मानव सभ्यता रहेसम्म गाइन्छ भन्ने लाग्छ।’

लाहुरे हुन नपाए पनि गर्बुजाले निरन्तर लाहुरेका गीत गाइरहे। यसैको निरन्तरता हो लाहुरे ठाडी भाका। तर अहिले भाका फेरियो, लय फेरियो, शब्द फेरियो, गाउने भन्दा पनि हेर्ने जमना भित्रियो। यसैले त गीतमा पनि विकृति भित्रियो। गर्बुजा भन्छन्, ‘लोकदोहोरी गीत सहर केन्द्रित भयो। लोकभाकालाई फ्यूजन गर्न थालियो। फोक म्युजिक नाम दिएर पुराना गीतहरू बन्ने र भत्किन थाले।’

विगत तीन दशकदेखि नेपाली लोकदोहोरी संगीतमा आफ्नो स्वर भर्दै आएका गर्बुजा पछिल्लो समय भाइरलको लोभमा लोकसंगीत ट्रयाकभन्दा बाहिर जान्छ कि भन्ने चिन्ता सुनाउँछन् उनी। भन्छन्, ‘लोकसंगीतकै आधारमा भाइरल हुनेहरू पनि छन्। तर अलिकति लय र शब्द चयनमा हामी अनुशासित भएनौं कि भन्ने लाग्छ।’

यस्तो समय आयो जो भाइरल हुँदा छिटो बजारमा चिनिन्छन्। तर भाइरलको आयु भने अत्यन्तै न्युन छ। युट्युब च्यालन सजिलो प्लेटफर्म भए पनि बजारमा लामो समय टिक्न नसक्ने गीतसंगीत जन्मिएका छन्।

भाइरलको पछाडि स्रष्टाहरू कुदिरहेको बेला लोकसंगीत कता जाने हो? यो चिन्ताको विषय हो। ‘लोकसंगीतले निरन्तरता त पाउने नै छ तर मिडियामा भाइरल भएका गीत पनि लोकसंगीतसँग नजिक छन्’, गर्बुजाले भने, ‘सचेत हुनुपर्ने के कुरामा हो भने– लोक संगीतले आफ्नो ट्र्याक छोडेर कतै जाने हो की भन्ने चिन्ता चाहिँ छ। यो मेरो मात्रै नभएर धेरै कलाकर्मीको चिन्ता हो।’

उनका लागि लोकसंगीतलाई मर्यादित र अनुशासित बनाइ राख्न नयाँ पुस्तालाई पुराना पुस्ताले सम्झाउनु पर्ने बुझाउने पर्ने खाँचो बताउँछन्। लोकसंगीतको अस्तित्व कायम राख्नका लागि अथवा आउने पुस्तासम्म पुर्‍याउन लोकसंगीतको खोज, संरक्षण हुनुपर्ने बताउँछन्।

अहिले लोकसंगीत जसरी चलिरहेको छ त्यसमा केही आवेग र अज्ञानताले कमिकमजोरी देखिएको छ। जस्तैः भाका, शब्द, चयन र भिडियो निर्माणसम्मका कुरामा ध्यान दिनुपर्ने बताउँछन् उनी।

अहिले युवा पुस्ताले गाइरहेको लोकसंगीत फोक म्युजिक भएर देखिएको छ। फ्युजन गरेर गीत गाउन चलन पहिले पनि रहेको बताउँछन् उनी तर यसलाई बिगार्न थालिएको छनक पाउँछन् उनी।

‘पहिलाका गीत संगीतका आधारमा नयाँ–नयाँ भाका बनाउने प्रचलन आयो। भाकाअनुसारको शब्द,चयनमा भने गम्भीर भएनौं’, उनले भने, ‘केही शब्दहरू आपत्तिजनक आए। त्यसो हुनुको कारण राजनीतिक असन्तुष्टि पनि हो। किनकि कलाकार राजनीति अस्थिरताका कारण निराश छन्।’

