लुम्बिनी क्षेत्रको विकासमा सरकारले विशेष चासो राखेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर स्रोत: प्रधानमन्त्री सचिवालय

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी क्षेत्रको विकासमा सरकारले विशेष चासो राखेको बताएका छन्।

लुम्बिनीमा आयोजित २५६७औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले वृहत्तर लुम्बिनीको विकासमा चासो दिएको बताए।

उनले लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रूपमा विकास गरिने उल्लेख गर्दै तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने क्रममा रहेको बताए।

प्रधानमन्त्रीले विश्वमा शान्तिको सन्देश फैलाउने लुम्बिनीको विकाससँगसँगै बौद्धमार्गीहरूको केन्द्र बनाउने बताए।
क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताएका हुन्।

यस्तै, पर्यटन मन्त्री सुदन किरातीले बुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताएका छन्।

उनले लुम्बिनीलाई धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्दै पर्यटक आगमनको केन्द्र बनाउने बताएका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने-जाने विमानलाई नियमित गरिने बताउँदै उनले थप मुलुकमा उडान गर्ने तयारी भइरहेको बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनिअघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरू निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए। मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गरे।

बैशाख २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्