जीवनको जतन धेरैमा होइन तन, मन र वातावरणबीचको सन्तुलनमा टिकेको हुन्छ

‘खाना खानु भयो?’
हामी भेटघाटको क्रममा प्राय: सोध्ने गर्छौ। अझ साँझ र बिहानको भेटमा सोधिने वाक्य हो यो। अमेरिका बस्ने नेपालीलाई नेपाल बस्ने बा-आमाले सम्झाइरहेका हुन्छन्, ‘खाना समयमै खानु है।’
नेपाली समाजमा खाना पकाएर खानु एक संस्कृति हो। खाना पकाएर ईश्वरलाई चढाउनु अथवा चुह्लोमा चढाइसकेपछि घरपरिवारसँग बसेर खाना खाइन्छ। खानाबाटै हाम्रो शरीरको निर्माण हुन्छ। पारम्परिक खानामा- भात, दाल, तरकारी, अचार, रोटी, दूध, घ्यू, हरियो साग, माछामासु, सेलरोटी आदि पर्छन्। सेलरोटी त हामी साँझ बनाएर अर्को दिनको बिहान खाने पनि गरिन्थ्यो। यी खाना अत्यन्तै स्वस्थ्यकर हुन्थे।
तर सहरमा मानिसको जीवनको भागदौडसँगै खानामा अनियमितता बढ्यो। हामी काम-काम भनेर हिँडेकाहरू समयमा खाना खाँदैनौँ। बाहिरको फास्टफुडहरू खाने गरेका छौँ। यस्तो जीवनशैलीले हाम्रो स्वास्थ्यलाई कति असर पारेको छ? यस आधुनिक जीवनशैलीले हामीलाई कतातिर लगिरहेको छ? लेखक डाक्टर जीवनकुमार प्रसाईंकाअनुसार अहिलेको उपभोक्तावादले स्थापना गरेको विश्वव्यापी फुड उद्योगले हामीलाई पकाएर खान बिर्साइदिँदै लग्यो।
‘तडकभडक जीवनशैलीका कारण पकाएर खाने समय रहेन मानिसमा। मानिस छिटो प्रगति गर्न चाहन्छ, गन्तव्यमा छिटो पुग्न चाहन्छ। यसैका कारण हामी छिटो-छरितो खाने कुरा खोज्न थाल्यौँ तब फुड पनि ठूलो उद्योगको रूपमा आयो। फुड सेक्रेटरी त बढायो। जस्तै च्याउचाउ खाजाको रूपमा प्रयोग आएको छ, पेट पनि भरिन्छ। तर त्यसले के गरायो भने स्वास्थ्यलाई चुनौती दिँदै लग्यो’, लेखक प्रसाईंले भने।
हाल संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अलाबामामा सहप्राध्यापकका रूपमा कार्यरत प्रसाईंले जीवनशैलीमाथि नै चार पुस्तक लेखिसकेका छन्। नेपालयबाट प्रकाशन भएको ‘जीवन जिउने काइदा’, ‘सधैं तन्नेरी’, वरिपरि नै सर्वोपरि, र ‘धेरैको धपडी’ जस्ता किताब प्रकाशनमा छन्।
खानपानमा ध्यान दिन सकेकै कारण हामीले आफ्नो स्वास्थ्यलाई बिगार्दै लगेको बताउँछन्। उनी भन्छन्, ‘अहिलेका युवाले खानपानलाई खासै महत्त्व दिँदैनन्। बजारमा बनेका फास्टफुड प्लास्टिकमा प्याक भएर आउँदा खानाको पोषण मर्छ र वातावरण पनि प्रदुषित हुन्छ। नेपाली समाजमा त परिवेशअनुसार र संस्कृतिअनुसार खाना रैथाने बनाइएको छ। यतिसम्म कि बिहान पकाएको खाना बेलुका खानु हुँदैन भनिन्छ। अथवा बेलुका पकाएको खाना बिहान खान हुँदैन भनिन्छ। खानामा पवित्रता छ। त्यसैले पकाएको खाना नसेलाउँदै -अर्थात् मनतातो हुँदैमा खाइन्छ। जस्तै सागलाई त करेसाबाट टिपेर धोएर थोरै भुटुन हालेर पल्ट्याङपुल्टुङ पारेर खाइन्थ्यो तर अहिले त्यो समय रहेन।’
