लिगमा सकियो नवौं चरणः शेर्पामाथि फ्रेन्ड्सको रवाफ, थ्रीस्टारसँग चर्च ब्वाइजको अर्को बराबरी

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइजले अपराजित यात्रा नवौं चरणसम्म पुर्‍याएको छ। नवौं चरणको समाप्तिमा जावलाखेल र सातदोबाटोले समान १७–१७ अङ्क बनाउँदै पहिलो र दोस्रो स्थानमा रहँदा एनआरटी र पुलिस रेलिगेशन जोनमा रहेका छन्।

सोमबार भएको खेलमा चर्च ब्वाइजले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो। जारी लिगमा चर्चब्वाइजको यो छैटौं बराबरी हो। सोमबार नै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पामाथि रवाफिलो जित निकाल्यो। फ्रेन्डसले शेर्पालाई ६–० ले पराजित गरेको हो।

च्यासल मैदानमा सोमबार भएको खेलमा दुबै टोलीले गोलको अवसर खेर फाले। बलमा पकड र आक्रामक खेल पस्किए पनि चर्च ब्वाइजले थ्रीस्टारविरुद्ध पाएका मौका सदुपयोग गर्न भने सकेन। थ्री स्टार भने तुलनात्मक रुपमा दबाबमा परेको थियो। बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंङ्क जोडेको छ। थ्री स्टार छैटौं स्थानमा रहेको छ। चर्च ब्वाइज भने १५ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै, फ्रेन्डस क्लबले हिमालयन शेर्पामाथि आधा दर्जन गोल प्रहार गर्दै रेलिगेसन जोन तत्काललाई छाडेको छ। एन्फा कम्प्लेक्समा सोमबार नै भएको खेलमा शेर्पामाथि फ्रेन्डसले ६–० को फराकिलो जित निकालेको हो। यसअघि फ्रेन्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको थियो।

फ्रेन्ड्सको जितमा रफिक अमिनुले दुई तथा एखरोरबेक उक्तामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक–एक गोल गरे। गोलको वर्षा गरेको खेलमा फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्न सफल भएको थियो।

फ्रेन्ड्सले ९ खेलबाट ८ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ। फ्रेन्ड्सले २ जित निकाल्दा २ बराबरी र ५ हारको नतिजा निकालेको छ। पराजित शेर्पा ९ खेलबाट ९ अंक नै जोडेर ११औं स्थानमा रहेको छ।

नवौं चरणको समाप्तिपछि यस्तो बन्यो अंकतालिकाः

बैशाख ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्