सर्वोच्चको आदेशले नागरिकको स्वच्छ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि: बालेन

फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, स्वच्छ र स्वस्थ्य वातावरणमा बस्न पाउने नागरिक अधिकारको गम्भीरता थप पुष्टि भएको बताएका छन्।

सिंहदरबारसमेतका क्षेत्रबाट फोहरमैला नउठाइएको सम्बन्धमा सर्वोच्च अदालतबाट प्राप्त आदेशपछि प्रतिक्रिया दिँदै प्रमुख शाहले, निश्चित क्षेत्रको फोहरमैला नउठेको विषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि भएको बताएका हुन्।

काठमाडौँ महानगरले फोहरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापन तथा सरसफाइसँग सम्बन्धित कामलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको छ। यो कामलाई सार्वजनिक सरोकारको विषयका रूपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति महानगरले आभार व्यक्त गरेको छ।

अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा प्रष्ट, प्रतिबद्ध र दृढ रहेको उल्लेख गर्दै प्रमुख शाहले, अदालतका फैसला, आदेश र निर्देशनहरू काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक रहेको बताएका छन्।

प्रमुख शाहले, बागमती, बिष्णुमती र मनोहरा तथा यी नदीमा मिसिने सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालनामा सम्बन्धित उदासीन रहेको बताए।

तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारी बोध गर्न जरुरी रहेको महानगरले जनाएकाे छ।

संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्य रुपमा समन्वय, सहकार्य गरेर सहअस्तित्वका आधारमा नागरिकका समस्याको यथाशीघ्र समाधान गर्नु पर्ने कुरा उनले दृढताका साथ व्यक्त गरेका छन्।

सहरी स्वच्छता, नदी लगायत प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन, जनजीविका, सहरी व्यवस्थापन र सुविधा वितरणलगायत विषयमा महानगरले अगाडि सारेका काम सञ्चालन गर्न सरकारले समन्वय र सहयोग गर्न नचाहेको बताउँदै चैत २५ गते शनिबारदेखि सिंहदरबार क्षेत्रको फोहोर संकलन नगर्न आदेश दिएका थिए।

यसपछि चैत २७ गते फोहोर संकलन कार्य बन्द गर्नु परेको कारणबारेमा सर्वसाधारणलाई जानकारी दिएका थिए।

बैशाख १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्