‘पोइट आइडल’ले हटायो नीलम गुरुङको भ्रम

नीलम गुरुङ बाल्यकालमा कविता कोर्न डराउँथिन्। लेखेका कविता भए कि भएनन् भनेर आत्तिन्थिन्। कसैलाई सुनाउन हिचकिचाउँथिन्। कक्षा ६ पढ्दा लेखेको पहिलो कविता उनलाई अझै याद छ तर सुनाउन लाज मानिन्।

लाज र संकोचका बाबजुद् पनि उनले कविता निरन्तर लेखिन्, वाचन गरिन्। यही निरन्तरताले उनलाई कवितामाथि बनेको नेपालकै पहिलो टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ को विजेता बनायो। उनी भन्छिन्,  ‘लेख्नै छोडेको भए, कविता भन्नै छोडेको भए के विजेता हुन्थेँ र? सायद निरन्तरता दिँदै जाँदा सफल भएझैं लाग्छ।’

उपाधिका लागि नीलमसहित पल्लवित, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो। रियालिटी शोका ‘डन डिरेक्टर’ निर्देशक अमनप्रताप अधिकारीको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायक थिए।

उपाधि विजेता कवि नीलमले दस लाख रुपैयाँसहित यात्रा पब्लिसिङ हाउसको तर्फबाट ५ लाख बराबरको कवितासंग्रह पनि प्रकाशनको अवसर पाएकी छन्। उपाधि ग्रहण गर्दै नीलमले साहित्यको क्षेत्रबाट नहराउने बताइन्।

उनले साहित्यको डस्टरले नेपाल र सिक्किमबीचको सिमाना मेटिएको बताउँदै गर्दा सिक्किमबासी भावविभोर भएको थियो। साँच्चै उनीभन्दा पनि उनले सिक्किमलाई खुसी बनाएकी छन्।

उनलाई लाग्थ्यो- सिक्किमले कविता अर्थात् साहित्यलाई गतिलो दर्जा दिएन या दिन चाहेको थिएन। जब नीलमले कवितामार्फत् सिक्किमको नाम उँचो बनाइन् तब सिक्किमले साहित्यको शक्तिको महसुस गरेको बताउँछिन्। उनी भन्छिन्, ‘यतिखेर पोइट आइडलमार्फत् सिक्किमले सिंगो काव्य साहित्यमा ध्यानाकर्षण गराएको छ।’

नीलमलाई लाग्थ्यो- कविता अभिव्यक्तिको माध्यम हो या अलिकति कुण्ठा र प्रकृति कवितामा कोरिन्छन्। थकानमा भेटिएको बिसौनी कविता हो या मीठो सम्झना कविता हो तर पोइट आइडलको प्लेटफर्मबाट जब विजेता भएर बाहिरिन् कविताप्रतिको दृष्टिकोण नै बदलिएको लाग्छ उनलाई।

‘अब कवितामा पातहरू कालो देख्ने भएकी छु… पानी हरियो देख्ने भएको छु। आकाश भुइँमा र समुन्द्र माथि देख्ने भएकी छु। कविता सोच्ने स्वतन्त्रतालाई चिन्न सक्ने भएकी छु। साँच्चै कविता लेखन र कविताप्रतिको दृष्टिकोण पनि परिवर्तन भएको छ’, नीलमले आफूभित्र आएको बदलाव सुनाइन्।

नेपाल छोडेर अन्त हामीलाई विदेशी भन्छन्। यहाँसम्म कि दिल्ली जाँदा पनि हामीलाई सिक्किमबासी भन्दैनन्। बरु चिङ्की चाइनिज भन्छन्।

भर्खरै जीवनको तीन दशक उक्लिएकी नीलम शिक्षण पेशाका लागि पाठशाला र घर गरे पनि उनको मनमस्तिष्कमा  थियो र छ- कविता या गीत। कक्षा नौ पढ्दै गर्दा उनी स्कुलबाट घर फर्किँदै थिइन्। अचानक सडक किनारमा उभिएकी एक नानीले भोकाएर पैसा मागिन्। आफ्ना आफन्त कोही नभएको बताउँदै ती नानीले पैसा माग्दा १० रुपैयाँ दिएको स्मरण गरिन् नीलमले। बच्ची त गइन् तर उनको मनबाट बच्चीको भोकले कविता जन्मायो, जसको शीर्षक थियो- सानो उमेरको व्यथा।

हेर बिहानी छाइसक्यो,
चरीले गीत गाउँदैछ 
सूर्य खुसीले हाँसी सक्यो
शीतल हावा अब फैलिँदैछ

आफूले लेखेका सबै कविता आफैंलाई मन पर्दैनन् उनलाई। यस्तै मन नपर्ने कविता लेखेकी थिइन् सिकाइका दिनमा। साथीहरूमाझ कविता सुनाउँदै हिँड्दा-हिँड्दै घान्तोक देउरालीमा कविता कोर्ने कवयित्रीमा परिचित नाम बन्यो नीलमको।

