नेपाली साहित्यकारले युद्धमाथि कलम चलाउन ‘कन्जुस्याइँ’ गरे

४० को दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका साहित्यकार विष्णु भण्डारी ‘नेपाली युद्धसाहित्य’ खोजमूलक पुस्तकका कारण चर्चामा छन्। करिब पाँच वर्षको तयारी पश्चात् नेपाली युद्धसाहित्य लिएर आएका भण्डारीका एकदर्जन बढी पुस्तक प्रकाशनमा आएका छन्, जसमा उनको ‘सुनको पहाड’, ‘पहेँलो घाम’ दुई उपन्यास हुन्। कविता, कथा र उपन्यास हुँदै उनी यतिखेर गैरआख्यान तथा खोजमूलक पुस्तक लेखनमा बढी सक्रीय छन्।

नेपालको अखण्डता, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि लडिएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको खोजमूलक पुस्तक हो, नेपाली युद्धसाहित्य। यस पुस्तकमा गोर्खा राज्यविस्तारका क्रममा भएकालडाइँ तथा मुगल, अंग्रेज र तिब्बत/चीनसँग भएको युद्धमाथि लेखिएको साहित्यको अध्ययन गरिएको छ। साथै २००७ र २०१८ सालमा भएको प्रजातान्त्रिक सशस्त्र विद्रोह र माओवादी जनयुद्धका बेला लडिएका लडाइँ र तत्कालीन सामाजिक संवेदना र सत्तापक्षबाट गरिएको दमन र हत्याहिंसालाई आधार बनाएर लेखिएको छ। पुस्तक नेपाली युद्धसाहित्य लेखन अनुभवको बारेमा लेखक भण्डारीसँग देशसञ्चारले गरेको सम्वादको सम्पादित अंश:

पछिल्लो समय जनयुद्धमा लेख्नु भनेको फेसन जस्तैपनि भएको छ। तर तपाईँले त नेपाली युद्ध साहित्य नै लेख्नु भयो नि?

युद्धमाथि साहित्य लेख्नु भनेकै जटिल काम हो। युद्धमाथि साहित्य लेख्दा केही आधारभूत विषयलाई ध्यान दिनुपर्ने हुन्छ। युद्ध के कारणले सुरू गरिएको थियो र युद्धले के परिणाम दियो भन्ने कुराको निर्क्रयोल नगरी लेख्दा लेखकले विषयमाथि न्याय गर्न सक्दैन। हाम्रोमा युद्धलाई नकारात्मक अर्थमा बुझ्ने गरिन्छ। युद्धमा जनधनको क्षति हुने, सामाजिक संरचना अस्तव्यस्त हुने र मानिसहरूले अनेकौँ सास्ती ब्यहोर्नुपर्ने हुनाले युद्धलाई नकारात्मक रूपमा लिइन्छ। र, त्यो हो पनि। तर कहिलेकाहीँ युद्ध अनिवार्य जस्तै बन्छ। राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षार्थ तथा निरङ्कुस राज्यसत्ताकाविरुद्ध युद्ध हुने गर्छन्। यस्ता यद्धहरू न्यायपूर्ण युद्धको कोटीमा पर्छन्। युद्धसाहित्य लेख्दा उक्त युद्ध न्यायपूर्ण थियो कि अन्यायपूर्ण भन्ने छुट्याइएन भने लेखकले युद्धलाई न्याय गर्न सक्दैन।

जनयुद्धमाथि लेख्ने कतिपय लेखकहरूले जनयुद्ध सुरू गर्नुको कारण र यसले पारेका प्रभावबारे गहिरो अध्ययन नगरी लेख्नाले यो केवल फेसन बन्न पुगेको यथार्थ हो। तर जनयुद्धमाथि लेखिएका सबै साहित्यलाई फेसन भन्न सकिन्न। जनयुद्धमाथि गहिरो अध्ययन गरेर लेखिएका पुस्तकपनि हामीसँग छन्।

