परिवर्तनका लागि रूपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक

बंगलादेश- महिला अधिकारकर्मीहरूले परिवर्तनका लागि रूपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन्।

महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जालले बंगलादेशको ढाकामा गरेको ३ दिने सम्मेलनमा सहभागी अधिकारकर्मी र सरोकारवालाहरूले महिलाश्रमको सम्मानका लागि दृष्टिकोणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन्।

उनीहरूले स्वदेश र प्रवासमा महिला श्रमको सम्मान हुनुपर्नेमा र उनीहरूमाथि हुँदै आएको मानसिक दबाब र बहिष्करणको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्

‘महिला श्रमको सम्मानपूर्ण मूल्यांकनका लागि रूपान्तरित दृष्टिकोण’ सम्मेलनमा सहभागीहरूले स्वदेश र वैदेशिक रोजगारीमा गएका महिला श्रमिकमाथिको मानसिक दबाब र बहिष्करणको अन्त्य नभएसम्म दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताए।

उनीहरूले वैदेशिक रोजगारीमा गएका महिलाले मुलुकको आर्थिक परिवर्तनमा ठूलो योगदान पुर्‍याएकाले उनीहरूको श्रमलाई सम्मानपूर्ण दृष्टिकोणले हेर्नुपर्नेमा जाेड दिए।

नेपालबाट सम्मेलनमा सहभागी संविधानसभा सदस्य डाक्टर विन्दा पाण्डेले महिला श्रमको मूल्यांकन र सम्मानका लागि अझै पनि संघर्ष गनुपर्ने अवस्था रहनु दुखद् भएको बताइन्।

बंगलादेशको कार्यकारी प्रमुखमा महिला रहँदा पनि बंगलादेशी महिलाहरूको स्थितिमा खासै परिर्वतन आउन नसकेको दृष्टान्त दिँदै उनले परिवर्तनका लागि महिलावादी दृष्टिकोण सहितको महिला नेतृत्व आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘महिला नेतृत्वमा पुग्दैमा समग्र महिला जगतको विकास भएको मान्न सकिँदैन । त्यसका लागि महिलावादी दृष्टिकोण सहितको नेतृत्व चाहिन्छ। राष्ट्र निर्माणमा महिलाको योगदानको कुरा गर्दा सेवामूलक काम र अनौपचारिक क्षेत्रको श्रमलाई पनि आर्थिक उत्पादनको रुपमा ग्रहण गनुपर्छ। उनीहरूले अर्थतन्त्रमा पुर्‍याएकाे योगदानलाई राष्ट्रिय गणनामा राखिनुपर्छ।’

अधिकारर्की डाक्टर रेणु अधिकारीले देश भित्रैका महिलाको श्रमको सम्मान र मूल्यांकन नभएसम्म वैदेशिक रोजगारीमा रहेका महिलाको सम्मान हुन नसक्ने बताइन्।

उनले महिलाको श्रमको सम्मान हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका महिलाले लाञ्छना र हेयको व्यवहार खेप्नुपरेको बताइन्।

त्यसैगरी, महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जालका प्रतिनिधि वन्धना पटनायकले बंगलादेश र नेपालको स्थिति मूल्यांकन गर्दा आप्रवासी महिलाको समान प्रकृतिका समस्या रहेकाले मिलेर काम गनुपर्नेमा जोड दिनुपर्ने बताइन्।

कार्यक्रममा सहभागी आप्रवासी महिलाहरूले आफूहरूलाई समाजले राम्रो दृष्टि राख्ने नगरेको गुनासो गरेका थिए।

उनीहरूले श्रमको योगदान र मूल्य महिला र पुरुष दुवैको समान गर्नुपर्छ भन्ने बुझाई नहुँदा वैदेशिक रोजगारीबाट फर्किएपछि पनि परिवार र समाजको बहिष्करणमा पर्नुपरेको बताएका थिए।

कार्यक्रममा नेपाल र बंगलादेशका सांसद, अधिकारर्की, पत्रकार र आप्रवासीसहित ६० जना बढीको सहभागिता थियो।

मिडिया सामग्रीको भाषा र प्रस्तुतिको शैली पनि पुरुष मनोभावबाट प्रेरित हुने गरेको भन्दै सहभागीले सञ्चार शैलीमा पनि परिवर्तनको आवश्यकता औँल्याएका थिए।

सम्मेलनले परिवर्तनका लागि रूपान्तरित दृष्टिकोण सहितको नेतृत्व विकासका लागि दुई वर्षे रणनीति तयार गरेको छ।

बैशाख ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्