पाठशालामा गुरुहरूले भानु जयन्तीको अवसरमा कविता कोर्न दिन्थे। कविता कोरेर दिएपछि वाचन गर्न लगाउँथे। उनी कवितामा डुबेर वाचन गर्थिन्। उनको वाचन गर्ने शैलीले उम्दा ताली पाउँथ्यो। प्राजर नाम्देङ गर्ल्स सेकेण्डरी स्कुलका हरेक वार्षिक उत्सव र कविताका कार्यक्रममा उनी कविता भन्न जान्थिनन् कविताको प्रस्तुति दिन जान्थिन्। तर उनी भन्छिन्,  ‘गुरुहरूले कविता वाचन गर्न नदिएको भए प्रस्तुति निखारिन्थेन।

तर कवितामा पनि प्रस्तुति चाहिन्छ भन्ने उनलाई थाहा थिएन तर उनको ‘बोल्ड भ्वाइस’ र हाउभाउले कवितामा प्रस्तुति निर्माण हुँदै गएको रहेछ।

कविता मात्रै कोरिनन् गीत पनि कोरिन। कविता लेख्दालेख्दै गीत गुनगनाउँदै कोर्थिन्। उनी गीत पनि गाउँथिन्। गीत मात्रै गाइनन् गीत गाउनकै लागि ब्यान्डमा जोडिइन्। भन्छिन्, ‘म शिक्षण पेशामा पनि आबद्ध छु, मेरा विद्यार्थी गीतमा मात्रै रुचि राख्दैनन् कविता लेख्न र वाचन प्रस्तुतिमा पनि ध्यान दिन थालेका छन्। मेरा विद्यार्थी र मलाई पनि हौसला मिलेको छ।’

नीलम द पोइट आइडलमा आएयता उनका केही म्युजिक भिडियो पेन्टिङ छन्। पुरस्कारस्वरूप पाएको केही रकमले उनी रोकिएको म्युजिक भिडियोलाई बजारमा ल्याउने सोच बनाएकी छन् उनले। कुनै समय झ्याम्पा प्रडक्सन खोलेर गीत/संगीतमा काम गर्न खोजेकी नीलम राम्रो गायिका पनि हुन्। आधिकारिक कक्षा कसैसँग नलिए पनि उनले आफ्नो प्रतिभालाई मर्न दिइनन्।

गीतसंगीतको खानी दार्जिलिङ र सिक्किमको माटोमा जन्मे हुर्किएकी नीलम आरोग्य नाम गरेको ब्यान्डमा जोडिइन्। ब्याण्ड खोलेको दश वर्ष भयो अहिले। ‘आरोग्य व्याण्ड अहिले अन्तर्राष्ट्रिय भइसक्यो। साथी अझै त्यसैमा भविष्य खोज्दै छन् । तर कविलेखक ब्याण्ड छायामा पर्नुपर्दो रहेछ। त्यसैले छोडेर कविता कर्म र शिक्षण पेशामा लागेको थिएँ’, नीलमले तीतो अनुभव सुनाइन्।

नीलमले सांगीतिक यात्राकै क्रममा सिक्किम राज्यलाई चाहिने जनचेतनामूलक नाटक र सन्देशमूलक गीत पनि गाइन्। बाबरी चलचित्रमा सानो डाक्टरको भूमिका गरेकी नीलम कुनै समय नाटक पनि गर्थिन्। नाटक लेखिन् र मञ्चन पनि गरिन्। उनी भन्छिन्,  ‘गायिका बन्ने रहर थियो, तर कवि बनाइदियो समयले। अझ पोइट आइडलले कविताको दुनियाँमा पुर्‍याइदियो। जेजस्तो विधामा काम गरे पनि कविताले मलाई स्थापित गर्‍यो।’

आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नीलमका हजुरबुवा केदार गुरुङ साहित्यमा रुचि राख्थे भन्ने उनले सुनेकी थिइन्। हजूरबाले लेखेको देखिनन् उनले। आफूलाई कविता लेखनमा हजूरबुवाको प्रभाव परे पनि अहिलेका चर्चित कवि मानबहादुर सुब्बा, राजा पुनियानी, प्रवीण खालिङ, मनोज बगोटी, एनवी भण्डारी, मनोज बोगटीजस्ता कवि स्रष्टाको नाम लिइन् छोडिनन् उनले्।

स्कुल जीवनमा कवि, गीतकार अगमसिंह गिरीका प्रभाव परेको बताउँछिन्। आजका चर्चित कविसँग संगत नगरे पनि उहाँहरूको कविताको साथ र सहयोग मिलिरहेको बताउँछिन् उनी। नेपालमा पहिलेका कवि भूपि शेरचन र अहिलेका महिला कवि मोमिला जोशी मन पर्छ उनलाई।