खानालाई गम्भीर नलिनु भनेको आधुनिक जीवनशैली र सधैंको धपडी मान्छन् लेखक प्रसाईं। यस्तो जीवनशैलीले हामीलाई कतातिर लगिरहेको छ? बदलिँदो वातावरण र हाम्रो जीवनशैलीलाई सरल र स्वस्थ्यकर बनाउन खानपानमा सचेत हुनुपर्ने बताउँछन् उनी।
सामाजिक परिवेश र सांस्कृतिक धरातलमा टेकेर हेर्ने हो भने स्वस्थ जीवनशैली आजको इन्टरनेटको युगमा आइपुग्दा धेरै तलमाथि हुन पुगेको लाग्छ प्रसाईंलाई।
‘स्वस्थ्य जीवनशैली जीवनदर्शनसँग जोडिएको हुन्छ। आरोग्यतालाई ठ्याक्कै यसरी बनाउन सकिन्छ भन्न त सकिन्न। तर बहुआयामिक कुरा हो यो। पहिलेदेखि नै मैले भन्दै आएको कुरा हो’, उनी भन्छन्, ‘आज विश्वमा मान्छेका आयु त बढ्यो। कोही पनि भोकमरीले मर्नु परेको पनि छैन। तर हामी स्वस्थ्य जीवनशैली जीउन सकेका छैनौँ।’
जस्तै समाजमा कि महामारीका कारण मान्छे रोगी भएका हुन्छन् कि बाउआमाको जिनका कारण रोगी भएका हुन्छन् तर हामी आफूले खाइरहेको खानाको कारण रोगी हुन पुगेका छौँ। उनी भन्छन्, ‘खास रूपमा हामीलाई क्रोनिज डिजिज आएको छ। दीर्घरोग चाहिँ जीवनशैली हुन्छ। महामारी चाहिं वातावरणमा रोग सर्नाले सर्छ तर हामी रोगी भएको चाहिं हाम्रै क्रियाकलाप हो।’
जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरूको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका प्रसाईंकाअनुसार खानपान जीवनशैली जेनेटिक फ्याक्टहरू छन्। जीन, खानपान, जीवनशैली र वातावरणमा आधारित पुस्तक लेखेका प्रसाईं आफ्नो स्वास्थ्यप्रति सचेत नहुनाले पनि रोगी हुँदै आएको बताउँछन्। र यो समस्या विश्वव्यापी हो।
बिहानदेखि बेलुकासम्म भागदौड छ। दिमाग अर्को ठाउँमा केन्द्रित छन्। मानिस बेचैन छ, मन अशान्त छ। मानिसलाई स्ट्रेस छ। भावनात्मक थकान छ। खानपान र जीवनशैली अर्कै भएको छ। घरभित्र खाना पकाएर खाने चलन हराउँदै छ। तनावको लेवलतिर गयो मानिस। ब्लडप्रेसेर, डिप्रेसन, सुगरजस्ता रोग लाग्नु सामान्य भयो। प्याकेटको खाना मैदाको परिकार बढी खान थालियो।
‘हाम्रा शरीर भनेको बाहिरबाट भित्र प्रवेश गर्ने हो। हाम्रो डिएनए र शरीरको सम्पूर्ण चिज त्यो खाद्य पदार्थमा भर पर्छ’, लेखक प्रसाईं भन्छन्, ‘अहिले हामी खाना पकाएर, बिस्तारै केलाएर सफा गरेर हामी खाना खाँदैनौँ। प्याकेटको खाना खान थाल्यौँ। बाहिर खाने गरियो। फास्टफुड भनेको आवश्यकता भन्ने थाहा हुँदैन। क्यालोरी बढ्ता खान थालियो, यो विषयमा विस्तृत रूपमा धेरैको धपडीमा पनि लेखेको छु।’
वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता रहेका प्रसाईंका अनुसार विविधताले भरिएको शरीरलाई विभिन्न किसिमका पदार्थ वा तत्व चाहिन्छ। ठूलो भाग खोज्ने मनको स्वभाव हो, शरीरको आवश्यकता होइन।
