कृषि व्यवसायलाई सरकारले संरक्षण गरेन भने धरासायी हुन्छ

यस्ता डाक्टर, जसले २५ विगाह जमिन हराभरा पारे

सन् २०१३ को डिसेम्बरमा डेनमार्कको एएआरएचयुस विश्वविद्यालयमा अर्गानिक एग्रिकल्चर विषयमा पिएचडीका लागि भर्ना भएपछि चितवन माडी निवासी भानेश्वर पोखरेलले नेपाल फर्किउँला भन्ने सोचेकै थिएनन्। सन् २०१७ मेमा पिएचडीको पढाइ सकेर कृषि विज्ञ बनेलगत्तै डेनमार्कमा कामको कमी भएन।

एग्रो बायोलाेजीमा मास्टर्स र अर्गानिक एग्रिकल्चरमा थेसिस गरेका डाक्टर भानेश्वरलाई डेनमार्कको सिल्कबर्गस्थित प्रतिष्ठित कम्पनी ग्रिनएफले काम दियो। सुरुवातमा कम्पनीले उनलाई (रिसर्च साइन्सटिस्ट) अनुसन्धान वैज्ञानिक रूपमा अनुबन्धित गर्‍याे। त्यसपछि उनलाई पैसा कमाउन गाह्रो भएन। पढेकै विषयमा अनुभव बटुल्न पनि गाह्रो भएन।

अर्को एक वर्ष नलाग्दै सोही कम्पनीले अर्गानिक मलमाथि रिसर्च गराउन अनुसन्धान वैज्ञानिकको रूपमा खटायो। त्यसपछि उनले प्रशस्त कमाउन थाले। जुन कमाइ नेपालमा कत्ति सम्भव थिएन। उनले अर्को वर्ष सोही कम्पनीको डाइरेक्टर हेड भएर काम गर्न थाले। डाक्टर उपाधि लिएर डेनमार्कको नामी कम्पनीमा लाखौँ तलब थाप्ने हैसियत बनाएका भानेश्वर त्यहाँ खुसी हुन भने सकेनन्। कम्पनीले दिएको सुविधा सम्पन्न जीवनशैलीलाई उनले कत्ति पनि आत्मसाथ गर्न सकेनन्। आठ-दश वर्षमै डेनमार्कको कमाइ र काम गराइप्रति वितृष्णा लाग्ला भनेर सोचेका थिएनन् उनले। डाइरेक्टर भएर काम गरिरहँदा पनि उनी नेपाल सम्झिन्थे। नेपालको माटो सम्झिन्थे।

‘नेपालमा पनि यत्तिको काम गर्न सकिन्छ भन्ने सम्भावना देख्न थालेपछि डेनमार्क बसाइ बेचैनीका साथ गुज्रिन थाल्यो’,  उनले त्यतिखेरको अनुभव सुनाए, ‘जे मैले डेनमार्कमा गरिरहेको छु यो नेपालमा पनि गर्न सम्भव छ भन्ने भावनाले झकझकाइरहन्थ्यो।’

‘पहिला त म गाउँ फर्किएको थिएँ तर माडीबाट काठमाडौँमा कृषि फार्म खोल्नु भनेको डेनमार्क पुग्नुजस्तै लाग्यो। हुन पनि काठमाडौँबाट चितवन बसमा आउनु र काठमाडौँबाट डेनमार्क प्लेनमा जानु उस्तैउस्तै समय लाग्ने देखेपछि चितवनमा फार्म खोल्ने सोचेँ, फेरि मनले भन्यो- फार्म नै खोल्ने भएपछि आफ्नै गाउँमा किन नखोल्ने भन्ने भयो। अनि यहाँ जमिन हेरेर काम सुरु गरेको हुँ।’