पोइट आइडल सुरु हुन केही दिन अगाडिसम्म उनलाई द पोइट आइडलको प्लेटफर्मप्रति विश्वास थिएन उनलाई। नारीवादप्रति ढल्किएका कविता कोर्ने बानी बसालेकी नीलम बिक्की अग्रवाल र विश्वास तिमिल्सनाको नाम लिन्छिन् जसका कारण उनी पोइट आइडलको मञ्च उक्लिन सकिन्। जब पोइट आइडलमा प्रवेश गरिन् तब वादमा कविता लेख्न भ्रम हटेको बताउँछिन्।

‘नारीवादी दृष्टिकोणमा झुकाव रहेछ मेरो। म वादमा सीमित भएकी रहेछु। जब आइडलले विषय दिएर कविता लेख्न लगायो अनि थाहा भयो कविता लेख्न कुनै वाद चाहिँदो रहेनछ’, आफ्नो बुझाइ सुनाइन् उनले ।

द पोइट आइडल परिवारसँग बसेर उनले कविता मात्रै लेख्न होइन, टिम म्यानेजमेन्ट गर्न पनि सिकेको बताउँछिन्। ‘म के भ्रमबाट मुक्त भएँ भने कविता वादमा टेकेर मात्रै लेखिँदो रहेनछ, स्वतन्त्र भएर पनि लेखिँदो रहेछ। एक्लो भएर लेखिँदो रहेछ।’

पोइट आइडलको यात्रामा उनले १२ वटा कविता सुनाइन्। जब सहर, सपना र संघर्ष विषयमा कविता कोर्न लगाएपछि उनले कविता कोरिन्- ओ काठमाडौँ। यो कविता कोर्दा उनी बसन्तपुर र बागमतीको किनार गइन्। सहर नियाल्दै हिँडिरहँदा बसन्तपुरमा एउटा बोर्डमा अंग्रेजीमा लेखेको अक्षर देखिन्- मुन्सीपाल्टी। ब्रेटबम लिएर छोरीलाइ खुवाइरहेकी मकै पोल्ने आमा देखिनँ। त्यसपछि उनको मनमा आयो- ओ काठमाडौं, जसको अन्तिम हरफ उनले वाचन गरिन्ः

ओ काठमाडौँ
कसरी दिलाऊँ न्याय तिमीलाई
जब म आफैं निर्दोष भएर पनि दोषी छु
कसरी लेखूँ तिम्रो सहरको कविता
म त आफ्नै देशमा विदेशी छु

‘सायद यही कविताले हो मलाई चिनाएको’, कविता सुनाउँदा-सुनाउँदै उनले भनिन्। कवितामा राष्ट्रप्रतिको यतिविघ्न प्रेम देखाउने भाव कसरी पैदा भयो भन्ने प्रश्नमा उनले भन्छिन्,  ‘नेपाल छोडेर अन्त हामीलाई विदेशी भन्छन्। यहाँसम्म कि दिल्ली जाँदा पनि हामीलाई सिक्किमबासी भन्दैनन्। बरु टिंकी चाइनिज भन्छ।’

‘ए सिक्किम कहाँ है भनेर सोध्छन् दिल्लीबासी हामीलाई तर हामी राष्ट्र गान गाउँछौँ। हामी स्वतन्त्र दिवश मनाउँछौँ। भारतको कानुन मान्छौँ, हामी भारतलाई धेरै माया गर्छौँ। तर कतिपय ठाउँमा हामीलाई स्वीकार्दैनन्। कतिसम्म भने यो कविता वाचन गर्नुअगाडि सेन्टरलाई एउटा पत्र लेखेर पास गर्नुपर्‍यो।’

‘अहिले सिक्किमलाई चिनाउने कविता ‘ओ काठमाडौं’ त्यतिखेर पोइट आइडलको मञ्चमा बाचन गर्नुअघि सेन्सर पास गर्नु पर्दा साह्रै दुख्यो मन। यहाँसम्म की मलाई मन पराउने सिक्किमबासीको पनि मन दुख्यो। न हामी भारती हुन सक्यौँ न नेपाली हुन दियो। यस्तो विडम्बना कहिलेसम्म खप्नु हामीले?’

बोल्दाबोल्दै भावुक भएकी नीलम फेरि थप्छिन्, ‘जब दुख्छ नि अनि कविता आउँदोरहेछ। यो कविता दार्जिलिङ र सिक्किममा समर्पित छ।’ नीलमका अनुसार अहिले पनि सिक्किममा बागमती प्रसिद्ध छ।

अहिले पनि काठमाडौँ ऐतिहासिक छ। तर यहाँ आएपछि खिन्न भएको अनुभव सुनाउँछिन्, ‘अझ त्यतिखेर खिन्न भएँ जतिखेर बागमतीको किनार उभिएर चुरोटको अन्तिम ठुटो फ्याँक्यो कुनै मान्छेले। अनि मनमनै सोधेँ- यो बागमती ननुहाएको कति भयो होला?’

 

बैशाख १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्