धेरै धौडधूपका कारण हामी बजारको प्लास्टिकमा प्याक भएका खानालाई खाइदिन्छौँ। मीठो पनि हुन्छ। त्यस्तो खानालाई हामी विश्वास गर्छौँ जसमा न लेबल हुन्छ। उनी भन्छन्, ‘उत्पादन र भौतिक सुविधा जतिसक्दो धेरै बढाएर जीवन सम्पन्न र सुखी बनाउन सकिन्छ भन्ने उपभोक्तावादी सोंचले आज मानिस र वातावरण बीचको सन्तुलन खलबलिएको छ।’
जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधी विज्ञानमा विद्यावारिधि गरेका लेखक प्रसाईंका अनुसार घरायसी (खाना, आवास, यातायात आदि) आवश्यकता यति धेरै बढ्यो कि त्यसको उत्पादन र उपभोगका कारण बाँच्नका लागि नभइ नहुने स्वच्छ हावा, पिउने पानी, र कृषियोग्य मलिलो माटोको पहुँच आमरूपमा कमजोर भयो। बसिखाने जीवनशैलीले दीर्घरोग बढायो। वातावारणीय परिवर्तनले सङ्क्रामक रोगहरूको प्रकोप घटेन। उनी भन्छन्, ‘पहिले निदाउन सजिलो थियो अहिले निदाउनै नसक्ने भइयो। जतिजति सम्पन्न जीवनशैली भयो त्यति निदाउन गाह्रो भयो। राम्रो निद्रा, भोजन, र शारीरिक व्यायम हुनु आवश्यक छ। तर यी तीनै कुरा हामीले समयमा नगर्दा रोग बढाइरहेका छौँ।’
‘कसरी हाम्रो टास्क पूरा गर्ने मात्रै हुन्छ। विकसित देशमा भन्दा पनि बढी छ यहाँ’, लेखक प्रसाईं भन्छन्। सम्पन्न व्यक्ति बन्ने दौडमा रहेको हुँदा पनि जीवनमा खानाको महत्त्व दिन सकेनौँ। औषधीले निको पार्न नसक्ने रोग प्रदूषण अनिद्रा, अशान्ति सबैतिर व्याप्त छ। आज समृद्धि बढ्यो तर त्यसअनुसार सुख बढेको छैन। उनी लेखेर आफ्ना पुस्तकमार्फत् पाठकलाई सचेत गराउन चाहन्छन्। विज्ञान र प्रविधिको किताब हुँदाहुँदै पनि उनले सरल र सहज शैलीमा उपन्यासको अनुभवमार्फत् बुझाउन खोजेका छन्।
उनका अनुसार खाना खाने बेला सबै इन्द्रियहरू एकाग्र हुनुपर्छ। हामीसँग त्यो चेतना नभएको होइन तर लापर्वाहीका कारण बुझेको कुरा पनि लागू गर्दैनौँ भन्ने गुनासो गर्छन् प्रसाईं। मानिसले खानपान गर्ने समय तालिका मिलाउन सकिरहेको छैन। लेखक प्रसाईंकाअनुसर अहिले लञ्चबक्सले समेत प्रदूषण बढाउने गर्छ।
‘अहिलेको भागदौड जीवनशैली र बेचैनीको खानपान सिर्जना गरेको पुँजीवाद, उपभोक्तावाद हो’, उनी भन्छन्, ‘हामीलाई त अहिले पैसा हालेको खानेकुरा पो खानपान मात्रै मन पर्न थाल्यो। घरमा भन्दा होटल र रेस्टुरेन्टमा बसेर खान मन पर्न थाल्यो, जहाँ मसला, र तेलजन्य पदार्थको बढी प्रयोग हुन्छ।
चिल्लो खाने, पिरो खाने, एउटा परम्परागत खाना बनाइन्छ अर्को सांस्कृतिक तथा धार्मिक, सम्पदाको रूपमा देखिएको खाना खाइन्छ तर अहिले नेपाली समाजको खानपान कता गइरहेको छ?