विदेशमा गएका प्रायः नेपालीले आफूले जानेको सीप र ज्ञानलाई नेपालकै माटोमा सदुपयोग गर्न चाहन्छन्। आफूले कमाएको पैसा पनि नेपालमै लगानी गरेर देखाउन चाहन्छन्। तर सबैले आफ्नो सपनालाई साकार बनाउन नेपाल फर्किएर जोखिम मोल्न सक्दैनन्। आफ्नै भावना आफ्नो बसमा नभएपछि मान्छेले मनले चाहेको यात्रामा कदम चाल्ने हो। उनले पनि नेपाल फर्किएर कृषिमा केही नयाँ काम गर्ने सोचका साथ ‘ब्लु लाइन’ खाका कोरे। साथै चुनौतीलाई सामना गर्ने आत्मबल पनि बढाए।

हजारौँमा एक-दुई त्यस्ता पात्र हुन्छन्, जसले आफ्नो यात्रा जुरुक्क उठेर गर्छन्। त्यस्तै पात्र भानेश्वरले डेनमार्कमा मासिक ८-१० लाख कमाउँदै आएको जागिर छोडेर नेपाल आए र सन् २०२० मा चितवन राष्ट्रिय निकुञ्ज पारीको माडीमा जन्माए-माडी प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्र।

नहिँडे संसार देखिन्न भनेझैँ भानेश्वरले डेनमार्कको जागिर छोडेर सन् २०१९ मा नेपालको यात्रामा निस्किए। कृषि फार्म तथा अनुसन्धान केन्द्र नेपालको कुन माटोमा उचित होला भन्ने अनुसन्धानका लागि उनलाई पूर्वको झापा र पश्चिमको कैलालीसम्म यात्रा गरायो। यो यात्रामा उनले कृषि फार्म स्थापनाका लागि काठमाडौँ र चितवन उचित ठाने। पहिला उनलाई काठमाडौँले लोभ्यायो तर प्राविधिक समस्या देखे।

‘पहिला त म गाउँ फर्किएको थिएँ तर माडीबाट काठमाडौँमा कृषि फार्म खोल्नु भनेको डेनमार्क पुग्नुजस्तै लाग्यो। हुन पनि काठमाडौँबाट चितवन बसमा आउनु र काठमाडौँबाट डेनमार्क प्लेनमा जानु उस्तैउस्तै समय लाग्ने देखेपछि चितवनमा फार्म खोल्ने सोचेँ, फेरि मनले भन्यो- फार्म नै खोल्ने भएपछि आफ्नै गाउँमा किन नखोल्ने भन्ने भयो। अनि यहाँ जमिन हेरेर काम सुरु गरेको हुँ।’

बागलुङको निसिखोला गाउँपालिका (साविक बोहरा गाउँ)मा जन्मिएका भानेश्वर कक्षा चार पढ्दापढ्दै बुवाआमासँगै बसाइँसरी गरी माडी आएका थिए। आफू हुर्किएको ठाउँ भएकाले पनि उनलाई आफ्नै माडीको माटोमा काम गर्न मन थियो। कृषि कर्ममा पनि प्रशस्त पैसा कमाउन सकिन्छ र खुसी हुन सकिन्छ भन्ने उदाहरण दिन मन थियो उनलाई। त्यसपछि माडीको दक्षिण क्षेत्रमा २५ विगाह जमिन तरकारी खेतीले हराभरा बनाएका छन्। पशुपालन गरेका छन्। माडी माविबाट २०५० सालमा एसएलसी दिएर चितवन रामपुर कृषि क्याम्पसबाट आइएससी र बिएससी गरेका भानेश्वर भन्छन्,  ‘डेनमार्कमा हुने स्रोत र साधन नेपालमै छ भने डेनमार्कमा किन आफ्नो जोश-जाँगर लगानी नगर्ने भन्ने भाव आयो।’

कृषिमै नयाँ क्रान्ति गर्नुपर्छ भन्ने उद्देश्य बोकेर माडीलाई हराभरा बनाउन खोजेका भानेश्वरकाअनुसार हाम्रो ज्ञान र श्रमबाट विदेशीले उत्पादन गरेको खेतीपाती नेपालमा पनि हुन सक्छ भन्ने थियो।

‘डेनमार्कमा कमाएको पैसाले केही विगाह जमिन किनेको थिए। केही जमिन भाडामा लिए र सुरु गरेँ बीस विगाह जमिनमा अर्गानिक प्लस कमर्सियल कृषि फार्म। पाँच विगाह चाहिँ अघिल्लो वर्ष थपेको हुँ’, उनले भने।

