लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चाैधरीले लिए विश्वासको मत

फाइल तस्बिर

दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत प्राप्त गरेका छन्।

आज मंगलबार बसेको प्रदेशसभाको बैठकबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलकाे नेतासमेत रहेका मुख्यमन्त्री चाैधरीले विश्वासको मत लिएका हुन्।

उनले मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा विश्वासको मत लिएका हुन्।  उनकाे पक्षमा ५३ र विपक्षमा २९ मत खसेकाे छ। ८७ जना प्रदेश सभा सदस्यकाे बहुमत प्राप्त गरेपछि विश्वासकाे प्रस्ताव स्वीकृत भएको सभामुख तुलाराम घर्तीले सदनलाई जानकारी दिए।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तथस्ट बसेको छ। राप्रपाका चार सांसद् मध्ये दुई जना मात्रै उपस्थित थिए।  उपसभामुख मेनुका खाँड केसी र जानकीप्रसाद यादव मतदानमा सहभागी भएनन्। साथै मिना श्रेष्ठ र आशिष चाैधरी उपस्थित भएनन्। यसअघि मुख्यमन्त्री लीला गिरीले विश्वासकाे मत लिँदा राप्रपाका सांसदहरू पक्षमा मतदान गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि बल्ल सरकारले पूर्णता पाउने छ।

लुम्बिनीमा अहिलेको मन्त्रीपरिषद्मा सहभागी मन्त्रीले जिम्मेवारी पाएका छैनन्। नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

बैशाख १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्