यो पुस्तकमा मैले जनयुद्धमाथि मात्र केन्द्रित नभएर नेपालमा लडिएका समग्र युद्धमाथि लेखिएको साहित्यको विवेचना गर्ने प्रयत्न गरेको छु। यो आवश्यक पनि थियो। नेपालमा अहिलेसम्म नेपाली युद्धसाहित्यमाथि मात्र केन्द्रित भएर कृति नलेखिएकोले पनि मैले ‘नेपाली युद्धसाहित्य’ लेखेको हुँ।

त्यसो भए, तपाईँको अनुसन्धानमा नेपाली युद्धसाहित्य कति लेखिएको रहेछ?
नेपाली युद्धसाहित्यको अवस्था सन्तोषजनक छ भन्न सकिँदैन। नेपालमा प्रशस्तै युद्ध भए तापनि ती युद्धमाथि साहित्य कमै लेखिएको छ। वीरगाथाकालीन युद्धमाथि केही साहित्य लेखिएको छ। भाषा-साहित्यको त्यति धेरै विकास नभैसकेको अवस्थामा पनि युद्धमाथि साहित्य लेखिनु भनेको सकारात्मक पक्ष नै हो। तर त्यसपछि भएका युद्ध र सशस्त्र विद्रोहमाथि साहित्य खासै लेखिएको छैन। वि.स. २००७ सालको विद्रोहमाथि भन्दा पनि विद्रोहले छोडेका प्रभावमाथि केही साहित्य लेखिएको छ। १८ सालको सशस्त्र विद्रोहमाथि साहित्य लेखिएको छैन भनेपनि हुन्छ । तर माओवादी जनयुद्धमाथि भने प्रशस्तै लेखिएको छ। जनयुद्धमाथि नकारात्मक र सकारात्मक दुवै कोणबाट साहित्य लेखिएको छ र लेखिँदै छ।

दश वर्षे सशस्त्र जनयुद्धपछि नेपालमा युद्ध साहित्य कस्तो समाज निर्माणका लागि लेखियो?
दश वर्षे सशस्त्र जनयुद्धमाथि लेखिएको साहित्यमा समतामूलक संसारको कल्पना गरिएको छ। जनयुद्धको साहित्यमा वर्गीय शोषण, दमन, हत्या, हिंसा र राज्यआतङ्कको विरोध गरिएको छ। जनयुद्धले निर्माण गरेको नयाँ यथार्थ, त्याग र बलिदानको उदात्त चरित्रलाई पनि चित्रण गरिएको छ। साथै जनयुद्धपछि लेखिएको साहित्यमा नेतृत्वको वर्गीय उत्थान, सांस्कृतिक र वैचारिक विचलनमाथि पनि लेखिएको छ। सुन्दर सपना देखाएर युद्ध लड्न र बलिदान गर्न प्रेरित गर्ने नेतृत्वमा नै आर्थिक, सांस्कृतिक र राजनीतिक विचलन देखिएपछि उनीहरूको आलोचना गरेर लेखिएको साहित्यलाई कतिपयले कुण्ठा भन्ने गरेको सुनिन्छ। तर जनयुद्धको साहित्यमा कुण्ठाभन्दा जनगणतान्त्रिक सुन्दर समाजका लागि आशावादी भएर लेखिएका रचनाहरूको बाहुल्य भेट्न सकिन्छ।

युद्धलाई कविता, आख्यान, गैरआख्यानमध्ये कुन विधामा बढी लेखियो?
नेपालमा युद्ध र युद्धले छोडेका प्रभावबारे कविता विधामा बढी लेखिएको छ। सात सालको प्रभावमाथि कविताबाहेक कथा विधामा पनि लेखिएको छ। उपन्यास, संस्मरण र गैरआख्यान भने जनयुद्धमाथि मात्र लेखिएको पाइन्छ।