फार्म

तरकारीका लागि मल चाहिन्छ, मलका लागि गाईवस्तु पाल्नु पर्‍यो। तरकारी बाली, अन्नबाली र घाँसपात पनि उत्पादन गर्नुपर्‍यो। दूध र मलका लागि गाई पनि पाले र खेती पनि सुरु गरे उनले। ‘मैले आइटेक र अर्गानिक ज्ञान लिएको भएर ट्रान्सफर पनि गर्ने (तालिम पनि दिने) सोचका साथ काम सुरू गरेको हुँ। आफूले लिएको ज्ञान अरूलाई पनि दिनुपर्छ भन्ने लागेको हो’, उनले आफ्नो सुरुवाती दिनको अनुभव सुनाए।

डाक्टर भानेश्वरले सिजनअनुसार तरकारीले आम्दानी गर्ने बताउँछन्। हावा-पानी, अक्सिजन, घामलगायतको मौसम हेरेर मात्रै खेती गर्न जानियो भने पनि बाली राम्रो हुने उनको बुझाइ छ। फर्टिकेसनमार्फत् मलको प्रयोग गर्ने भएकोले पनि नियमित फल्ने बताउँछन् उनी। दैनिक दुई ट्रक तरकारी पोखरा, काठमाडौँ र भरतपुर नारायणगढ पुग्छ।

उसो त रामपुर कृषि क्याम्पसमा अध्ययनको शिलशिलामा तालिमकै लागि दुईपटक इजरायल पुगेका थिए उनी। पहिलोपटक २०६० मा तीस जनाको समूहमा इजरायल पुगेर ‘अन द जब ट्रेनिङ (ओटिटी)’ तालिम र २०६३ सालमा पुनःचालिस जनाको समूहमा एड्भान्स ट्रेनिङ लिएका थिए उनले। ‘मलाई के लाग्छ भने तालिमले मान्छेको काम गर्ने शैली मात्रै बदल्दैन, सोच्ने शक्ति पनि फरक बनाउँछ। त्यसैले मैले जानेको सीप र ज्ञान कृषिमै केही गर्छु भन्नेसँग साट्न सकियोस् भन्ने सोचले तालिम केन्द्र पनि बनाएको हुँ।’

माडी प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रबाट अहिलेसम्म चार सय जनाभन्दा बढी कृषि प्राविधिकहरूले तालिम लिइसकेका छन्। पश्चिमको कैलालीदेखि झापासम्मका प्राविधिकहरू आएर अनुगमन र तालिम लिएको बताउँछन् भानेश्वर। ‘यो कृषि तालिम केन्द्र पनि हो। यहाँ युरिगेसन र फर्टिगेसन अर्थात् सिँचाइका लागि पानीसँग मल घोलेर दिने बारे तालिम दिइन्छ’, उनी भन्छन्, ‘हाम्रो नेपालमा कम्पोस्ट मलको प्रयोग गर्न नजानेरै अन्नबालीमात्रै होइन, माटो पनि बिगारेका छौँ।’

किसानले दाना मल र युरिया मलको प्रयोग बढी गरिरहेको बेला उनी भने आफ्नै फार्ममा उत्पादन भएको कम्पोस्ट मललाई प्रशोधन गरेर प्रयोग गर्छन र खेती गर्छन्। ‘पहिला गाइवस्तु पालिन्थ्यो। मल बारीमा हालिन्थ्यो। मलबाट माटोमा सुष्म जीवाणु मिल्थ्यो। अहिले गाईवस्तु पाल्न छाडियो। मल बोक्न घिन मान्न थालियो अनि बोरा बोकेर युरिया र दाना मल लिन लामो लाइन लाग्न विश भइयो’, उनी भन्छन्, ‘कम्पोस्ट मलकै सहयोगमा हामीले आठ-नौ महिनाभित्र कलर क्याप्सिकन डेढ कट्टाबाट ३५ क्वीन्टल निकालिसक्यौँ। मललाई प्रयोग गर्न जाने यही कम्पोस्ट मल नै काफी छ किसानलाई।’