यति हुँदाहुँदै पनि नेपाली लोकसंगीत बुझेर नयाँ पुस्ताले अगाडि बढ्नुपर्ने बताउँछन् गर्बुजा। भाइरलले मानिसलाई गीतसंगीतमा धेरै दिन टिकाइ राख्दैन भन्ने उनको बुझाइ छ।

नेपाली लोक संगीतमा ३३ वर्ष खर्चिएका गर्बुजा आफू भाइरलको पछाडि लागेको भए यहाँसम्म नपुग्ने बताउँछन्। ठेट नेपाली शब्द, मौलिक भाका, गाउँघरका दुःखसुखमा गाइने लय र खोला–नाला पाखा–पखेरामा घाँसदाउरा र पानीपधेँरो गर्दा गुनगुनाइने भाकालाई जस्ताको जस्तै गाए गर्बुजाले। उनी भन्छन्, ‘सर्जक स्वयं सचेत हुनुपर्छ।’

यानी माया…

कुराकानीकै क्रममा उनले यानी माया भाका सुनाए। गीत संगीतको बाढी चलेको छ। हरेक मानिसलाई सेलिब्रेटी बन्न कुदिरहेको आजको समाजमा भाइरलको भ्रम परेको छ। यस्तो लाग्छ– भाइरल भइयो भने जिन्दगी बन्छ। तर भाइरलकै कारण कतिपय मानिस निराशाबाट गुज्रिनु परेको पनि छ।

गर्बुजा अपवादबाहेक केही युवाहरू लोकसंगीतलाई माथि उठाउन खोजेको बताउँछन्, ‘युवापुस्ताले लोकसंगीतलाई गंभीर चासोका साथ हेर्न र बुझ्ने कोसिस गरेका छन्।’

जमना यस्तो पनि थियो कि सालैजो भाका र ठाडो भाका रेकर्ड गर्दा संसार जितेको भान हुन्थ्यो। कौडा, सोरठी, यानी माया, सालैजो, कालीगण्डकी आसपास स्थानीयले गाउने गीतलाई गर्बुजाले सहर भित्राए।

‘पहिलो पटक मैले २०५३ सालमा त्यो रानी बनको तिरतिरे धारो रेकर्ड गरें, म्युजिक नेपालमा। सालैजो भन्ने भाका निकै चर्चामा आयो। एकाएक चर्चा पाउन थालियो’, ती दिन सम्झिए, ‘अहिले रेकर्ड गर्न गाह्रो छैन। गीतसंगीतमा लाग्न र त्यसलाई बजाउन गाह्रो छैन। अहिले युट्युबमार्फत सार्वजनिक गर्न पाइन्छ। गीतसंगीत बजाउन अहिले सबैको पहुँचमा भएको प्लेटफर्महरु छन्। ‘अलिकति ओजनदार मर्यादित, र अनुशासित बनाऔं है भन्ने हो’, उनले भने।

मेलापातमा पसीना र थकाइ भुलाइदिने गतिलो माध्यम थियो– लोकगीत। अहिले गाइने भन्दा पनि सुनिने भयो। अझ हेरिने भयो। यस्तो हुँदा पनि विकृति बढ्दै गएको लाग्छ उनलाई। भन्छन्, ‘अहिले गीतमा विकृति भित्रिएको छ।’

०००

अहिले लोकदोहोरी पनि हेर्ने जमनामा गनिन्छ। बिना भिडियो लोकदोहोरी हेर्न गाह्रो हुन्छ। भिडियोसँगै गीतसंगीतमा छाडापन पनि भित्रियो। यस्तै लोकदोहोरी टुक्काहरू निकै तल्लो स्तरको हुन्छ, जसलाई आमा दिदीबहिनीसँग बसेर सुन्न र हेर्न सकिँदैन। यस्तो किन भइरहेको छ त?

