अमेरिकामा नयाँ पुस्तालाई लोकसंस्कृति बुझाउन खोज्दै अभिनेता राहुल (भिडियो)

५० को दशकदेखि अभिनय यात्रा थालेका राहुल केसी अर्थात तेजिन्द्र केसी हाल अमेरिका बस्दै आएका छन्। विगत दश वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका केसीले एक दर्जन चलचित्र तथा सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। निरन्तर अभिनयमै क्रियाशील छन्। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का महासचिवसमेत रहेका केसीले नयाँ वर्षका अवसर पारेर वरिष्ठ लोक गायक खड्ग गर्बुजा र ताराश्रीष मगरको स्वरमा रहेको ‘लाहुरेः ठाडो भाका’मा केकी अधिकारीसँग अभिनय गरेका छन्।

युट्युबमा अहिले पनि उनका पुराना गीत हेर्‍यो भने राहुलले लोकप्रिय गीतकार संगीतकार राजनराज सिवाकोटीको मायालु आउने जाने बाटोमा, बिमल डाँगीको बनको काँडाले, अन्जु पन्तको अनि गजलकार भएँ म, र बिछोडको चोट, बैगुनीले, मर्नु न बाँच्नु भयो जिवन, राजेश पायल राई, प्रीति आलेको तिज गीत म्यूजिक भिडियो, म्याग्दीको बयान, ताकमको चिनारी, बेस्ट अफ राहुल र अमेरिकामै पनि रितु कँडेलको रितुका फुलहरु, रिता श्रेष्ठको सपनी बोलेको गीतलगायत दर्जनौँ गीतमा अभिनय गरेका छन्।

२०५४ सालतिर कालीगण्डकी सिनेम्याक्स जस्तो रेकर्डिङ कम्पनी पनि चलाएका केसी २०३८ सालमा म्याग्दीको ताकममा जन्मिएका थिए। किसान, ज्यानमाराजस्ता दर्जन चलचित्रमा अभिनय गरेका केसी अहिले लोकसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभियानमा छन्। अमेरिकामा बस्दै आएका नेपालीका हुर्कदै गरेका नयाँ पुस्तालाई नेपाली लोकगीत, लोकसंस्कृति र बोल्न र संस्कार सिकाउन अभियानका रूपमा अगाडि बढाइरहेका केसीसँग देश सञ्चारले गरेको कुराकानीको सम्पादित अंश :

भर्खरै लाहुरे ठाडो भाका मार्फत आउनु भएको छ । पहिला म्युजिक भिडियोमा अभिनय गर्न सजिलो थियो कि अहिले ?
पचासको दशकमा नेपाली चलचित्रमा अभिनय गर्ने अभिनेतालाई म्युजिक भिडियोमा मोडलिङ गर्न रोकिन्थ्यो । अझ चलचित्रमा नायक हुन संघर्ष गरेकालाई त म्युजिक भिडियोमा मोडलिङ गर्‍यो  कि स्तर घट्छ भनेर सिकाइन्थ्यो । फिल्ममा काम पाइँदैन भनिन्थ्यो। राम्रो पैसा र टिम भएमा आधुनिक गीतमा काम गर्न हौसाए पनि लोकगीतमा काम गर्न दिँदैनथे। चलचित्रका अभिनेता स्वयं लोकगीतमा अभिनय गर्न हिच्किचाउँथे । अहिले त्यस्तो हुँदैन । अहिले त लोकगीतमै अभिनय गर्ने सेलिब्रेटी भएका छन् ।

अहिले मोडलिङ गरेर पनि बाँच्न सकिन्छ?
पैसाको हिसाबमा प्रशस्त आम्दानी नगरे पनि काम चाहिँ निरन्तर पाइने समय आयो । लोकदोहोरीमा अभिनय गर्नेको आफ्नै निरन्तरता छ। पैसा पनि कमाएका छन् । त्यसैले मैले पनि लोकदोहोरी गीतमा अभिनय गरिरहेको छु। पहिला पहिला कम म्युजिक भिडियो बन्थ्यो। अहिले प्रशस्त बन्छन् त्यसले काम पनि नियमित पाइन्छ । सर्भाइभ हुन्छ।

तर आधुनिक गीत र चलचित्रमा अभिनय गरेका कलाकारले लोकदोहोरी गीतमा अभिनय गर्न हिचकिच्याउँछन् नि?
यो काम गर्छु त्यो काम गर्छु भन्ने हुँदैनजस्तो लाग्छ कलाकारले । सकेसम्म सबै काम गर्न हौसिनु पर्छ। अभिनय गर्नेले अभिनय गर्ने हो। दर्शकको मन जित्ने हो। अमेरिका बसाइमा पनि म निरन्तर म्युजिक भिडियोमा काम गरिरहेको छु। साथै अमेरिकामा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ।