पछिल्लो समय कृषक मारमा पर्नुपरेको कारणबारे उनी भन्छन्, ‘हामी नेपाली कृषकबीच नै बढी प्रतिस्पर्धी भयौँ। खासमा भारतीय कृषकसँग प्रतिस्पर्धी भएर काम गर्नुपर्ने हो। तर त्यहाँ उत्पादनलाई ठूलो मासमा लैजान सरकारले नै पहल गरेको छ। तर हामी भने स-सानो बजारमा सीमित छौँ।’

तर कम्पोस्ट मलको प्रयोग कम हुँदै आउनुको कारण दाना मल र युरिया मल नेपालमा आयात बढी हुनु हो। यसमा राज्यका उच्च अधिकारीले भ्रष्टाचार गर्न पाउने भएको हुँदा किसानलाई भ्रममा पारिएको बुझाइ छ उनको।

उनले अहिले २५ विगाह जमिनमा लगाएको खुर्सानी, टमाटर, करेला, लौका, काक्रा, तरबुजा, ड्रागन फुडलगायतका खेती हुनुका साथ मकै, घाँस, फलफूल पनि लगाउँदै आएका छन्। जहाँ उनी कम्पोस्ट मल नै प्रयोग गर्छन्।

डाक्टर भानेश्वरले सिजनअनुसार तरकारीले आम्दानी गर्ने बताउँछन्। हावा-पानी, अक्सिजन, घामलगायतको मौसम हेरेर मात्रै खेती गर्न जानियो भने पनि बाली राम्रो हुने उनको बुझाइ छ। फर्टिकेसनमार्फत् मलको प्रयोग गर्ने भएकोले पनि नियमित फल्ने बताउँछन् उनी। दैनिक दुई ट्रक तरकारी पोखरा, काठमाडौँ र भरतपुर नारायणगढ पुग्छ।

करिब तीन वर्ष भयो डाक्टर भानेश्वरले यात्रा सुरु गरेकाे। उनले उत्पादनका साथै निर्माण कार्य पनि तीब्रताका साथ अगाडि बढाइरहेका छन्। यति हुँदा पनि मासिक २० लाख बराबरको तरकारी बेच्छन् उनी। यदि राम्रो भाउ पायो भने मासिक तीस लाख सम्मको तरकारी बेचिने बताउँछन् उनी। भन्छन्, ‘चैतमा मौसमले साथ दिएकोले तीस लाखको तरकारी बेचियो।’

अहिले यस फार्ममा ३२ जना कामदार छन्। १२ जना मासिक तलबमा जागिर खाइरहेका छन्, भने दैनिक ज्यालादारी गर्ने २० जना छन्। मासिक १८ हजार तलबमा आठ घण्टा काम गर्नेले अरू चार घण्टा ओटी गर्दा मासिक २४ हजारसम्म तलब बुझ्ने गरेको बताउँछन् उनी। त्यसैगरी हरेक महिना दश जना जति विभिन्न विद्यार्थीहरू यस फार्ममा सिक्न आइरहेका हुन्छन्। कहिले सिटीभिटीले पठाउँछ भने कहिले क्याम्पसहरूले नै पठाउने गरेको छ।

नेपालमा कृषिको समस्या

कृषिमा सम्भावना देखेर डेनमार्कबाट नेपाल आएका भानेश्वर अहिले पनि कृषिमा समस्या देख्छन्। उनी भन्छन्, ‘कृषिमा समस्या के छ भने जोसँग जमिन छ उसले खेती गर्दैनन्, जसले खेती गर्छ ऊसँग जमिन छैन। जसले कृषि पढेको छ उसले खेती गर्दैनन्। र जसले पढेका छैनन् उनीहरू खेती गर्न तल्लीन छन्। यो समस्याबाट कृषि माथि उठ्न गाह्रो छ।’

उनका अनुसार कृषि गर्नेसँग पहिला त जमिन र पूँजी चाहिन्छ। त्यसका साथै श्रम गर्ने क्षमता र प्रविधिको ज्ञान पनि आवश्यक पर्छ। उनी भन्छन्, ‘जमिन, पूँजी, श्रम, सीप भएन भने कृषि गरेर नाफामा जान गाह्रो छ।’