समाजवादी यथार्थवादमा आधारित साहित्यको सिर्जना गर्ने र माक्स‍वादी विश्वदृष्टिकोणलाई स्वीकार गर्ने लेखक साहित्यकार कति रहेछन्, जसले युद्ध साहित्यमा कलम चलाए?
नेपाली युद्धसाहित्यमा समाजवादी यथार्थवादमा आधारित साहित्य सिर्जना गर्ने लेखकहरूको संख्या उल्लेख्य मात्रामा भेट्न सकिन्छ। २००८ सालदेखि नै नेपालमा प्रगतिवादी लेखन सुरू भएको हो। सात सालको परिवर्तनले छोडेका प्रभावबारे केवलपुरे किसान, गोकुल जोसी, हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटालगायतले लेखेका थिए। पछि भूपी शेरचनले पनि यही धारामा रहेर लेख्न थाले। पछिल्लो समय जनयुद्धमाथि सयौँ माक्सवादी कवि लेखकले साहित्य लेखेको पाइन्छ।

यस किताबले कुन-कुन आधारमा टेकेर युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग-अलग विवेचना गरेको छ?
द्वन्द्व सामाजिक जीवनमा निरन्तर चलिरहने प्रक्रिया हो। समाज, समुदाय र प्रकृतिमा निरन्तर द्वन्द्व हुन्छ। द्वन्द्व सामाजिक, सांस्कृतिक र राजनीतिक असमानताका कारण सुरू हुन्छ। यस्तो द्वन्द्व बढ्दै जाँदा यसले युद्धको रूप ग्रहण गर्छ। यसरी हेर्दा युद्ध द्वन्द्वको अन्तिम र उच्चतम रूप हो। कतिपयले युद्ध र द्वन्द्वलाई समान रूपमा बुझ्ने गर्छन्। तर द्वन्द्व निशस्त्र रूपमा समाजमा निरन्तर चल्ने प्रक्रिया हो भने युद्ध सशस्त्र रूपमा दुई समुदाय, वर्ग र राष्ट्रका बीचमा हुने हो।

२००७ साल २०१८ सालमा प्रजातन्त्र ल्याउनका लागि भएको सशस्त्र विद्रोह र २०५२ पछि माओवादी सशस्त्र विद्रोह के साहित्यमा पुरापर आएको छ?
२००७ सालको परिवर्तनले पारेका प्रभावमाथि केही साहित्य लेखिएको छ। तर ०१८ सालको सशस्त्र विद्रोहमाथि लेखिएको साहित्य असाध्यै कम भेटिन्छ। जति भेटिन्छ त्यो पनि विम्ब र प्रतीकका माध्यमले लेखिएको पाइन्। लामो समय निरङ्कुश राणा शासन रहेकोले पनि उक्त विद्रोहमाथि साहित्य कमै लेखिएको भान हुन्छ । सात सालपछि र जनयुद्धपछि वाक र प्रकाशन स्वतन्त्रता प्राप्त भएकोले कविलेखकहरूले खुलेर परिवर्तनमाथि साहित्य लेखे। तर अठार सालपछि पञ्चायती व्यवस्थाका दमनका कारण यो वातावरण नभएर लेखिएन। हुन त चालिसमा प्राप्त खुल्ला वातावरणमा पनि १८ सालको विद्रोहमाथि लेखिएको साहित्य प्रकाशन गर्न सकिन्थ्यो तर यतातिर कविलेखकले खासै ध्यान नदिएको पाइन्छ।

