‘लोकसंस्कृति’ पत्रिकाले ल्यायो सत्यमोहन जोशी विशेषांक

Nepal-Music-Center

२०७८ सालसम्म २० औं अंक प्रकाशित ‘लोक संस्कृति’ पत्रिकाको २१ औं अंक वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांकका रुपमा प्रकाशित भयो।

वैशाख ३० गते वाङ्गमय शताब्दी पुरुष १०४ औं जन्म जयन्तीका अवसरमा गत शुक्रबार नेपाल म्युजिक सेन्टर पिङ्गलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटर हलमा उक्त विशेषांक विमोचन गरियो। यस कार्यक्रम नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका अध्यक्ष तथा पूर्व मुख्यसचिव, लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा भयो। कार्यक्रममा नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका संस्थापक तथा सदस्य सचिव सन्तोष शर्माले स्वागत गरेका थिए।

पत्रिकाका प्रधान सम्पादक डा. गोविन्द आचार्यले पत्रिका प्रकाशनको सन्दर्भबारे र डा. बद्रीप्रसाद शर्माले यस अंकको समीक्षा गरेका थिए। कार्यक्रममा प्रा. डा. प्रेमकुमार खत्री, प्रा. डा. माधवप्रसाद पोखरेल, वमकुमारी बुढामगरले लोक संस्कृति पत्रिकाको विषयमा चर्चा गरेका थिए। प्रमुख अतिथि कुलपति भुपाल राईले लोक संस्कृति पत्रिका र नेपाल म्युजिक सेन्टरद्वारा सञ्चालित गतिविधिहरुको प्रशंसा गरेका थिए। कार्यक्रमको सहजिकरण पत्रिकाको कार्यकारी सम्पादक सन्ध्या पहाडीले गरेकी थिइन्।

कार्यक्रममा प्र. डा. डिल्लीराज शर्मा, प्रा. डा. कोषराज न्यौपाने, प्रल्हाद पोखरेल, मदनराज थापा, डा. ध्रुबप्रसाद भट्टराई, डा. अर्पणा पोखरेल, डा. मेघप्रसाद खरेल, दुर्गा रायमाझी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा, तेजप्रकाश श्रेष्ठ, गायिका रिता केसी तथा अन्य संस्कृतिसेवी व्यक्ति उपस्थित थिए।

नेपाली संस्कृति र संगीतको संरक्षण, प्रबर्द्धन तथा संगीत शिक्षाको विकास गर्ने उद्देश्यले २०६२ सालमा स्थापित नेपाल म्युजिक सेन्टर पिङ्गलास्थान काठमाडौँले आपनो स्थापनाकालदेखि नै संगीत शिक्षाको औपचारिक शिक्षा र संस्कृतिको संरक्षण तथा प्रबर्द्धनसम्बन्धी कार्य गर्दै आएको छ। यसै सन्दर्भमा २०६३ सालदेखि अनुसन्धानमूलक सांस्कृतिक पत्रिका लोक संस्कृति प्रकाशन हुँदै आएको छ। २०७२ सालसम्म अर्धवार्षिक रुपमा प्रकाशित हुँदै आएको उक्त पत्रिका त्यसपछि वार्षिक रुपमा प्रकाशित भइरहेको छ। यस पत्रिकाको संथापक तथा संरक्षक सन्तोष शर्मा हुन्। जनकवि केशरी धर्मराज थापा, सत्यमोहन जोशी, प्रा. डा. चुडामणि वन्धु, प्रा. डा माधवप्रसाद पोखरेल आदि आरम्भमा सल्लाहकारहरु र डा. गोविन्द आचार्य प्रधान सम्पादक र सन्ध्या पहाडी कार्यकारी सम्पादक रहेको लोक संस्कृति पत्रिकाले प्रकाशनको १७ वर्ष पूरा गरेको हो।

जेठ २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्