पछिल्लो समय कृषक मारमा पर्नुपरेको कारणबारे उनी भन्छन्, ‘हामी नेपाली कृषकबीच नै बढी प्रतिस्पर्धी भयौँ। खासमा भारतीय कृषकसँग प्रतिस्पर्धी भएर काम गर्नुपर्ने हो। तर त्यहाँ उत्पादनलाई ठूलो मासमा लैजान सरकारले नै पहल गरेको छ। तर हामी भने स-सानो बजारमा सीमित छौँ।’

भारतबाट आउने सबै तरकारीको विषादी परीक्षण नगर्नुको कारण राजनीति लाग्छ उनलाई। तर राजनीतितिर कृषक नै गयो भने उत्पादन झनै घट्ने लाग्छ उनलाई। किसानले बारी छोडेर जानुपर्‍यो भने गाह्रो हुन्छ। भाउ पाइनँ भनेर आन्दोलनमा जान सक्दैनन् किसान। तर बाध्य हुनाले आन्दोलनमा नगइ पनि भएको छैन। किसानहरूको आन्दोलन कमजोर हुन्छ। तर किसानको नाममा अरूले फाइदा लिएको भने नकार्न सकिँदैन।

खेती गरे भोकै मरिन्न भन्ने भनाइ छ तर पछिल्लो समय आधुनिक तरकारी खेती गर्न खोजेको ठूला-ठूला फार्महरू बन्द हुने स्थितिमा पुगेका छन्। एकाध सफल भए पनि धेरै मात्रामा कृषि फार्मबाट पलायन हुनु परेको छ। यस्ताे खाले  तीतो यथार्थ बाहिर आउँदैन। यसलाई रोक्न डाक्टर भानेश्वर भन्छन्, ‘पहिला त कृषिको ज्ञान र मार्केटको ज्ञान बुझ्न आवश्यक छ। प्राविधिक शिक्षा भएकोले खटिन पनि आवश्यक छ। मेहनत र इमान्दारका साथ काम गरियो भने कृषि पेशाबाट नोक्सान बेहाेर्नु भने पर्दैन।’

सफल कृषक तथा कृषि विज्ञ भानेश्वरकाअनुसार स्थानीय सरकारको सहयोगबिना कृषि पेशालाई माथि उठाउन सम्भव नहुने बताउँछन्। उनी भन्छन्, ‘संसारभरिको कृषि व्यवसायलाई सरकारले संरक्षण गरेन भने धरासायी हुन्छ।’

सोचेको जस्तो भाउ नपाउँदा उनले पनि तरकारी टिपेर भुइँमै छाड्नु परेको छ। नोक्सान बेहाेर्नुपरेको छ। उनी भन्छन्, ‘दुई पटक लौका र काक्रोलाई टिपेर भुइँमै कुहाउनु पर्‍यो। तीन सय क्यारेट टमाटर पनि फ्याँक्नुपर्‍यो।’

भारतबाट आएको विषादीयुक्त तरकारीलाई रोक्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको विषय उनको पनि चिन्ताको विषय हो। यता नेपालका कृषकहरू आफ्नो तरकारीलाई बाटो र नालामा फ्याँक्न विवश छन्। तर उनको बुझा‍इ भने यस्तो छ,  ‍’सरकारले सहयोग गर्ला भनेर मैले खेती गर्न थालेको त होइन। मैले काम गरेको देखेर उहाँहरूले सहयोग गर्न सक्छौँ भन्ने भएपछि सहयोग गरेका हुन्। तर भारतबाट आउने तरकारीलाई अलिकति पनि कम गर्न सक्यो भने बाहिर कमाउन सकिने पैसा यही फल्छ। आफ्नै माटोमा फल्छ।’

नेपालमा प्रशस्त उत्पादन हुनसक्छ। तर त्यसले गतिलो बजार पाउन सकेको छैन। बजारकै अभावले हामी खाडी पस्न विवश छौँ। भारतबाट सस्तोमा तरकारी आएपछि बिचौलियाले पनि सस्तो तरकारी महंगाेमा बेचेर नाफा कमाउन सक्छन्। उपभोक्तालाई भने थाहा हुँदैन। गतिलो नियमन तथा अनुगमन नहुँदा पनि मारमा उपभोक्ता र किसान नै परेको बताउँछन् उनी।