उनले आफ्नो पुस्तक जीवन जिउने काइदामा लेखेका छन्, ‘नेपालको सम्पदाको रूपमा देखिएको अर्गानिक खानपान हराउँदै गएको छ। अहिले बजारमा विषदियुक्त तरकारी खान बाध्य छौँ। पहिले घ्यूको भुटुन खाने गरिन्थ्यो। कतिपय गाउँमा अहिले पनि खान्छन्, तीलको तेल तोरीको तेल खाइन्थ्यो। ती अत्यन्तै स्वस्थ्यकर थिए। चाडबाडमा पनि अनेक परिकार बनाइन्थ्यो।
डाक्टर प्रसाईं ओखती विज्ञ पनि हुन्। तर नेपालमा अहिले आफूलाई केही समस्या भइहाल्यो भने डाक्टरलाई देखाउन झन्झट मान्छन्। कतिपय डाक्टर त मेडिकल वा फार्मेसीमै हुन्छन्। औषधी मागेर खाइन्छ। औषधी भनेको बुझेर मात्रै खानुपर्छ भन्छन् प्रसाईं। बहुऔषधीहरू वनस्पतिबाटै आएका हुन् त्यसलाई हामीले चिन्न नसकेको मात्रै हो।
‘पश्चिमा औषधीहरू पनि वनस्पतीबाट आएका हुन्। साइन्स अथवा परम्परा दुवै कम्पलिमेन्ट्री हो। आरोग्यता भनेको एउटा चिजले मात्रै प्राप्त हुँदैन। वेस्ट्रन मेडिसेन (ल्याप) हुन्छ, अर्को पूर्वीय दर्शन (कम्प्लिमेन्ट्री मेडिसेन) यी दुवै आवश्यक छ। फरक-फरक समुदायमा आफूले चिनेको बुझेको आधारमा जडिबुटीमार्फत् आयुर्वेदिक औषधी बन्छ। वैकल्पिक रूपमा पनि प्रयोग हुन्छ’, उनी भन्छन्, ‘अहिले मेडिटेसन भनेको पनि यही पूर्वीय दर्शन अनुसार हुने हो। ध्यान हुने योगा गर्ने यस्तै हो। दुवै चीज सँगै लिएर जान सकियो भने होलिस्टिक ठिक हुन्छ।’
पाम्पारिक औषधी विज्ञानको ज्ञान पश्चिमा डाक्टरलाई दिइएन भन्ने बुझाइ छ उनको। आफ्नो विधावारिधि जापानबाट नै गरेका प्रसाईंलाई जापान र नेपालको खानपान धेरै हदसम्म मिल्ने लाग्छ। ‘भात खान्छौँ, नुन खान्छौँ। तातो खाना खान्छौँ। हामीहरू थालमा धेरै खाना खाने छौँ र जापानिजहरू कचौरामा खान्छन्। तर उनीहरूको धेरै हदसम्म स्वस्थ्य छन् किनकि खानालाई उनीहरू तालिका बनाएर खान्छन्, हामी तालिका बनाएर खाना भ्याउँदैनौँ’, उनले आफ्नो अनुभव सुनाए।
स्वास्थ्य चेतना हुनुपर्ने आवश्यक देखाउँछन् उनी। विस्तारै नियमहरू र व्यक्तिगत सोच र परम्परागत सोच पनि बुझ्न आवश्यक छ। हामी तन्नेरी हुनुभन्दा पनि स्वस्थ हुनु पर्छ भन्ने हो। तन्नेरी भनेको सक्रियता देखाइरहनु हो भन्छन्।
हामीले मेन्टन गर्न सक्यो भने बुढो हुँदा पनि आत्मबलका साथ बाँच्न सक्छौँ भन्ने बुझाइ छ उनको। खानपान र जीवनशैलीलाई मिलाउन सक्नुपर्यो। मर्ने बेलामा युवाजस्तै भएर मरौँ भन्ने छ। युवा अवस्थादेखि आफनो जीवनशैलीलाई ध्यान दिन सकियो भने सधैंभरि स्वस्थ हुन सकिन्छ। उनकाअनुसार राज्यले वातावरण स्वच्छ बनाउन जोड गर्नुपर्यो।
‘राज्यले खानपान, जीवनशैलीलाई स्कुलस्तरबाट पढाइ सुरु गरोस् र पितापुर्खाले कस्तो खाइरहेका छन् भन्ने विषय शिक्षामा मात्रै ल्याएर भएन, स्कुलले मैदाको परिकार बेच्न छोडेर बालबालिकालाई परम्परागगत खाना र खाजा खुवाओस्’, उनी भन्छन्, ‘बालबालिकाले परम्परागत खाना र खाजा बिर्सिँदै गएका छन्, ती बालबालिकाहरू युवा उमेरमै रोगी हुन पुग्छन् त्यसो हुँदा स्कुलमा विद्यार्थीलाई खानपानको विषयमा पढाइँसँगै अभ्यास पनि गरियोस्।’
‘हाम्रो परम्परामा खानालाई अत्यन्तै महत्त्व दिएको हो, तर हामीले बिर्सिन थाल्यौँ। मैदाका परिकार र बाहिरको खानाको स्वादमा हामी रमाउन थाल्यौँ। जीवनको जतन धेरैमा होइन तन मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ भन्ने चेतना आज हराउँदै गएको छ’, उनी थप्छन्।