वीरगाथा कालदेखि जनयुद्धकालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित गर्न कस्ता चुनौती आइपर्दा रहेछन्। कि दोषरहित छ भन्न सक्नु हुन्छ?
साशकले नेपाल परापूर्वकालदेखि नै शान्तिपूर्ण देश हो भने गलत भाष्यको निर्माण गरेका छन्। यो बुद्धको, भृकुटीको, सीता र हिमालको शान्तिभूमि हो भन्ने आधारमा राष्ट्रियतालाई परिभाषित गर्ने पनि गरिएको छ। तर नेपाल द्वन्द्व र युद्धबाट गुज्रिदै आएको यथार्थ खोज गर्ने र यसमाथि लेख्ने काम कमै भएको छ। आधुनिक कालमा मात्र हैन प्राचीन कालमा पनि नेपालमा प्रशस्तै युद्ध भएका छन्। किरात काल, लिच्छवी काल र मल्ल कालमा यहाँ धेरै युद्ध भएका छन् तर त्यतिखेरको कमजोर भाषा, लिपी र मूर्दणको असुविधाका कारण ती सामग्री भेट्न सकिँदैन। जति भेटिन्छ लोककथा, लोकगीत र लोकगाथाका रूपमा भेट्न सकिन्छ। केही मात्र लेख्य रूपमा पनि भेट्न सकिन्छ। त्यस्तै मध्येको एउटा कविता हो वि.सं. १४५० को विष्णु दासद्वारा रचित ‘राजा मलयबम्ब’। आधुनिक कालमा राज्यविस्तार काल, भोटचीनसँगको युद्ध, २००७ र २०१८ साल तथा वि.सं. २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमाथि लेखिएको साहित्य हामीसँग सुरक्षित नै छ।

‘नेपाली साहित्यमा राजनीतिक द्वन्द्वको प्रभाव बढी देखिन्छ’, हो ?
समाजमा द्वन्द्व विभिन्न प्रकृतिका हुन्छन्। द्वन्द्व मूलतः आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक कारणले सिर्जना हुन्छन्। तर यसको अन्तर्यमा वर्गीय असमानताले सिर्जना गर्ने वर्गीय द्वन्द्व नै हुन्छ। नेपालमा वर्गीय द्वन्द्वको प्रभाव बढी देखिन्छ। वर्गीय द्वन्द्व आर्थिक, राजनीतिक र सामाजिक जीवनमा देख्न सकिन्छ।

नेपालमा द्वन्द्वसाहित्यको अध्ययन गर्दा १९४० देखि सामाजिक द्वन्द्वको प्रभाव देख्न सकिन्छ भने १९७० को दशकपछि राजनीतिक द्वन्द्वको प्रभाव बढ्दै गएको देखिन्छ। वि.सं.१९८८ मा ‘प्रचण्ड गोर्खा’को स्थापनापछि नेपालमा राजनीनिक द्वन्द्वको प्रभाव प्रष्ट रूपमा देखिन थालेको हो।

दश वर्षे जनयुद्ध साहित्यमा सोचेजति लेखिन नसकेको आरोप खेपिरहेको बेला तपाईँको अनुसन्धान र लेखनका क्रममा साहित्यकारले युद्धलाई न्यायपूर्ण ढंगले लेखेको लाग्छ?
दशवर्षे जनयुद्धमाथि साहित्य प्रशस्तै लेखिएको भए तापनि गुणवत्ताको हिसावले यो अलि कमजोर छ भन्छन् समालोचकहरू। युद्धमाथि युद्धकालमाभन्दा पनि युद्धपछि बढी लेखिन्छ र जनयुद्धमाथि अहिले पनि लेखिनु यही कारण हुन सक्छ।

नेपाली साहित्यकारले युद्धमाथि कलम चलाउन अलि कन्जुस्याई गरेको सत्य हो। कतिपय महत्त्वपूर्ण घटना र परिघटनामाथि साहित्य लेखिएको पाइँदैन।

२००७ र २०१८ सालको विद्रोहमाथि साहित्य कम लेखिनुपनि यही प्रवृत्तिको कारण हुन सक्छ। तर पनि फेरि नेपालमा युद्धमाथि लेखिएको छैन भन्ने हैन। जति लेखिएको छ त्यसैलाई आधार बनाएर ‘नेपाली युद्धसाहित्य’ तयार भएको हो।

जेठ ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्