भन्छन्, ‘नेपाली किसानले भारतमा तरकारी कहिले बेच्ने? तरकारी उताबाट यता आउन सक्छ तर नेपालको तरकारी भारत लैजान सकिँदैन‍। यहाँबाट एउटाले फोन गरेर तरकारी मगाउन सकिने जस्तो सजिलो सरकारले बनाइदिइरहने तर नेपाली किसानले आफ्नो तरकारीलाई भारतको ठूलो बजारमा लैजान नसक्ने अवस्था नबनाउने। यस्तो हुन्जेलसम्म तरकारीले गतिलो बजार पाउँदैन। नेपाली किसानले मन लगाएर खेती पनि गर्दैनन्।’

भारतबाट आउने सबै तरकारीको विषादी परीक्षण नगर्नुको कारण राजनीति लाग्छ उनलाई। तर राजनीतितिर कृषक नै गयो भने उत्पादन झनै घट्ने लाग्छ उनलाई। किसानले बारी छोडेर जानुपर्‍यो भने गाह्रो हुन्छ। भाउ पाइनँ भनेर आन्दोलनमा जान सक्दैनन् किसान। तर बाध्य हुनाले आन्दोलनमा नगइ पनि भएको छैन। किसानहरूको आन्दोलन कमजोर हुन्छ। तर किसानको नाममा अरूले फाइदा लिएको भने नकार्न सकिँदैन।

भानेश्वरले आफ्नो तीतो यथार्थ सुनाए, ‘संसारभरि नै खानेकुराको व्यवसाय तथा व्यापार राज्यले नियन्त्रण गर्नुपर्छ। किनकि खानेकुरा जनताको स्वास्थ्यसँग जोडिएको हुन्छ। परीक्षण नगरी जनताको माझमा तरकारी लैजानु भनेको राज्यको कमजोरी हो र राज्यद्वारा जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको हो।’

बिचौलियाको कारण पनि तरकारीको व्यापारमा भारी लुट छ। किसान मारमा छन् र उपभोक्ता पनि चेपुवामा परेका छन्। बिचौलियाको कारणले कृषक र उपभोक्ता बढी मारमा परेको छ तर बिचौलियाबिना तरकारी उपभोक्तासम्म पुर्‍याउन नसकिने अवस्था पनि देख्छन् उनी। भन्छन्, ‘यो नियन्त्रण राज्यले गर्नुपर्छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्छ भन्ने हो।’

नेपालमा कोल्डस्टोर स्थापना गर्ने भन्दै स्थानीय सरकार बजेट ल्याउन खोजिरहेका छन्। उनलाई सहकार्य गर्न भनिरहेका छन्। तर तरकारीले बजार पायो भने कुनै कोल्डस्टोर नचाहिने बताउँछन्। उनी भन्छन्, ‘स्थानीय र प्रदेश सरकारले कोल्डस्टोर बनाउनूस् भनेको थियो तर हामीले ताजा बेचेर नै फाइदा छ भन्ने भयो।’

सरकारले कृषकका लागि भनेर विभिन्न कार्यक्रम ल्याएको छ। तर प्रभावकारी हुन नसकेको बताउँछन् भानेश्वर। उनका अनुसार सरकारले ल्याएको कार्यक्रम प्रभावकारी नहुँदा उत्पादन बढ्न सकेको छैन।

‘अहिले त सरकारले यस्तोमा अनुदान आएको छ तिमीहरू काम गर भनेपछि पेशामा हात हाल्नेहरू प्रशस्त छन्। अथवा अनुदान जेमा आएकाे छ त्यसैमा लाग्छन्। यस्ताे गर्न  थालेपछि प्रगति हुन सक्दैन’, उनी भन्छन्, ‘माडीमा अरू टनेल पनि छन्। कसैको टनेलबाट चार गुणा बढी उत्पादन पनि गरेका छन्। केही किसानले यहाँ जति उत्पादन पनि गरेका छैनन्। सरकारले सहयोग र अनुदान दिएको छ तर सदुपयोग गर्न नसकेको भने हो।’