गर्बुजाका अनुसार लोकदोहोरी गीतमा विकृति भित्रिनुको कारण सार्वजनिक गर्ने माध्यम सजिलो भएर हो। उनी भन्छन्, ‘हिजोको दिनमा गीत ल्याउन कि रेडियो नेपाल कि निश्चित टेलिभिजनमा भागदौड गर्नु पर्थ्यो। बीचमा एफएमहरू खुल्यो त्यसले पनि केही सजिलो बनायो। अब अहिले त घरघरमा युट्युब छ। गीतसंगीतमा सेन्सर छैन त्यसैले विकृति मौलाएको हो।’

गर्बुजाले जीवनमा आधार दर्जन बढी एल्बम निकाले तर आफूले कहिल्यै छाडा शब्दलाई मुखमा ल्याएर गीत गाएको सम्झना भएन उनलाई। लोकसंगीतमै धेरै एल्बम ल्याएका गर्बुजाले भिडियो हेर्ने जमना आएपछि रोकिएको हो।

अहिले ती भिडियोमा सार्वजनिक भएका फुटकर गीतलाई संकलन गरे उनका दर्जन गीति एल्बम बन्छन्। त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले, हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई, यो नानीले माया लाउँदैन जस्ता चर्चित गीत समेटिएको सम्झना मनैमा एल्बम निकालिसकेका छन् उनले।

रेडियो क्यासेट हुँदै उनी अहिले डिजिटल दुनियाँमा पनि गीत गाइरहेका छन्। ‘त्यो क्यासेट धेरै बिक्यो। धेरै चर्चा र पैसा दुवै मिल्यो। राम्रो गीत निकाल्ने हो भने, राम्रो कलाकारिता गर्ने हो भने बाँच्न सकिनेरहेछ भन्ने लाग्यो,’ खड्क ती दिन सम्झन्छन्।

तर अहिले युट्युबकै भरमा सांगीतिक क्षेत्रमा निरन्तरता दिन भने गाह्रो देख्छन्। उनी भन्छन्, ‘लोकसंगीतमा लागेर जीविकोपार्जन गर्न गाह्रो छ। धेरै यस्ता स्रष्टा छन् जो पलायन हुनु परेको छ। कि लोकदोहोरी साँझमा गाउन बाध्य छन्।’

आफ्नो उर्जाशील समय गीतसंगीतमा खर्चिएका कयौ युवाहरू पलायन हुनुपर्दा आफैमा दुःखद् हो। देशबाट हराउनु परेको छ। धेरै कलाकारले बाँच्नकै लागि आफूले रोजेको बाटो आफैले बिर्सिनुपरेको छ।

तर गर्बुजा अहिले युट्युब रामरी चलाएकाहरूले अलिअलि भए पनि काम गर्न पाएका छन्। युट्युब प्लेटफर्मलाई सही प्रयोग गर्न सके राम्रो अवसर पनि देख्छन् उनी। भन्छन्, ‘अहिले त जमना युट्युबको हो। तर हामीले आफ्ना सिर्जनाहरूमा गम्भीर भएर त्यसको प्रयोग गर्नुपर्छ। भिडियोको छायांकन, कथा, शब्द भाकामा हामीले सचेत हुनुपर्छ। र कलाकारले बाटो बिराए आफ्ना आफन्त र मिडियाले सच्याउन सघाउनु पर्छ।’

०००

गर्बुजाले एक हजार बढी गीतमा स्वर दिइसकेका छन्। र शारीरिक असक्तताका बाबजुद पनि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा सांगीतिक प्रस्तूति दिँदै आइरहेका छन्।

खड्गले झण्डै हजार गीतमा आवाज दिएका छन् भने दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन्। गीत गाएरै उनी अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत बहराइन, थाइल्याण्ड, कोरियालगायत दर्जनभन्दा बढी देशमा सांगीतिक कार्यक्रम लिएरै घुमिसकेका छन्।

‘पहिलेजस्तो अहिले गीतका एल्बम बिक्दैनन्। गीतै निकालेर एल्बम बेचेर पैसा कमाउँला भन्ने दिन अब रहेन तर स्टेज कार्यक्रमले जीवन चलाउन सकिएको छ’, उनले आफ्नो अनुभव सुनाए।