अमेरिकाको बसाइ कस्तो छ?
ठीक छ, त्यहाँ कामका साथै नेपाली लोकसंस्कृतिलाई नयाँ पुस्तामाझ फैलाउने अभियानमा छौं।

अमेरिकाको व्यस्त जीवनशैलीमा लोकसंस्कृति तथा सांस्कृतिक कार्यक्रम गर्न सकिन्छ ?
गरे सकिने हो। फेरि अमेरिका बस्ने नेपालीहरूलाई नेपाल खुबै मिस हुन्छ। लोकसंगीत र संस्कृतिलाई सम्झिनेहरू छन् तर नेपालीका नयाँ सन्तति जसले नेपाल र नेपाली लोकसंस्कृति नबिर्सिउन् भन्ने लागेर अहिले हामीले अभियानकै रुपमा सांस्कृतिक कार्यक्रम गर्ने तथा नेपाली पढाउने जस्ता कामहरू गरेका छौं। धेरै कलाकारहरू अमेरिका भासिए पछि काम–काम भनेर आफ्नो प्रतिभालाई बिर्सिने गरेका छन्। तर अमेरिकाको बसाइमा म गीतसंगीतबाट अलग हुन सकेको छैन।

हाल अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) को महासचिव हुनुहुन्छ के गर्दै हुनुहुन्छ?
अमेरिकामा रहेका नेपाली माझ नेपालीपन झल्किने सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका छन् । अमेरिकाको व्यस्त जीवनशैलीका बाबजुद पनि लोकगीतमा अभिनय गर्नु, लोकदोेहोरी गीतलाई बजारमा ल्याउनु, विविध सांस्कृतिक कार्यक्रम गरिरहन र अमेरिकामा हुर्किदै गरेको नेपाली नयाँ पुस्ताका भाइबहिनीलाई नेपाल र नेपाली बिर्सन नदिन लोकसंगीतमै काम गर्न खोजेका छौं। जस्तै अमेरिकामा जन्मिएका, हुर्किएका नयाँ सदस्यले नेपाली संस्कार र संस्कृतिलाई बिर्सिन थालिसके । उनीहरू अंग्रेजी गीत सुन्छन् तर नेपाली गीतको बारेमा अनभिज्ञ छन् । तिनीहरूले नेपाली भाषा र संस्कृति निबिर्सिउन् भन्ने लागेर यस्ता सांस्कृतिक कार्यक्रम गर्छौं ।

नयाँ पुस्ताले सिक्न रहर गरेका छन् ?
उनीहरूलाई सिकाउने त अभिभावकले नै हो । नयाँ भाइबहिनीलाई लोकगीत सुन्ने, सुनाउने र नेपालीहरू मिलेर विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने । यसो गर्दा उनीहरूलाई नेपालप्रति कौतुहुल जाग्ने छ भने नेपालीप्रति माया र सद्भाव जागिरहने छ । साथै मौलिक नेपाली भाषा, संगीतले नेपाली हुँ भन्ने भाव सधैं उनीहरू भित्र जगाइरहन सकिने छ । टिपिकल नेपाली लोकगीतमै हामी कार्यक्रम गर्छौ । दौरासुरुवाल र गुन्युचोली लगाएर साना बालबालिकालाई नचाउने तथा लोकगीत याद गराउने र नेपाली पढाउने अभियानसमेत गरेका छौं ।’

अमेरिका बसेका नेपाली र नेपालीका नयाँ सन्ततीलाई लोक संस्कृति बुझाएर लोकसंस्कृति संरक्षण हुन्छ ?
आफैँ पनि अभिनयमा किन छु भने मेरो परिवारले मलाई हेर्ने छन् र उनीहरूलाई लोकसंस्कृतिप्रति चासो हुने छ । लाहुरे ठाडो भाका पनि प्रदेशमा बसेकाले बढी माया गर्नुहुने छ । नयाँ पुस्तालाई लोकसंगीत संरक्षण गर्न र नेपाली लोकबाजा र गीतसंगीतमार्फत भाषा र संस्कृति बुझाउन खोजिरहेका छौं । नेपाली मौलिक लोकभाकालाई अमेरिकाका विभिन्न स्टेटमा छरिएका नयाँ पुस्ताका भाइ बहिनीलाई बुझाउँदै संस्कृति र संस्कारलाई लिएर कौतुहुल जगाउने कोसिस हाम्रो निरन्तर रहने छ । यही निरन्तरताका लागि नयाँ वर्षमा लाहुरे ठाडो भाका लिएर आएका छु।

बैशाख ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्