पाँच विगाह जमिनलाई मासिक बीस हजारको दरले भाडा तिर्छन् उनी। माडीको मगै खोलाको किनारको पाँच विगाह बालुवायुक्त जमिनलाई उनले सदुपयोग गर्दै लौका, काक्रा, खरबुजाजस्ता तरकारी लगाएका छन्।

बगरमा खेती गर्न थालेको रहेछ, बौलायो भानेश्वर भनेर गिज्याउनेहरू पनि भेटिए उनीसँग। तर उनले बलौटे माटोलाई पनि सदुपयोग गरेको देखेर अहिले उनकाे तारिफ गर्ने गर्दछन्।

जसरी मान्छेले मिलाएर खान जाने स्वस्थ भइन्छ, त्यसैगरी मल र पानी मिलाएर हाल्न जाने खेती राम्रो हुने उनको विश्वास छ। अब उनी थप २५ विगाह जमिन भाडामा लिएर ५० विगाह जमिनमा कृषि फार्म बढाउने योजनामा छन्।

नेपालमा कोल्डस्टोर स्थापना गर्ने भन्दै स्थानीय सरकार बजेट ल्याउन खोजिरहेका छन्। उनलाई सहकार्य गर्न भनिरहेका छन्। तर तरकारीले बजार पायो भने कुनै कोल्डस्टोर नचाहिने बताउँछन्। उनी भन्छन्, ‘स्थानीय र प्रदेश सरकारले कोल्डस्टोर बनाउनूस् भनेको थियो तर हामीले ताजा बेचेर नै फाइदा छ भन्ने भयो।’

भानेश्वरले नेपालमा सहकारी खेती असफल हुने देख्छन्। ‘उत्पादन व्यक्तिगत र त्यसको वितरण र जम्मा गर्ने सामूहिक प्रयास हुनुपर्छ’, उनी भन्छन्,’तेरो र मेरो भन्ने चेतनास्तरबाट हामी माथि उठ्दैनौँ तबसम्म सामूहिक सहकारी प्रभावकारी हुँदैन।’

कृषक खुसी

डेनमार्कबाट खुसी खोज्न नेपाल आएका भानेश्वरले कृषि पेशालाई खुसी हुने माध्यम बनाए। बाध्यताका साथ कुनै पनि काम गर्न नपरोस् भन्ने लाग्छ उनलाई। भन्छन्, ‘म डेनमार्क हुँदा आफूलाई बाध्यताका साथ काममा खटाउँथेँ। तर यहाँ म असली किसान (मजदुर)सँग डाक्टर हुँ भन्ने बिर्सिएर कोदाली चलाइरहेको हुन्छु। तरकारी टिपिरहेको हुन्छु। यो मेरो खुसी हो।’

कम्तीमा १८ हजारदेखि ३५ हजार तलब खाने कर्मचारी छन् उनीसँग। यतिखेर डेनमार्कको कमाइ उनले कमाउन त सकेका छैनन् तर आफैले सिर्जना गरेको प्लेटफर्ममा अपार खुसी छन्। भन्छन्, ‘आम्दानी अथवा पैसा र खुसी एकअर्काको रिलेटेट होइनन्, आफूलाई अरूसँग तुलना गरेन भने खुसी हुन सकिन्छ।’

रामपुर कृषि क्याम्पसमा मल र पानीमाथि गेस्ट लेक्चर दिँदै आएका भानेश्वर कृषिका कुरासँग भावना र जिन्दगीका कुरा पनि जोड्न छुटाउँदैनन्। भन्छन्, ‘यहाँ डाक्टरको ह्याङबाट हटिनँ भने सुकिलो मुकिलो खोजिन थालिन्छ। आफूभित्र अहम् भित्रिन्छ अनि यो २५ विगाह जमिन हराभरा नहुन सक्छ। त्यसैले म आफूलाई अरूसँग तुलना गर्दिनँ र महत्त्वाकांक्षा पनि बढी राख्दिनँ।’

बैशाख २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्