उनका अनुसार विदेशमा बस्ने नेपालीले लोकसंगीत मन पराइदिने भएकाले नेपाली गायक–कलाकार बाँच्न सकेका छन्। घरको सपना देख्न सक्ने हिम्मत राख्ने भएका छन्।

‘विदेशमा बस्नेहरूले माया सद्भाव गरिदिएकाले नेपाली लोकसंगीत र स्रष्टा बाच्न पाएका छन्। यही काम गरेर बाँच्न सक्छु भन्ने आधार बनेकै विदेशमा कार्यक्रम गर्न पाएर हो’, उनले भने, ‘कतिपय कलाकारको बाँच्ने आधार भनेकै विदेशतिरको कार्यक्रम र स्टेज नै हो। मौलिक लोक संस्कृतिप्रतिको मायाप्रेम देखेर अत्यन्तै नत मस्तक हुन्छु।’

दुवै खट्टाले काम नगरे पनि उनको स्वरले भने एकानसले काम गरेको छ। उनको स्वरले मन जितेको छ। सायद उनको स्वरले नै हो उनलाई काम दिँदै आएको।

शारीरिक अशक्तताको कारण कार्यक्रम स्थलमा जान गाह्रो, मन्च उक्लिन गाह्रो हुन्छ। तर उनको सवालमा त्यस्तो भएन। सम्भवत त ह्वीलचियरमा बसेर देशविदेशमा कार्यक्रम सबैभन्दा जाने आउने उनी मात्रै हुन्।

२०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन यात्रामा लागेको गर्बुजा रेडियो नेपालका जागिरे त भए नै, साथै ह्वीलचियरमै बसेर दर्शकको वाहवाही पनि बटुले। लामो समयदेखि मौलिक लोक संस्कृतिको संरक्षण र गायनमा सक्रिय गर्बुजा भन्छन्, ‘नेपालमा खासै अपाङ्गमैत्री संरचनाहरू छैनन्। लिफ्ट चढ्न अपाङ्गमैत्री छैन। साङ्ग व्यक्तिहरु जति सजिलो छ त्यति सजिलो दोस्रो क्षमता भएका स्रष्टा तथा गायक कलाकारलाई छैन। र पनि मलाई सांगीतिक मञ्चहरू उक्लिन शारीरिक अशक्तताले रोकेन।’

तर अहिले दोस्रो क्षमता भएकालाई न त समाजले सजिलोसँग काम दिन्छ न त राज्यले नै हेर्छ। ती स्रष्टालाई प्रोत्साहन गरेर निरन्तर गीतसंगीतमा लाग्न हौसला दिन हिचकिचाउँछ समाज।

‘यो समस्या राज्यसँग सिधै जोडिएको विषय हो’, उनले भने, ‘अरू देश र त्यहाँको राज्यका तर्फबाट अपाङ्गहरूलाई पर्याप्त भत्ता हुन्छ। न जागिरको लागि भौतारिन पर्छ न बाटोमा बसेर गीत गाउनुपर्ने हुन्छ तर नेपालमा सडकपेटीमा बसेर गीत गाउँदा पनि महानगरले उठाउँछ। होटल तथा रेष्टिरेन्टमा गाएको पैसा दिँदैनन्। मञ्चमा उक्लिन सक्दैन भनेर बोलाउँदैनन्।’

‘राज्यको नीतिभित्र अपाङता भएका व्यक्तिहरु छैनन्। कुनै पनि योजना छैन राज्यसँग। महिनाको भत्ता दिएर अपाङ्गहरूलाई पुग्दैन। कलाकारहरूको हितका लागि काम गर्ने हो भने राज्यको माथिल्लो तहबाटै बलियो नीति कार्यन्वयन गर्नु आवश्यक छ’, गर्बुजाले भने, ‘कार्यक्रममा बोलाउने म अपवाद हुन सक्छु तर अधिकांश अपाङ्ग भएका कलाकारले त्यो अवसर पाउन सक्नुभएको छैन।’

बैशाख १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्